बेरोजगारीको अन्त्य नभएसम्म समाजवादको यात्रा असंभव

विहीबार, २५ पुस २०८१, १२ : १६

काठमाडौं - नेपालको श्रमशक्ति दिनुहँ हजारौको संख्यामा विदेश पलाएन भैरहेको छ । देश विकासको लागि चाहिने सक्रिय जनसंख्या मुलुक बाहिर जाने प्रवृत्ति बढेकोले कुल ग्राह्स्थ्य उत्पादनमा ठूलो ह्रास आइरहेको छ । यद्यपी नेपालको संविधान २०७२ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा राखेको छ । तर कुनै पनि सरकारले संविधानको मर्म अनुसारको कार्य गर्न सकेको देखिदैन । 

राज्यले राष्ट्रिय रोजगारी तथा श्रमको उपयोगमा भन्दा वैदेशिक रोजगारी या श्रम निर्यातलाई प्राथमिकतामा राख्दै आएको छ । नेताहरुले निर्वाचनको प्रचारमा बिना पैसा वैदेशिक रोजगारी भिसा प्राप्त गराइदिने आश्वासन बाँडेर भोट माग्छन् भने श्रम मन्त्रीले विदेशबाट धेरै भन्दा धेरै श्रम स्वीकृति गराउन सफल भएको निकै गर्वसाथ भाषण गर्दछन् । संविधानको आत्मा एकातिर छ भने सरकारको आत्मा अर्कोतिर भएको एउटा अन्तरविरोधी राजनीतिक परिदृश्यका बीचमा नेपाली समाज उभिन विवश हुँदै आएको छ ।

यस्तो अवस्था सिर्जना हुनुमा योजना तथा राष्ट्रिय दृष्टिकोण विहीन सरकार नै हो । आजसम्म गठन भएका सबै सरकारहरु नागरिकलाई मुलुकमै कसरी रोजागारी उपलब्ध गराउने भन्ने विषयमा ग्रम्भीर रहेका छैनन् । नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक समस्याको कारण नै बेरोजगारी बनेको छ । देश झन पछि झन परनिर्भरताको चक्रमा फस्दै गएको छ । बेरोजगारी समस्या कै कारण स्नातकोत्तरसम्मले एउटा पिएन, वनपाले तथा प्रहरी जवानका लागि भिडिइरहेको समाचारहरु आउँछन् ।

आन्तरिक अर्थतन्त्रलाई बढावा दिन कृषिमा व्यवसायीकरण जरुरी हुन्छ । हाम्रो अर्थतन्त्र नै कृषिमा आधारित छ । तर नेपालको कृषि क्षेत्र मध्यम प्रकारको अवस्थामा रहेको छ । निर्वाहमुखी अवस्थामा रहेको कृषिले पारिवारिक अर्थतन्त्रलाई धान्न सक्दैन । त्यसैले कृषि क्षेत्रमा रहेको अनुत्पादक जनशक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका सेवा क्षेत्रमा स्थानान्तरण गर्ने वैज्ञानिक कार्ययोजना निर्माण गर्ने कुरामा राज्य सक्षम देखिएको छैन । व्यापार तथा अकुत नाफामा मात्र बाँच्न चाहने दलाल पूँजीपति वर्गको स्वार्थको घेरालाई तोडेर अगाडि बढ्ने आँट भएको सरकार मुलुकले पाउन सकेन । त्यसैले मुलुकमा बेरोजगारी समस्यालगायतका कैयन अनेक समस्यालाई दुष्परिणाम ल्याएको छ ।

 बेरोजगारी समस्याको कारणमा नेपालको सामाजिक मनोविज्ञान पनि केही हदमा जिम्मेवार देखिन्छ । नेपाली समाजमा परनिर्भर मनोविज्ञान छ । विदेश नगएसम्म केही हुँदैन भन्ने मानसिकताले पनि देशभित्रको श्रमलाई हेयको दृष्टिकोणले हेर्ने प्रवृत्ति छ ।  त्यसैले सिकर्मी, डकर्मी, टेलर, बिजुली मिस्त्री, हजाम, चटपटेवाला, घुमन्ते व्यापारी, साइकल, मोटरसाइकल, ग्याँस चुल्हो मर्मत आदि क्षेत्रमा काम गर्ने अधिकांशहरु भारतीय नै भएको देखिन्छ । यी कामबाट नेपालको ठूलो धनराशी भारततिर गइरहेको तीतो यथार्थ पनि हाम्रा अगाडि छ । त्यसकारण सानो या ठूलो सबै कामको सम्मान गर्ने सामान्य पूँजीवादी दृष्टिकोणको समेत अभाव रहेको देखिन्छ ।

संविधानमा समाजवादको यात्रामा जाने व्यवस्था गरिएको छ । कुरा मात्रै समाजवादको गरेर हुँदैन । सरकारले भयावह बन्दै गएको बेरोजगारी समस्यालाई हल गर्दै जान वैज्ञानिक नीति तथा कार्यक्रम ल्याउनुपर्छ । साँच्चिकै समाजवादी अर्थतन्त्र निर्माण गर्ने हो भने बेरोजगारी समस्या समाधान गर्न सर्वत्र सचेत प्रयासको आवश्यकता छ ।

विहीबार, २५ पुस २०८१, १२ : १६

प्रतिक्रिया