काठमाडौँ - वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ यात्रा सकिएको छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको जात्राको रथ यात्रा आज ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको हो।
रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्य रूपमा मनाइने महत्त्वपूर्ण लामो जात्राका रूपमा लिइन्छ। उपत्यकाको सबैभन्दा लामो रथयात्रा हुने रातो मच्छिन्द्रनाथलाई हिन्दु र बौद्ध धर्मका साझा देवताका रूपमा पुज्ने चलन छ । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।
मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेल सम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । मछिन्द्रनाथको यो यात्रा गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्ग लोकको भ्रमण तुल्य मानिन्छ ।
ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथ चक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेव सँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथ चक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।
गाबहालबाट सुन्धारा सम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथ चक्रको स्मरणमा हुने गरेको छ । करिब १ हजार ६ सय वर्षदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा मनाइँदै आएको पाइन्छ । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब २ महिनासम्म यो जात्रा मनाइन्छ ।
लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा भोटो जात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मच्छिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भूतप्रेत पन्छाउन भोटो जात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ । नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ, जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो ।
भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । लिच्छवी राजा नरेन्द्र मल्लले लोक कल्याणका लागि पाटनका विभिन्न सीपका नेवार समुदायको सामूहिक प्रयासमा ३२ हात लामो रथ निर्माण गर्न लगाएका थिए।
किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथले नवनागको आसन बनाइ बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजसमेत भारतको कामरूप कामाख्या गइ ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याएको मानिन्छ। मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नवनाग मुक्त भई वर्षा भएको विश्वास छ। मछिन्द्रनाथको रथ जात्रा भोटो देखाएपछि सम्पन्न हुन्छ।
मच्छिन्द्रनाथको रथ यात्रा शुरु गर्नुका कारण
लिच्छविकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो । गुरु गोरक्षनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए । यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो । त्यसपछि राजा, बन्धुदत्त आचार्य र रथ चक्र (ललित ज्यापु)ले धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याए ।
ऐतिहासिक भनाइ अनुसार कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो । जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि घनघोर वर्षा भयो । रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोक कल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो ।
प्रतिक्रिया