काठमाडौं - राजनीतिशास्त्रका विचारकहरुले राज्यको सफलताका विभिन्न कारणहरुमध्ये सुशासन अर्थात विधिको शासनलाई मान्ने गर्दछन् । चिनीयाँ दार्शनिक लाओत्सेले राज्यमा चरम भ्रष्टाचार, कुशासन र अनुशासनहीनतालाई राज्यको असफलताको कारण मानेका छन् । आज जति पनि विकसित र समृद्ध मुलुकहरु छन् ती सबै कानुनको शासनबाट अघि बढेरै सफलताको शिखर चढेको कुरामा दुईमत हुन सक्तैन ।
आज नेपालको अवस्था पनि लाओत्सेले भने जस्तै हुन पुगेको छ । सरकार कुनै पनि राज्यको प्रतिनिधि संस्था हो । अथवा सरकारलाई राज्यको प्रवक्ता मानिन्छ । नेपालको वर्तमान अवस्थालाई गहिरोसँग नियाल्ने हो भने यहाँ चरम अराजकता छ । सरकार मनोमानी ढंगले अघि बढेको छ । सरकारका काम कारबाहीहरु पक्षपातपूर्ण छन् । राम्रो काम गर्ने कर्मचारी र प्रशासकहरुको तेजोवध गरिएको छ । सरकारका निकटस्थहरुलाई जे गरे पनि उन्मुक्ति दिइएको छ । राम्रो काम गर्न खोज्ने इमान्दार प्रशासकहरु भ्रष्ट राजनीतिक नेतृत्वको कोपभाजनमा परेका छन् । कतिबेला सरकारको कारबाहीमा परिने हो भन्ने भयपूर्ण वातावरण्मा उनीहरुले काम गर्नु परेको छ ।
पछिल्लो उदाहरण प्रधानमन्त्रीको चीन भ्रमण र त्यसको उपलब्धीको रुपमा चीनले दिएको नौ अर्ब रुपैयाँको सहयोगलाई हेरे पुग्छ । हाम्रा नेताहरु जो सरकारको नेतृत्व गरिरहेका छन् उनीहरु यसैमा मख्ख छन् । देशमा २२ अर्ब उठाउन कुलमानलाई रोक्ने, उता चीनले नौ अर्ब दियो भनेर खुशी हुने । कस्तो बिडम्बना । यस्तै नियतिले नेपाललाई उँभो लाग्न दिएको छैन । यस्तो प्रकारको शासनशैलीले देशलाई कहाँ पुर्याउला ? तै पनि सरकार चलाउनेहरु भन्दैछन् हामीले चाहेको विकास र समृद्धीको यात्रा सुरु भैरहेको छ ।
सरकारको व्यवहार पनि यति पक्षपातपूर्ण भयो कि एउटै किसिमको कसुर गरेको कोही जेलमा छ कोही सत्तामा । पीडकहरु बाहिरै सान देखाइरहेका छन् पीडितहरु थुनामा बसेर मुद्धा झेल्दैछन् । भुटानी शरणार्थी प्रकरण भनौं कि वाइडबडी प्रकरण । सत्ताका निकटहरुलाई उन्मुक्ति, लागे अह्रायको काम गर्ने र अन्य पहँुचविहिनहरुलाई सजाय । सरकार बिधिको शासनमा चलिरहेको छैन भन्ने गतिलो उदाहरण हो यो । सरकार यही दिशामा हिड्यो भने मुलुकले न आर्थिक विकासको बाटो पहिल्याउँछ न त मुलुकले समृद्धी नै प्राप्त गर्दछ ।
प्रतिक्रिया