काठमाडौं- पिपुल्स पावर लिमिटेडले बैशाख १७ गते छैठौं र सातौ वार्षिक साधारण सभा बोलाएको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई स्वीकृति प्रदान गर्दै अघिल्ला दुई आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट फागुन १५ गते स्वीकृति पाइसकेको छ । कम्पनीलाई १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि आयोगले समेत अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी ६३ करोड २६ लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर कम्पनीले विक्री गर्नेछ । वार्षिक साधारण सभाबाट स्वीकृति प्रदान गरिसकेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व अनिवार्य आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार आयोगको स्वीकृति प्राप्त भैसकेकाले बोर्डमा आवेदन दिनका लागि बाटो खुला भइसकेको छ ।
प्रतिक्रिया