गुराँस लघुवित्तमा लगातार चलखेल

३ हप्ता अगाडि

काठमाडौँ - करिब सवा तीन लाख हाराहारीमा न्यून सेयर संख्या भएको गुराँस  लघुवित्तको सेयर कर्नरिङ गरि अहिले निकै उच्च मूल्यमा पुगि सकेको छ ।

आज २३८६ रुपैयाँसम्म पुगेको सेयरको भाउ अहिले २३३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । उच्च मूल्यमा सेयर खरिद गर्ने कोही नहुँदा अहिले उक्त सेयरमा उच्च सप्लाई रहेको छ । क्रेता शून्य हुँदा बिक्रेताहरुले १८ हजार ९३४ कित्ता बेच्न राखेका छन् । हालसम्म उक्त कम्पनीको ३० कित्ता सेयर मात्र कारोबार हुन सकेको छ । डेढ महिना अघि मार्चको शुरूवातमा यस कम्पनीको कारोबार मूल्य ९०० रुपैयाँको हाराहारीमा रहेको थियो भने अहिले अप्रिल मध्य आइपुग्दा कम्पनीको मूल्य प्रति कित्ता १४४० रुपैंया बढेर २३४० रुपैयाँ पुगिसकेको छ । यो भनेको १७० प्रतिशत भन्दा बढीको वृद्धि हो ।

सामान्य हिसाबले हेर्दा मात्रै पनि यो अवधिमा उक्त सेयरमा १५ भन्दा बढी सकारात्मक सर्किट लागि सकेको छ । सेयरको कारोबारको शैली हेर्दा उक्त कम्पनीको सेयरमा राम्रै कर्नरिङ गरिएको छ । न्यून मूल्यमा हुँदा कम कारोबार हुने गरेको कम्पनीको सेयर उच्च मूल्य पुग्दै जाँदा कारोबार व्यापक वृद्धि हुन थालेको छ । अझै बढ्ने आशामा सर्वसाधारणले सेयर खरिद गर्दै जाँदा खेलाडीले भने सेयर अफलोड गर्दै गरेको देखिएको छ । उक्त सेयर दिनभरी नकारात्मक सर्किटकै हाराहारीमै बेचेर बजारको अन्तिम समयमा आफ्नो सप्लाई हटाई न्यून कित्ता खरिद गरि सेयरको भाउ फेरि बढाउँदै लगिएको लामो समय भइसकेको छ ।

कम्पनीको फ्लोरसिटलाई नियाल्ने हो भने कम्पनीको सेयर अन्तिम मिनेटमा केहि दिन देखि निरन्तर बढाउने गरिएको छ । निकै सस्तोमा किनिएका कम्पनीको सेयर अन्तिममा उफार्दै आफूसँग भएको सेयर निकाल्दै गरिएको सामान्य लगानीकर्ताले समेत सजिलै बुझ्न सकिन्छ । एक पटक न्यून मूल्यमा किनेको सेयर पूर्ण तया अफलोड नभएसम्म जति पटक किनबेच भए पनि खेलाडी नाफा मै रहने हुँदा यस्ता कारोबारदेखि आम लगानीकर्ता भने सतर्क नै रहनुपर्ने देखिन्छ ।


 

३ हप्ता अगाडि

प्रतिक्रिया