एसइइको कमजोर नतिजाप्रति को कति जिम्मेवार ?

शनिबार, १५ असार २०८१, ०९ : ४२

माध्यमिक शिक्षा परीक्षामा आधा भन्दा विद्यार्थी फेल भए । विद्यालय शिक्षालाई जहिले पनि प्रयोग मात्र बनाइयो । सरकारले एउटा नीति परिवर्तन गर्दा लाखौं विद्यार्थी असफलताको बिल्ला भिरेर जिन्दगीको अन्यौलपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यति ठूलो संख्यामा विद्यार्थी फेल हुनुको कारण केवल विद्यार्थी मात्र जिम्मेवार छैनन् । 
नेपाल सरकारले शिक्षाको उद्देश्य तोकेको छ, त्यस अनुसार पाठ्यक्रम बनेको छ। पाठ्यक्रमलाई विद्यार्थीमाझ पुर्‍याउन सार्वजनिक विद्यालयमा सरकारकै संरचनाबाट नियुक्त शिक्षकहरू छन्। सम्पूर्ण शैक्षिक व्यवस्थापनका लागि विभिन्न निकाय र कर्मचारीहरू छन्। विद्यालय व्यवस्थापन समिति छ । अहिले त स्थानीय सरकारले विद्यालय शिक्षा सञ्चालनको जिम्मा लिएको छ ।  शिक्षाको परिकल्पनादेखि पाठ्यक्रम र मूल्यांकनसम्म नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको प्रणाली जिम्मेवार छ। 

सरकारको यति ठूलो लगानी र संरचना भएर पनि किन विद्यार्थी फेल भैरहेका छन् ? खोज्दै जाँदा यसका विभिन्न कारण हुन सक्छन् जस्तो कि विद्यार्थी आफूले नपढेर, शिक्षकले नपढाएर, शिक्षकलाई पढाउने सही तरिका थाहा नभएर, बालबालिकाको पढाइमा रूचि नै नभएर, परीक्षाको दिन शारीरिक वा मानसिक स्वास्थ्य ठीक नभएर, आदि।

हाम्रो मूल्यांकनको प्रणाली पनि यसको जिम्मेवार छ । लिखित परीक्षामा विभिन्न किसिमका प्रश्न सोधिन्छन् जस्तो — परिभाषा लेख्ने, कारण र प्रक्रिया लेख्ने, समाधान लेख्ने, विश्लेषण र संश्लेषण गर्ने, निबन्ध लेख्ने, हिसाब गर्ने, शाब्दिक र गणितीय समस्या समाधान गर्ने, आदि। 

एसइईको नतिजाले देखाएको छ — आधाभन्दा बढी बालबालिकाले माथिका विभिन्न सीपमा संघर्ष गरेका छन्। समस्याको समाधान दिन सकेका छैनन्।

विद्यार्थी असफल हुनुका कारण शिक्षकहरूलाई सोध्दा  उनीहरुको जवाफ हुन्छ, आजकालका विद्यार्थीको पढाइमा ध्यान नै छैन। सामाजिक सञ्जालमा बढी समय बिताउँछन्। शिक्षकलाई आदर गर्दैनन्। होमवर्क गर्दैनन्। प्राथमिक तहका शिक्षकले राम्रोसँग पढाएका छैनन्। घरमा अभिभावकले ध्यान नै दिँदैनन् आदि ।

विद्यार्थीहरूको भनाइ अलि फरक खालको पाइन्छ । उनीहरु भन्छन्,  शिक्षकले पढाएको बुझिँदैन, शिक्षकले किताब हेरेर मात्र पढाउँछन्। पढ्न मन लाग्दैन। पढ्न आउँदैन। पढेर के काम ?आदि ।

एसइईको नतिजाले देखाएको छ — हामी सिकाइको चरम संकटमा छौं। १०(१२ वर्ष स्कुलमा राखेर वर्णमालादेखि ‍अंक सिकाउने हामी, भाषा र गणितीय प्रक्रिया सिकाउने हामी, बाल विकासदेखि कक्षा ९ सम्म खुरूखुरू पास गराउँदै लैजाने हामी। त्यसरी सिक्दै गएका लाखौं विद्यार्थीले केही विषयमा ३५ अंक पनि ल्याउन सकेका छैनन्। अनि त्यसको फल भोग्नुपर्ने चाहिँ ती विद्यार्थी र उनीहरूका अभिभावकले।

