बागमती प्रदेशमा पर्यटन कार्यालयको पुनःसंरचना, चार कार्यालय खारेज

मंगलबार, २३ बैशाख २०८२, १६ : ०५

काठमाडौं- बागमती प्रदेश सरकारले पर्यटन विकास आयोजना सहितका चार कार्यालय खारेज गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले दुईवटा पर्यटन विकास आयोजना र दुईवटा पर्यटन कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौंडा र पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौं खारेज गर्ने निर्णय गरेको हो । बैठकले उपत्यका पर्यटन कार्यालय काठमाडौँ र पर्यटन कार्यालय चितवनलाई खारेज गर्ने निर्णय गरेको हो ।

अस्थायी संरचनाको रूपमा रहेका ती कार्यालय खारेज गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

मन्त्री लामिछानेका अनुसार उक्त मन्त्रालयको संगठन संरचना तेरिज स्वीकृत गर्दै ती कार्यालय खारेज गर्ने निर्णय भएको हो । बैठकले ती कार्यालयहरूको विकल्पमा स्थायी संरचनाको रूपमा पर्यटन कार्यालयहरू स्थापना गरेको छ ।

बैठकले प्रदेश राजधानी हेटौंडामा मन्त्रालय र एक कार्यालय रहने व्यवस्था गरेको छ भने अन्य ४ जिल्लामा कार्यालय राख्ने निर्णय गरेको हो । बैठकले हेटौंडासहित नुवाकोट, दोलखा, चितवन र काठमाडौँमा पर्यटन कार्यालय खडा गर्ने निर्णय गरेको छ ।

बैठकले प्रशासनका कर्मचारी प्रमुख रहनेगरी मन्त्रालय र मातहतका निकायमा साविकको ११७ जनाको दरबन्दीलाई घटाएर १०६ कायम गरेको छ । यसअघि दुईवटा आयोजनामा प्राविधिकतर्फका इन्जिनियर वा वन अधिकृत प्रमुख रहने व्यवस्था थियो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कम्प्युटर अपरेटर (सहायक पाँचौं÷अधिकृत छैटौं) लाई प्रशासनिक कर्मचारीको रूपमा प्रयोग गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।

मंगलबार, २३ बैशाख २०८२, १६ : ०५

प्रतिक्रिया