काठमाडौं - अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयले अमेरिकी सेयरबजारमा मात्र उछाल आएन । अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रूपमा उनको पुनरागमन जोडिएको छ । उनको सत्ता पुनरागमनले युरोप र एसियाका पनि कतिपय देशको सेयरबजारमा समेत सकारात्मक प्रभाव परेका समाचारहरू अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा छाएका छन् ।
अर्थतन्त्र आफै पनि राजनीतिभन्दा बाहिर रहन सक्तैन । राजनीतिक क्षेत्रमा आउने उतारचढावले आर्थिक क्षेत्रलाई प्रभावित तुल्याउने गर्दछ । अमेरिकी राजनीतिमा आएको परिवर्तनले पनि सेयरबजारमा ठूलो फेरबदल ल्याएको कुरामा कुनै द्विविधा छैन । त्यसैले पनि विश्वमा प्रजातान्त्रिक पुँजीवादको उच्चतम अभ्यास गरिरहेको अमेरिकामा अर्बपति व्यक्तित्व ट्रम्पको पुनरोदयले संसारभर कस्तो प्रभाव रहला भनेर अहिले सर्वव्यापी बहस भइरहेको छ ।
राजनीतिले जहिल्यै सेयरबजारलाई असर गर्ने सम्भावना हुन्छ । यो तथ्य सेयरबजारमा व्यावसायिक हिसाबले लाग्नेहरूलाई मात्र होइन, अब त नेपालमै पनि सामान्य लगानीकर्ताहरूलाई समेत थाहा भइसकेको छ । तर राजनीतिक उतारचढावले सेयरबजारलाई कुन हदसम्म र कति समयसम्म असर गर्ने सम्भावना हुन्छ भन्ने कुरा बेग्लै हो । खासगरी राजनीतिक दलहरू विभिन्न सिद्धान्त बोकर अस्तित्वमा हुन्छन् । जस्तोकि कोही कम्युनिस्ट विचारधारा बोकेर अस्तित्वमा छन् त कोही उदार तथा प्रजातान्त्रिक विचार बोकेका हुन्छन् भने कतिपय दलहरू अलिअलि उदार र अलिअलि नियन्त्रित विचारधाराको पक्षपोषक हुन्छन् । त्यसकारण विभिन्न विचारधारा बोकेका राजनीतिक दलहरूले सतहमा गर्ने गतिविधि, राजनीतिक उतारचढाव, सत्ता फेरबदल तथा फेरबदल हुने खालका सङ्केत तथा गतिविधि, त्यस खालका समाचारहरूले सेयरबजारमा प्रभाव पार्छ, जसले बजारलाई बढाउने तथा घटाउने गर्छ ।
नेपाल जस्तो मुलुकमा त राजनीतिमा आउने सामान्य तरङ्गले पनि बजार घट्ने–बढ्ने गरेको देखिन्छ । जस्तो कि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विष्णु पौडेललाई सेयरबजारका लागि लचिलो मानिएको र सेयरबजारमैत्री भनेर चिनिएको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेको संयुक्त सरकारले आफ्नो सय दिने कार्य प्रगति सार्वजनिक गरिसकेको छ । उसले आफ्नो प्रगति विवरणमा लामो समय गिरेको सेयरबजार लयमा फर्किएको बताएको छ ।
दुई हजार अङ्कको सेरोफेरोमा रुमलिएको नेप्से परिसूचकले वर्तमान सरकार गठन भएसँगै उचाइ भरेर साउन अन्तिम साता तीन हजार अङ्कसम्म छोएको थियो । पौडेल अर्थमन्त्री भएपछि आएको मौद्रिक नीतिको लचकताले डेढ महिनामै बजारले करिब एक हजार अङ्कको फड्को मारेको थियो । बीचमा बाढी, पहिरोलगायतको प्राकृतिक विपत्तिले निर्माणाधीन केही जलविद्युत् आयोजना तथा भौतिक पूर्वाधारमा भएको नोक्सानीले बजार केही घटेर दुई हजार सात सय अङ्कभन्दा थोरै माथि आएर बसेको अवस्था छ । त्यसरी नयाँ सरकार बनेको थोरै अवधिमा बजारले ठूलो वृद्धि हासिल गर्नु अरू कारणभन्दा पनि राजनीतिक कारण नै हो भन्न सकिन्छ । त्यसैले राजनीतिक परिवर्तनले अर्थतन्त्रका विविध आयाममा फेरबदल आउने भएकोले सेयरबजारमा पनि उतारचढाव देखिने गर्दछ ।
प्रतिक्रिया