सरकारको नीति तथा कार्यक्रमलाई अझै ठोस बनाउनुपर्छः कांग्रेस सांसद डा.महत

मंगलबार, २३ बैशाख २०८२, १३ : १७

काठमाडौं- नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिँदै स्वागत गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै डा.महतले भने, ‘नीति तथा कार्यक्रम राष्ट्रपतिमार्फत सरकारले संसदमा प्रस्तुत गरेको छ । यो सकारात्मक छ ।’

‘जस्तो खाले आलोचना विपक्षी दलका नेता साथीहरूले गर्नुभएको छ’, उनले भने, ‘आफ्नो बेलामा उत्कृष्ट हामीले गरेका थियौँ ।’

उनले भने, ‘सबै कुरा अहिले बिग्रियो भन्ने जसरी कुरा गर्नुभएको छ । त्यसमा सत्यता छैन ।’

‘यो नीति र कार्यक्रमलाई अझै ठोस बनाउन सकिन्छ । अझै धारदार बनाउन सकिन्छ’, उनले भने, ‘कार्यान्वयन क्षमता र समयमा कार्यान्वयन गर्ने पद्धितर्लाइ लागू गर्न सकिन्छ’, 

डा.महतले भने, ‘त्यति सरकारले गर्ने हो भने धेरै कुरा अगाडि बढ्छ । धेरै कुरा समेट्छ । हाम्रो आर्थिक शिथिलताको एउटा कारण मौद्रिक नीति र वित्तीय नीतिमा सामान्जस्यता केही समय यता हुन सकेन । त्यसले पनि समस्या ल्याएको छ । हाम्रो विनियोजनमा ठूलो समस्या छ ।’

‘प्रतिफल योग्य आयोजनामा लगानी केन्द्रित गर्छु भनेको छ । अनावश्यक सरकारी संरचनालाई खारेज गर्ने या मर्ज गर्ने कुरा गरेको छ’, कांग्रेस सांसद डा।महतले भने ।

सांसद डा.महतले नीति तथा कार्यक्रमले लोकप्रियतावादलाई ध्यान नदिएको बताए । उनले कार्यान्वयन हुने कुरालाई मात्रै नीति तथा कार्यक्रमले अवधारणा अगाडि सारेको बताए ।

‘यो नीति तथा कार्यक्रमले उच्चस्तरीय आर्थिक सुधारको प्रतिवेदनलाई कार्यान्वयन गर्छु भनेको छ’, उनले भने, ‘उच्चस्तरीय आर्थिक सुधार आयोगले नेपालको अर्थतन्त्रलाई रुपान्तरण गर्न धेरै विषयमा ठोस सुझावहरू दिएको छ ।’

 
मंगलबार, २३ बैशाख २०८२, १३ : १७

प्रतिक्रिया