जापानी राजकुमारीको रेडक्रसमा काम गर्ने इच्छा

३ महिना अगाडि

काठमाडौं–जापानका सम्राट् नारुहितोकी एक्ली सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक गरेपछि एप्रिल महिनादेखि जापानको रेडक्रस सोसाइटीमा काम सुरु गर्ने भएकी छन्।

नयाँ भूमिकाको विस्तृत विवरण प्रस्ट भइसकेको छैन तर काम गरेका बेला पनि उनले राजपरिवारको औपचारिक भूमिकाहरू भने निर्वाह गरिरहने बताइएको छ।

यी २२ वर्षीया राजकुमारी उत्तराधिकारीको लाइनमा छैनन् किनभने जापानी कानुनले पुरुषलाई मात्रै राजगद्दीमा उत्तराधिकारको अनुमति दिन्छ।

जापानमा संसारकै धेरै वर्ष पुरानो वंश परम्परामा आधारित राजसंस्था छ।

एउटा विज्ञप्तिमा राजकुमारी आइकोले रेडक्रसमा उनको “सदैव नै रुचि रहेको” बताएकी छन्।

उनको रोजगारदाता रेडक्रसले “राजकुमारीले सजिलोसँग काम गरून् भनेर आफूले पूर्ण तयारी गर्ने” जनाएको छ।

जापानमा रेडक्रसको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ। पहिलेका साम्राज्ञीहरूले मानार्थ अध्यक्षका रूपमा काम गर्दै आएका छन्।

गत अक्टोबरमा रेडक्रसले आयोजना गरेको सन् १९२३ मा टोक्यो भूकम्पपछिको राहत क्रियाकलापमाथिको एक प्रदर्शनीमा राजकुमारी आइकोले आफ्ना आमाबुबासँग रेडक्रसको भ्रमण गरेकी थिइन्।
बिबिसीबाट

३ महिना अगाडि

प्रतिक्रिया