क्यानडाबारे ट्रम्पको विवादास्पद भनाइ

विहीबार, ०४ पुस २०८१, १३ : ४७

काठमाडौं - अमेरिकाको राष्ट्रपति चुनावमा निर्वाचित भएलगत्तै क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका ट्रम्पले अहिले क्यानडाबारे अर्को विवादास्पद वक्तव्य जारी गरेका छन्।

 ट्रम्पले छिमेकी राष्ट्र क्यानडाका अधिकांश नागरिक आफ्नो देश अमेरिकाकै एक राज्य बनोस् भन्ने चाहने दाबी गरेका छन्। सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै उनले यस्तो दाबी गरेका हुन् । क्यानाडाका अधिकांश नागरिक आफ्नो देशलाई अमेरिकाको ५१औँ राज्य होस् भन्ने चाहेको उनको दाबी छ। 

यसअघि ट्रम्पले आप्रवासी र अवैध लागुऔषध रोक्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक भएको बताएका थिए।

उनले आगामी जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनका सामानमा कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने बताएका छन्।

क्यानडा र अमेरिकासँग विश्वको सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी छ।

विहीबार, ०४ पुस २०८१, १३ : ४७

प्रतिक्रिया