एक पैसा पनि घोटाला गरेको छैन भन्दै कंशाकारको चोखिने प्रयास

५ बर्ष अगाडि

काठमाडौं–नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न पनि गरे । 

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा कंशाकारले भने,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझीकन कसरी बोल्नुभयो ?’

उनले थपे,‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिईसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारणपनि हुनसक्छ ।’

लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । उनले भने,‘हामी त त्यही आश गरेर बस्ने हो ।’ उनले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पारे । उनले भने,‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’ 

२ वटा वाईडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने,‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यतिनै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौं । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।’

कंशाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दावी गर्दै उनले बिरोध गर्नेहरुले कुरै नबुझेको बताएका छन् । कंशाकारले प्राबिधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया