एमाले धनुषाको जिल्ला अधिवेशनमा विवाद, दुई पक्षबीच कुर्सी हानाहान

मंगलबार, २३ बैशाख २०८२, १५ : १३

काठमाडौं-  नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद हुँदा कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

अधिवेशन गत वैशाख २० गतेदेखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए । उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

मंगलबार, २३ बैशाख २०८२, १५ : १३

प्रतिक्रिया