काठमाडौँ - नवलपरासीका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिम क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको छ । फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय क्षति गर्दैआएको छ ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले नेपाल सरकारको तथ्याङ्क अनुसार वन डढेलोको जोखिमले नवलपुर जिल्ला १६ औं स्थानमा रहेको र इसिमोडको २०१७ को तथ्याङ्कअनुसार वन डढेलोको उच्च जोखिममा रहेका १३ जिल्लाभित्र पर्ने नवलपुर जिल्लामा वर्षेनी डढेलोका घटना बढिरहेको बताए । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले १ प्रतिशत र ४ प्रतिशत वन डढेलोका कारण थाहा नभएको प्रमुख अधिकारीले बताए । वनमा डढेलो लागेपछि जैविक विविधताको नास हुने, वन पैदावार र वनमा आश्रित जीवजन्तुको क्षति हुने साथै वातावरणीय अनुकूलतामा पनि ह्रास आउने भएकाले वन डढेलो रोक्नुपर्ने उनको भनाइ छ । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सप्ताहव्यापी रुपमा वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको प्रमुख अधिकारीले बताए ।
जस अन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका काम गरिएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाएको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरहरि रेग्मीले नेपालमा वन डढेलो प्राकृतिक कारण मात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको बताए । वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण रहेकाले यसतर्फ नागरिकलाई सचेत गराउन आवश्यक रहेको प्रहरी प्रमुख रेग्मीले बताए ।डढेलोले जन, धन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो ।
प्रतिक्रिया