यो अवस्था अहिले मात्र देखिएको हैन । विद्यालय शिक्षाको स्तर खस्केको कुरा सबैलाई थाहा छ । सार्वजनिक मञ्चहरुबाट बोल्दा राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिहरुले अनेक आदर्श र उपदेशका कुरा गर्छन  । तर पनि किन हो सरकारको नेतृत्व गर्नेहरूले यसलाई नजरअन्दाज गरेका छन् । शिक्षा बलियो भयो भने देश बन्छ भन्ने सायद कसैलाई विश्वास छैन। अधिकांश शिक्षकहरु पनि  बालबालिकालाई सिकाउने उत्प्रेरकका रूपमा भन्दा पनि  राजनीतिक दलको कार्यकर्ताको रूपमा सक्रिय भएको प्रतीत हुन्छ।

शिक्षालाई यस्तो अवस्थामा ल्याइपु#र्‍याउने सरोकारवाला सबै जिम्मेवार छन् । आज सरकार र अन्य जिम्मेवार पक्षले कानुनतः अपराध नगरे पनि उनीहरुले बालबालिकाको सपना मार्ने अपराध गरेका छन्। तिम्रो क्षमता यति हो भन्दै उनीहरूकोजिन्दगीको यात्रा सीमित गरिएको छ । तिम्रो देशको शिक्षाको ताल यही हो, जाऊ विदेशमा गएर सपना देख भन्दै उनीहरूलाई निरीह महसुस गराउने हाम्रै प्रणाली हो ।

हाम्रो समग्र शिक्षा प्रणाली उस्तै छ। विद्यार्थीका लागि काम गर्ने भनेर मानिसहरूले पद पाउँछन्, सुविधा पाउँछन्, सम्मान पाउँछन्। तर तिनै विद्यार्थी उपेक्षित छन्। विद्यार्थीका नाममा हाम्रो देशमा सरकारको, गैरसरकारी संस्थाको, अभिभावकको कति खर्च भयो, लेखाजोखा छैन। तर आजको दिनसम्म शैक्षिक अवस्था उँभो लाग्ने संकेत कतै छैन।

यर्थामा आज, शिक्षामा परिवर्तन ल्याउन आवश्यक छ। शिक्षामा सीप, दैनिक जीवन, समाज जोडिनुपर्छ भन्ने तर्क जायज छ। तर आजको जुन प्रणाली छ, त्यसमा हामीले कति इमानदार भएर प्रयत्न गरिरहेका छौं त, त्यो पनि अहम प्रश्न हो।

शिक्षामा देखिएको यो समास्याकोसमाधान यथाशीघ्र निकाल्नुपर्छ। हाम्रो समस्या यति जकडिएको छ कि, शिक्षा मन्त्रालयको नेतृत्व गर्ने शिक्षा मन्त्री वा कुनै एउटा राजनीतिक दलले मात्रै पनि यसको जादुमय समाधान निकाल्न कठिन देखिन्छ। सरकारले नै समग्र शिक्षा प्रणालीमा रुपमान्तर गर्ने ठोस योजना ल्याउन आवश्यक छ ।  
अहिलेको नेपालमा  प्रमुख तीन दलहरु मिलेमा कुनै पनि जटील समस्याको समाधान ननिस्कने कुै छैन । आजको खराब परिस्थितिको लागि मुख्य जिम्मेवार पनि यिनै तीन दलहरु छन् । उनीहरुले चाहे भने आवश्यक कानुन ल्याउन सक्छन् । संघीय, प्रदेश, स्थानीय सरकार र कर्मचारीलाई झकझकाउन सक्छन्।  यसको लागि देश विदेशबाट आवश्यक जनशक्ति र आर्थिक सहयोग पनि जुटाउन सक्छन् बाजको। तर चाहियो देश बनाउने इच्छाशक्ति । आजको बालबालिकाको भविष्य कोर्ने चिन्ता चाहियो । 

शनिबार, १५ असार २०८१, ०९ : ४२

प्रतिक्रिया