काठमाडौं - मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । नतिजाले राजनीतिक दलहरुको हैसियत मापन गरेको छ । खासगरी यस निर्वाचनले वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएको रास्वपालाई ठूलो झड्का दिएको छ । उसले काठमाडौं– १६ को वडा अध्यक्ष बाहेक कतै पनि जित्न सकेन । उम्मेदवारी दिएका ठाउँहरुमा पनि उसको जमानत बच्न सकेन । यसबाट रास्वपाप्रति जनताको मोहभङ्ग भैरहेको भन्ने देखिन्छ । अझै पनि जनता ठूला राजनीतिक दलहरुको विकल्प खोज्न तयार भएको देखिदैन । भरपर्दो वैकल्पिक शक्ति नभएर पनि जनता पुराना दलहरुमै भोट हाल्न बाध्य भएको पनि हुनसक्छ ।
निर्वाचन नतिजाले माओवादी केन्द्रलाई अलि उत्साहित बनाएको छ । एमाले र कांग्रेसको टेको नसमातेर चुनाव जित्न सकिदैन भन्ने माओवादीको आफ्नै मनोविज्ञानलाई निर्वाचनको नतिजाले परिवर्तन गरिदिएको छ । केही ठाउँमा त एमाले र कांग्रेसको गठबन्धनलाई समेत माओवादी उ्म्मेदवारले पराजित गरिदिएका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगामा दुई सत्तारुड दलको गठबन्धलाई माओवादीले पराजित गरेको छ । यद्यपी माओवादीले पहिले जितेका ६ वटा वडामा पराजय भोगेको छ । स्थानीय तहमा जनताले यसपटक मत परिवर्तन गरेको देखियो । माओवादीले नयाँ ठाउँमा जितेर पहिलेको सिट संख्यामा केही वृद्धि गरेको छ । सत्तामा रहेका एमाले र कांग्रेसले भने पहिलेको संख्या जोगाउन सकेनन् ।
दलहरुले मिसन ८४ भनेर अहिलेदेखि नै जनतालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । ८४ मा आउने संभावित परिणामको संकेत यस उप निर्वाचनले गरेको भनेर केही विश्लेषकहरुले गरिरहेका छन् । सबैभन्दा मनोवल माओवादीको बढाएको छ निर्वाचन परिणामले । माओवादी अब एक्लै निर्वाचनमा जाने हैसियत प्राप्त गरेको भनेर माओवादी नेताहरु उत्साहित पनि देखिएका छन् । माओवादीप्रति जनताको विकर्षण सुरु भएको भनेर गरिएको बहस पूर्णरुपमा सत्य रहेनछ भन्ने पनि यस निर्वाचन परिणामले देखाएको छ । माओवादीको माथिल्लो तहमा समस्या देखिए पनि स्थानीय तहमा कार्यकर्तामा पार्टीप्रति लगाव कायमै रहेको र जनताले पनि अझै भरोसा गरेको पुष्टि भएको छ । तर पहिले जितेका ठाउँहरुमा किन जनताले फेरि माओवादीलाई रुचाएनन् ? यो भने गम्भीर समीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया