काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धा झेलिरहेका छन् । मुद्धाकै अनुसन्धानका लागि उनी कात्तिक २ गतेदेखि न्यायिक हिरासतमा छन् । उनको गिरफ्तारीको विषयलाई लिएर अहिले मुलुकमा चर्को बहस पनि सिर्जना भएको छ । उनीमाथि राज्यले प्रतिशोध साधेको आरोप रास्वपा र एकथरी मानिसहरुले लगाइरहेका छन् । त्यसमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की पनि मिसिएकी छन् ।
राज्यको कानुन विपरित काम गर्ने गराउने जो कोहीमाथि पनि अनुसन्धान र कानुनी कारबाही हुनु कुनै नयाँ कुरा होइन । कानुनका दृष्टिमा सबै नागरिक समान हुन्छन् । रवि लामिछानेमाथि पनि यही मान्यताका आधारमा कारबाही भैरहेको छ । उनको मुद्धा नै जटील र धेरै ठाउ“मा जाहेरी परेकोले प्रहरीलाई अनुसन्धान गर्न समय लागेको होला भनेर बुझ्नु पर्दछ । सवाल के मात्रै हो भने रवि जस्तै आरोप लागेकाहरु किन अनुसन्धानको दायरामा आएका छैनन् ? यसैलाई रास्वपाले रविमाथि प्रतिशोध साँधेको आरोप लगाइरहेको होला ।
रवि जस्तै आरोप लागेका को हुन भन्ने सबै नेपालीलाई थाहा भै सकेको छ । चाहे धनराज गुरुङ्ग हुन वा ऋषिकेश पोख्रेल । अरु कैयौं छन् । जो अनुसन्धान बाहिर छन् र अरुलाई नैतिकताको सन्देश पनि दिइरहेका छन् । कतिपय गम्भीर कसुरका आरोपीहरु त राज्यको हर्ताकर्ता नै बनेका छन् । यो अवस्थामा सरकारबाट सामान्य नागरिकले के अपेक्षा गर्न सक्छ ? सरकार त नागरिकको अभिभावक बन्न सक्नुपर्ने हो । व्यक्तिको अनुहार हेरेर हैन कसुर हेरेर कारबाही गर्नुपर्ने हो । तर यहाँ त अनुहार हेरेर सरकारले व्यवहार गरेको प्रष्ट भैरहेको छ । त्यसैले सरकारले भन्ने गरेको सुशासन केवल हात्तिको देखाउने दा“त मात्र बनेको छ ।
यहाँ रवि निर्दोश छन् भन्न खोजिएको हैन । यो कुरा त अदालतले निर्णय गर्ने नै छ । जसलाई सबैले स्विकार गर्नुपर्छ । अहिले रविमाथि लगाइएको सम्पत्ति शुद्धिकरणको प्रस्थान विन्दु कहिलेदेखि बनाउने भन्ने विषयमा अलि गम्भीर भएर सोच्न आवश्यक छ । मुलुकमा बेथितिको सुरुवात २०४६ को परिवर्तनपछि नै भएको कुरामा सायदै कसैको दुईमत होला ।साँच्चिकै वर्तमान ओली सरकार मुलुकमा सुशासन दिन चाहन्छ भने २०४६ पछि लाभको पदमा पुगेका सबैको सम्पत्तिको स्रोतमाथि छानविन गर्नुपर्दछ । त्यतिबेला आजका नेता तथा उच्च पदस्थहरुको अवस्था थाहा पाउने पुस्ता जीवितै छ । नेता धनी हुने र देश गरीब हुने अवस्थाको विश्लेषण हुनै पर्दछ । अन्यथा राज्य एउटा रविको पछि मात्रै लागेर ठूलै उपलब्धी केही पनि हुनेवाला छैन । नेताको सम्पत्तिको छानविन गर्न सरकारले आँट गर्ने हो भने एउटा शक्तिशाली आयोग बनाउनु पर्दछ । उक्त आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण सरकारले बनाउनु पर्दछ । यसले मुलुकलाई आर्थिक समुद्धीको बाटोमा अघि बढ्न सहज बनाउनेछ । साथै भ्रष्टाचारलाई सिधा नियन्त्रण गर्नेछ । आर्थिक अनुशासन नभएको राज्य दुनिा“मा कही पनि समृद्धीको मार्गमा अघि बढेको छैन । नागरिकमा आशा र विश्वास जगाउन पनि मुलुकमा आर्थिक अनुशासन आवश्यक हुन्छ ।
रविको मुद्धालाई सरकारले अवसरको रुपमा सदुपयोग गर्नुपर्दछ । यो देशमा भएका विकृतिको पहाड रवि एक्लैले खडा गरेका होइनन् । उनी एउटा पात्र हुन । फेरि पनि उनी चोखो छन् भन्न खोजिएको होइन । मुलुकमा सैयौं रविहरु छन् । युगान्तकारी परिवर्तनको संखघोष गर्ने शाहसी नेतृत्वको माग देशले गरिरहेको छ । गायक शिशिर योगीको चर्चित र मार्मिक गीतको एउटा अंश सबैको लागि स्मरणीय छ अहिले, यो देशमा म एउटा मानिस खोजिरहेछु । साँच्चिकै देशले आज केही गर्ने दूरदर्शी र देशभक्त नेता खोजेको छ । जसले विगतका भ्रष्ट नेताहरुलाई सम्पत्ति शुद्धिकरणको मुद्धा लगाउने हिम्मत गरोस् ।
प्रतिक्रिया