आर्थिक अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

शनिबार, ०६ पुस २०८१, १३ : १७

काठमाडौं - उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् । 

नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए ।

पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्ता गठबन्धन बनेको पनि उनले प्रष्ट पारे ।  राजनीतिक स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए ।

सडक मार्गमार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चन्द्रागिरि चित्लाङ सडकको अवलोकन पनि गरे । सडक निर्माण कार्य सुरु भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरि चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए ।

उनले निर्माण कार्यमा ढिलाइ गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए ।  यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बाग्मती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ , उपप्रधानमन्त्री सिंहले भने ।

उनले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहे पनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरुरी हुने पनि बताए । चुनावका क्रममा कुनै दलबाट उम्मेदवार बने पनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्र विन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि  स्थानीय बासिन्दाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।  यो भएन, त्यो भएन भन्ने अधिकार पनि नागरिकलाई छ । तर, त्यसो भनेर बसेर मात्र भएन, झ उपप्रधानमन्त्री सिंहले भने,  राम्रो काम गराउनका लागि के गर्नुपर्‍यो  भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारी बोध गराउन सक्नुपर्छ । सबै मिल्नुपर्छ ।  उनले चन्द्रागिरि चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणको काम सबैको साझा विषय भएको बताए ।

उपप्रधानमन्त्री सिंहले ०४६ साल अगाडि भन्दा  बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिइरहेको बताए । अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उनले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएको बताए । तर नागरिकको चाहना अनुसार अझै काम गर्न बाँकी रहेको र त्यसमा सरकारले प्रयास गरिरहेको सिंहको भनाई थियो । 

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका प्रदेश सांसद इन्द्र बानियाँले मकवानपुरका जनताको अवस्था सुधार्न र मकवानपुरलाई विकासको गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

सिंहले आज मकवानपुरको मनहरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नेछन् । सिंह चन्द्रागिरि चित्लाङ सडक मार्ग हुँदै मनहरी नगरपालिका गएका हुन् । सिंहसँगै ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ र नेपाली कांग्रेस बागमती प्रदेश सभापति  बानियाँ पनि कार्यक्रममा सँगै सहभागी छन् ।

 

शनिबार, ०६ पुस २०८१, १३ : १७

प्रतिक्रिया