वैशाखमा ४ कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिने

३ हप्ता अगाडि

काठमाडौँ - वैशाख महिनामा विभिन्न समूहमा होल्ड भएका ४ हाइड्रोपावर कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । 

म्युचुअल फण्ड, प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक समूहले होल्ड गरेको सेयरमा लकइन अवधि सकिन लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीहरुलाई लकइन अवधि सकिनु भन्दा १ महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम कम्पनीहरुले विभिन्न समूहको लकइन अवधि सकिने समयबारे जानकारी गराएका छन् । आजदेखि माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ ।

लकइन अवधि समाप्त भएको भोलिपल्टबाट ती सेयर कारोबार गर्न बाटो खुल्नेछ । यस्तै, बैशाख ३ गतेदेखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ ।

यी सेयर वैशाख ४ देखि साधारणसरह कारोबार गर्न खुला हुनेछ । त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक तथा कर्मचारीलाई छुट्याइएको सेयरमा वैशाख ३० गते लकइन अवधि सकिने भएको छ । संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।


 

३ हप्ता अगाडि

प्रतिक्रिया