काठमाडौँ - हरेक पटक सरकार परिवर्तन हुँदा स्थायीत्व र समृद्धीको नारा लगाउने गरिन्छ । सरकारमा रहेकाहरुले भन्ने एकसूत्रीय एउटा मन्त्र नै हो यो । तर व्यवहारमा त्यस्तो देखिदैन । अहिलेका प्रधानमन्त्रीले सधैंँ भन्ने गरेको उनी नेतृत्वको सरकार समृद्धिको लागि हो भन्ने भनाइ पनि पछिल्लो समय जनताले पत्याउन छाडेको देखिन्छ । सरकार बनेको पहिलो पाँच महिनामा झण्डै चार लाख नागरिकले देश छाडेका छन् । ती मध्ये वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक रहेको छ । यो भनेको सरकारले समृद्धि ल्याउँछ भन्नेमा यो तहका मान्छेमा अलिकति पनि आशा र विश्वास नभएको अवस्था नै हो ।
सरकारले समृद्धीको विषयमा विश्वास जागउन सकेको भए नागरिकहरुमा यस् प्रकारको निराशा र पलायन देखिने थिएन होला । मुलुकमा बेरोजगारी र मह.गी बढेर जनताको ढाड सेकिएको छ । तर प्रधानमन्त्री भने सरकार ढाल्ने प्रयास भइरहेको भनेर हल्ला फैलाउन सक्रिय छन् । जनता र विपक्षीको ध्यान मोड्न सजिलो हुने ठानेर नै उनले मुलुकको खास समस्यालाई मुखरित गरेका छैनन् । दुई तिहाईको सरकार ढाल्ने ताकत र गणित विपक्षसँग छैन । एमाले र कांग्रेस मिलेसम्म दुनियाँको कुनै शक्तिले पनि सरकार ढाल्न सक्तैन । तर पनि प्रधानमन्त्री सरकारको स्थायीत्वको बारेमा ताल न बेतालको भाषण गरिरहन्छन् । सरकारको फितलो र कमजोर कार्यक्षमता ढाकछोप गर्न मात्र यो हल्ला गरिएको हो ।
मुलुकमा रोजगारीको अवस्था कति दयनीय छ भन्ने एउटा घटनालाई स्मरण गरे प्रष्ट हुन्छ । केही दिन पहिले आठ लाखले रोजगारीका लागि आवेदन दिएकोमा आठ सयले मात्र वर्षको ६० दिनको रोजगारी पाएको भन्ने समाचार आएको थियो । यही क्रममा यो नयाँ र बलियो सरकार बनेपछिका बितेका पाँच महिनामा तीन लाख २५ हजार आठ सय नौ जनाले वैदेशिक रोजगारीका लागि देश छाडेका छन् ।
उक्त संख्या वैदेशिक रोजगार विभागमा रहेको अभिलेखअनुसारको हो । गएको वर्षको यही पाँच महिनामा दुई लाख ७४ हजार पाँच सय १७ जना वैदेशिक रोजगारीमा गएका थिए । यही तथ्याङ्कमा यो सरकारले पाँच महिना पूरा गरेको मंसिर महिनामा मात्रै ८४ हजार दुई सय २६ जना वैदेशिक रोजगारीमा गएको देखियो । गत वर्षको यही मंसिरमा ६८ हजार दुई सय एक जना वैदेशिक रोजगारीमा गएका थिए । यसको अर्थ हो गत वर्षको भन्दा यसरी वैदेशिक रोजगारीमा जानेहरूको संख्या झन्झन् बढिरहेको छ । यसले पनि के देखाउँछ भने सरकारले भन्ने गरेको समृद्धीको गफमा नागरिक तहमा विश्वास छैन । यदि नागरिकमा विश्वास जागृत भएको भए रोजगारीको लागि विदेश जानेको संख्यामा कमी आएको हुन्थ्यो ।
‘स्थायीत्वको लागि बलियो सरकार’ बनेपछिको पाँच महिनामा झण्डै चार लाखले वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् । यति छोटो समयमा यति ठूलो संख्याले देश छाड्नु भनेको सामान्य कुरा होइन । यसको अर्थ हो नेताहरूले भनिरहेका समृद्धिका कुरालाई आमनागरिकले पत्याइरहेका छैनन् । यस्ता प्रतिबद्धता केवल एकतर्फी र आधारविहीन भएर पनि पत्याइन नसकिएका हुन सक्छन् । त्यसैले सरकार हावादारी भाषणमा भन्दा ठोस र जनमुखी काम गरी जनताको जनविश्वास जित्नेतर्फ लाग्दा वास्तवमा समृद्धी र सुशासन कायम होला । सरकारको कार्यक्षमता प्रचारवाजीमा होइन परिणाममा देखिनु पर्दछ ।
प्रतिक्रिया