लोडसेडिङको अन्त्यपछि पनि किन काटिरहेको छ प्राधिकरणले विद्युत्, यस्तो रहेछ कारण

५ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत बुधबार एक सूचना जारी गर्यो । प्राधिकरणको उक्त सूचनामा काठमाडौं उपत्यका र प्रमुख शहरहरुमा विद्युत् कटौती हुन सक्ने विषय समेटिएको थियो । लोडसेडिङ अन्त्य भएको लामो समय भएपछि पुनः प्राधिकरणले विद्युत् कटौती हुने सूचना जारी गरेर के गर्न खोजेको भन्दै धेरैले चासो राखे । धेरैको जिज्ञासा पनि उस्तै थियो, लोडसेडिङको अन्त्यपछि पनि प्राधिकरणले किन विद्युत् काट्दैछ ।

पछिल्लो दिनमा देशव्यापी रुपमा नै प्राधिकरणको प्रणालीमा अत्याधिक मात्रामा विद्युत्को माग बढ्न थालेको छ । विशेष गरी जाडोको समयमा विद्युत् माग बढेको छ । हिटर तथा अन्य विद्युतीय उपकरण चलाउनेको संख्या पनि बढ्दै गएको छ । जसका कारण प्राधिकरणको प्रणालीमा विद्युत् माग थपिएको छ । माग बढ्दै जाने तर प्रसारण प्रणाली भने उस्तै हुने हुँदा जुनसुकै बेला पनि प्रणालीमा समसया आउने भएकाले प्राधिकरणले देशव्यापी रुपमा नै वितरण ट्रान्सफर्मर परिवर्तन गर्न लागेको छ । यस्तै वितरण प्रणालीको सुधारमा समेत उसले प्रक्रिया अगाडि बढाएको छ ।

ट्रान्सफर्मर तथा वितरण प्रणालीमा सुधारका लागि भन्दै प्राधिकरणले जुनसुकै बेला पनि राजधानी काठमाडौँ तथा शहरी क्षेत्रमा विद्युत् कटौती हुने सूचना दिएको हो । विद्युत् माग बढेका कारण त्यसलाई नियमित बनाउन र क्षमता बढाउने लक्ष्यका साथ सुधारको काम सुरु गरिएको हो ।

प्राधिकरणकाअनुसार काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रमा करिब ५ हजार नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको छ । विद्युत्को मागधान्ने गरी प्रणालीको विकास गर्न उक्त परिमाणमा नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको हो ।

आगामी वैशासम्म केही निजी आयोजनाको विद्युत् समेत राष्ट्रिय प्रणालीमा थपिनेछ । यस्तै चालु आर्थिक वर्षको अन्तयसम्म आधा दर्जन साना तथा मझौला जलविद्युत् आयोजनाको विद्युत् थपिनेछ । काबेली करिडोर निर्माण सम्पन्न भएको अवस्थामा करिब ७५ मेगावाट विद्युत् काबेली करिडोरबाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिनेछ । यस्तै प्राधिकरणकै कुलेखानी तेस्रो १४ मेगावाट र ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए समेत निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् ।

देशैभरीबाट विद्युत् थपिने क्रम बढ्दै गएपछि त्यसलाई व्यवस्थित गर्ने उद्देश्यका साथ प्राधिकरणले कम क्षमताका ट्रान्सफर्मरु हटाएर बढी क्षमताका ट्रान्सफर्मर जडान गर्न लागेको हो । सोेही कारण अनियमित रुपमा राजधानी काठमाडौँ र प्रमुख शहरहरुमा विद्युत् कटौती हुन सक्ने उसले जानकारी दिएको छ । काठमाडौँको वितरण प्रणालीलाई प्रमुख रुपमा ध्यान दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सूचनाअधिकारी लिला अर्यालले केही स्थानमा ट्रान्सफर्मर तथा वितरण प्रणालीमा सुधार गर्नुपर्ने भएकाले केही स्थानमा अनियमित रुपमा विद्युत् कटौती हुन सक्ने जानकारी दिएकी थिइन । उनले एकाध घण्टा भन्दा बढी विद्युत् कटौती भए त्यसको जानकारी लिन नजिकको वितरण केन्द्रमा सम्पर्क गर्न समेत आग्रह गरेकी छिन् ।

 वितरण प्रणालीलाई चुस्त तथा दुरुस्त नबनाइकन प्रणालीको थपिएको विद्युत् उपभोक्ताको घर तथा निवजाससम्म पुर्याउन नसकिने प्राधिकरणको भनाइ छ । सोही कारण नयाँ प्रणाली जडान गर्न लागिएको हो । यस्तै काठमाडौँ उपत्यकालाई केन्द्रमा राखेर उपत्यका केन्द्रीत नयाँ प्रसारण प्रणाली निर्माण गर्ने योजनामा समेत प्राधिकरण लागेको छ ।  

हाल प्राधिकरणको प्रणालीमा २१३८७ मेगावाट घण्टा घण्टा विद्युत् माग रहेको छ । त्यसमा प्राधिकरणको आफ्नै ५३२७ मेगावाट घण्टा,निजी क्षेत्रको ४८५५ मेगावाट घण्टा विद्युत् प्रणालीमा रहेको छ । यस्तै भारतबाट ११२०५ मेगावाट घण्टा विद्युत् आयात भइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया