नेपालीलाई भारतमा बैंक खाता खोल्नै कठिन

२ महिना अगाडि

 काठमाडौं - भारतमा नेपाली नागरिकले बैंक खाता खोल्न अत्यन्तै कठिनाइ भोगिरहेका छन् ।सन् १९५० को शान्ति तथा मैत्री सन्धि अनुरूप नेपाली तथा भारतीयले एकअर्को मुलुकमा बिना कुनै अवरोध आवतजावत गर्न तथा काम गर्न पाउँछन् । भारतमा नेपालीले सरकारी सेवामा समेत काम गर्न र घरजग्गा किन्न सक्छन् ।भारत जान तथा काम गर्न भिसा तथा पासपोर्ट समेत नचाहिने नेपालीले बैंकमा खाता खोल्न भने करिब–करिब नसक्ने स्थिति छ ।

भारतमा अन्य देशका नागरिकले भने सजिलै बैंक खाता खोल्न सक्छन् । त्यसका लागि अन्य कागजातका अतिरिक्त अनिवार्य पासपोर्ट र कम्तीमा १ सय ८२ दिन (६ महिना)काम गर्न पाउने भिसा (इम्प्लोयमेन्ट भिसा) आवश्यक पर्छ ।यो व्यवस्थाका कारण अन्य देशका नागरिकलाई भारतमा खाता खोल्न कुनै अप्ठेरो छैन । तर, नेपालीलाई भारत जान तथा त्यहाँ काम गर्न पासपोर्ट र भिसा आवश्यक नपर्ने व्यवस्था नै बैंक खाता खोल्न नपाउनुको कारण हो ।नेपालीलाई भारतमा बैंक खाता खोल्न सहज व्यवस्था मिलाउन पहल गरिरहेको भारतका लागि नेपालका राजदूत डा। शंकर शर्माले जानकारी दिए ।

बैंक खाता खोल्न नपाउँदा त्यसले भारतमा काम गर्ने लाखौं नेपालीलाई समस्या पर्दै आएको एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले बताए । ‘भारतमा लाखौं नेपाली कामको सिलसिलामा बसोबास गरिरहेका छन्,’ अध्यक्ष बरालले भने, उनीहरूले बैंक खाता खोल्न असजिलो हुँदा बैंकिङ कारोबार मात्रै होइन, देशमा रेमिट्यान्स पठाउन पनि अप्ठ्यारो छ ।’यो समस्या समाधानका लागि एभरेस्ट चेम्बर अफ कमर्सले लामो समयदेखि अनुरोध गर्दै आएको पनि उनले जानकारी दिए । ‘यो समस्या चाँडै समाधान हुने प्रतिबद्धता भारतले गरेको नेपाली राजदूतले बताउनुभएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया