काठमाडौं - नेकपा (माओवादी केन्द्र) नुवाकोट जिल्ला समितिले आफ्नै कार्यकर्तालाई ठगी गरेको पाइएको छ । २०६४ सालको निर्वाचनमा आफ्नै कार्यकर्ता भद्र बहादुर रानामगर(ध्रुब)बाट लिइएको ऋण नतिर्न पैसा नभएको चेक दिएपछि सो चेक समेत कृषि विकास बैंकले बाउन्स गरिदिएको छ ।
माओवादी केन्द्र नुवाकोट जिल्ला समितिका संयोजक पुष्प लामिछाने(अरुण)ले आफ्नै श्रीमती विमला सुवेदीले चुनाव लड्न २०६४मा व्यक्तिगत रुपमा लिइएको ऋण पार्टीको कृषि विकास बैंकको खाताबाट तिर्न खोज्दा चेक बाउन्स भएको हो।
उनले पार्टीको कृषि विकास बैंक खाताबाट भुक्तानी दिने गरी पाँच लाख पचास हजारको चेक रानामगरलाई काटिदिएका थिए । तर उक्त बैंक खातामा पैसा नै नभएको पाइएपछि बैंकले सो चेक नै बाउन्स गरिदिएको हो ।
लामिछानेकी श्रीमती सुवेदी २०६४ को निर्वाचनमा नुवाकोट १ बाट निर्वाचित भएकी थिइन् । हाल समानुपातिकबाट सांसद भएर संघीय संसदको कानुन, न्याय तथा मानअधिकार समितिको सभापति रहेकी छिन् ।
करिब १७ वर्षअघि व्यक्तिगत तवरले श्रीमती जिताउन लिइएको ऋणको ब्याज समेत नदिई सावा मात्रै फिर्ता गर्न पनि पैसा नभएको पार्टीको बैंक खाताको चेक काटेका जिल्ला संयोजक पुष्प लामिछाने दम्पतिमाथि आफ्नै कार्यकर्तालाई ठगी गरेको आरोप लागेको छ ।

पीडित रानामगर माओवादीका पूर्णकालीन कार्यकर्ता हुन् । आफ्नै पार्टीबाट आफूलाई ऋणबापत लिएको रकम फिर्ता नदिएर प्रताडित गरेको उनी बताउँछन् । २०६४ सालमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन लड्न यिनै सुवेदीलाई आफूले दुई पटक गरी साढे पाँच लाख रुपैयाँ दिएको रानामगरको दाबी छ ।
२०६४ र ६५ सालमा गरी साढे पाँच लाख दिएको तर अहिलेसम्म रकम फिर्ता नै नगरी पैसा नभएको कृषि विकास बैंकको चेक काटिदिएपछि आफूले उक्त चेक बाउन्स गरेको उनले बताए ।
‘२०६४ सालमा साढे दुई लाख र ६५ सालमा ३ लाख गरी पुष्प लामिछानेकी श्रीमती विमला सुवेदी निर्वाचन लड्दा साढे पाँच लाख ऋण दिएको हुँ ।’, पीडित रानामगरले आजको अर्थसँग भने, ‘ १७ वर्ष भयो अहिलेसम्म ब्याज त दिएनन्, सावा पाँच लाखसमेत पार्टीको नामबाट पैसा नभएको चेक काटेर अर्को ठगी गरेका छन् ।’ सावा ब्याज दुबै लिनुपर्नेमा सावा समेत नदिएको उनको भनाइ छ ।
राना मगरले व्यक्तिगतरुपमा लामिछानेलाई नै ऋण दिएकाले पार्टीको नामको चेक बुझ्न अस्वीकार गर्दा पनि जर्बजस्ती भिडाएको बताए । उनले सोमबार बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गरी कानुनी प्रक्रियामा अघि बढ्ने जनाए ।

यसबारेमा बाउन्स भएको चेक काटिदिएका सुवेदीका श्रीमान माओवादी नुवाकोट संयोजक उनै लामिछानेलाई व्यक्तिगत तवरले ऋण लिएर पार्टीको नामबाट तिर्न खोज्दा चेक बाउन्स भएछ नि ? भनेर प्रश्न गर्दा उनले संस्थागत तवरले नै रकम ल्याइएको जिकिर गरे । उनले सावा यस अघि नै चुक्ता गरिएको बताउँदै सोही सावा बराबर ब्याजको दाबी गरेपछि चेक काटिदिँदा त्यसमा पैसा नभएर बाउन्स भएको बताए ।
लामिछानेले भने, ‘संस्थागतरुपले लिएको रकम हो , सावा फिर्ता भइसकेको छ । स्थानीय तहको उपनिर्वाचनमा व्यस्त रहँदा पार्टीको खातामा रकम भए/नभएको यकिन हुन सकेन। पैसा नभएपछि उहाँ(ध्रुब)ले चेक बाउन्स गर्नुभएछ ।’
यस बारेमा २०६४ मा निर्वाचन लडेकी सुवेदीलाई सम्पर्क गर्दा उनले आफ्नो चुनावी प्रयोजनका लागि उक्त रकम नलिएको जिकिर गरिन् । उनले पार्टीको अन्य कामका लागि ऋण लिइएको र सो बापतको सावा रकम बुझाइएको दाबी गरिन् ।
‘मेरो चुनावी खर्चका लागि लिएको होइन त्यो २०७० सालतिर पार्टीको कामका लागि लिएको रकम हो । त्यसको सावा भुक्तानी गरिसकेको हो ।’, सांसद सुवेदीले भनिन् ‘उहाँ(ध्रुब)ले ब्याज पनि दाबी गरेपछि पार्टीकै खाताबाट भुक्तान गर्न चेक दिइएको हो।’
माओवादी प्रवक्तासमेत रहेका उपाध्यक्ष एवं बागमती प्रदेशका इन्चार्ज अग्नि सापकोटालाई यस बारेमा जिज्ञासा राख्दा उनले कुनै जानकारी नभएको प्रतिक्रिया दिए । यस विषयमा आफूले सम्बन्धित जिल्लाका नेताहरुसँग बुझेर जानकारी लिने बताए ।
प्रतिक्रिया