काठमाडौँ - नेपालमा बसेर अध्ययन गर्ने अनुकूल बातावरण नभएको कारण नेपाली विद्यार्थीहरु बाहिरिनेक्रम गएका वर्षहरुभन्दा निकै बढ्न थालेको छ । हाम्रो शिक्षा नीतमै भएको खोटका कारण नै होला हजारौं विद्यार्थीहरु लाखौं खर्च गरेर विदेशी कलेजहरुमा भर्ना भैरहेका छन् । कैयौं विकसित देशहरुको आमदानी अहिले विदेशी विद्यार्थीहरुले अध्ययनका लागि बुझाउने शुल्क रहेको छ । उनीहरु कसरी विदेशी विद्यार्थृहरुलाई आकर्षित गर्ने भने नयाँ नयाँ योजनाहरु ल्याइरहेका छन् । यता हाम्रा विश्वविद्यालयहरमा भने विद्यार्थीको खडेरी परेको छ । प्रतिभाशाली विद्यार्थीहरु कोही पनि यहाँ नबस्ने स्थिति देखिरहेको छ । बचेखचेका कमसल क्षमताका विद्यार्थीहरुले हाम्रा शैक्षिक संस्थाहरुको अस्तित्व बचाइरहेका छन् । थस्तो कमजोर तहको विद्यार्थीबाट उत्पादित जनशक्ति पनि कमजोर नै हुनेभयो । जसले देशको अर्थतन्त्र र अन्य विकासको काममा गम्भीर असर पार्नु स्वभाविक छ ।
वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिनामै करिब सवा २८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यो रकम गत वर्षको भन्दा झन्डै ५ अर्ब रुपैयाँ बढी हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको दाबी छ । नेपालमा पनि अध्ययनका साथै आयआर्जनको व्यवस्था पनि गर्न सकियो भने विदेश पलायन रोक्न सकिन्थ्यो होला । तर नीति निर्माणमा बसेकाहरुलाई मुलुकको यो अवस्थाको बारेमा खासै चासो देखिदैन ।
नेपालमा पनि अध्ययन गर्नका लागि विदेशबाट विद्यार्थी आउने गरेका छन् । तर उनीहरुलाई यहाँ बस्ने अनुकूल वातावरण सिर्जना गर्न सकिएको छैन । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि करिब ४४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम गत वर्षको सोही अवधिको भन्दा कम हो । साथै यहाँबाट बाहिरिने रकमको तुलनामा यो ज्यादै कम हो ।
एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यो २४ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ, आर्थिक वर्ष ०७५/७६ मा ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक दशकमा विदेश अध्ययनका लागि अनुमति लिने संख्या झन्डै तीन गुणाले बढेको छ । आर्थिक वर्ष ०७१/७२ मा ३० हजार ७ सय ९७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए । पुराना विद्यार्थीका लागि पनि केही वर्षसम्म घरपरिवारले खर्च पठाउँछन् ।
वैदेशिक अध्ययनका लागि हरेक वर्ष ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिनु ठीकरबेठीक भन्ने सम्बन्धमा दुई प्रकारका धारणा पाइन्छ । एक थरीले विदेश अध्ययनमा धेरै पैसा गयो भनेर चिन्ता लिनु नपर्ने बताउँछन् । उनीहरूका अनुसार विदेश अध्ययनमा जाँदा विद्यार्थीहरूले नेपालबाट पैसा मात्र लगेका हुँदैनन्, उनीहरूले ज्ञान आर्जन गर्छन्, सीप सिक्छन्, धन कमाउँछन् र अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिन्छन् । भविष्यमा आफ्नो देशको अवस्था राम्रो भए पर्याप्त अवसर देखेपछि नेपाल फर्किन्छन् । यसकारण अहिले विदेश अध्ययन गर्नेले धेरै पैसा बाहिर लगे भनेर चिन्ता गर्नु नपर्ने जानकारहरूको भनाइ छ ।
नेपालमा अवसर नभएकाले युवाहरू बाहिरिन बाध्य भएको भन्दै उनीहरूलाई स्वदेशमै रोक्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने मत पनि उत्तिकै बलियो छ । यद्यपि विदेश गएका विद्यार्थीलाई नेपाल फर्काउन र नेपालमा रहेका स्वदेशमै बस्ने वातावरण बनाउन सरकारसँग कुनै योजना छैनन् । अध्ययन, भ्रमण र स्वास्थ्य उपचारका नाममा सञ्चित रहेको विदेशी मुद्रा बाहिरिदा तत्काल असर नदेखिए पनि यसले गम्भीर दीर्घकालीन असर पार्नेछ । राज्यले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन विशेष योजना बनाउन ढिलाइ गर्नु हुदैन ।
प्रतिक्रिया