काठमाडौं - अहिले मुलुकको अर्थतन्त्रमा मन्दी आएको छ । आर्थिक गतिविधिहरु सुस्ताएका छन् । ग्रामीण क्षेत्रमा त आर्थिक क्रियाकलापहरु शून्य प्राय : छन् । आर्थिक गतिविधि सुचारु नभएकोले अहिले बजारमा पैसा देखिँदैन । उद्योगधन्दा सञ्चालनमा छँदै छैनन् भने पनि हुन्छ । भएका पनि घाटामा छन् भनिन्छ । उनीहरूलाई सञ्चालन खर्च जोगाउन पनि मुस्किल छ । उद्योगहरुको उत्पादन क्षमता कमजोर भएकाले रोजगारी पनि खस्कँदै गएको छ । रोजगारी नभएपछि मानिसको हातमा पैसा हुने कुरा भएन । उद्योगधन्दाहरु राम्रोसँग नचल्दा उत्पादित वस्तुले बजार पाउन पनि सक्दैन । उद्योगहरुको अवस्था जर्जर भएपछि गाउँमा उत्पादित वस्तुले बजार पाउने कुरा पनि आएन । त्यसैले को अभाव भएपछि उत्पादनकर्ता निरुत्साहित हुन्छन् । अहिले मुलुकको अर्थतन्त्र यही अवस्थाबाट गुज्रिरहेको छ । देशैभरिको आर्थिक गतिविधि शिथिलजस्तै छ ।
यद्यपी हिउँदको रापिलो घाममा मानिसहरु मेला महोत्सवमा रमाउन थालेका छन् । देशभका विभिन्न भागमा आयोजना हुने साना–ठूला हाटबजारदेखि विभिन्न स्तरका मेला–महोत्सवले ग्रामीण अर्थतन्त्रलाई सामान्यरुपमा भए पनि चलायमान बनाउने काम गरिरहेका छन्। यस्ता मेलाहरुको आकर्षण पछिल्लो समयमा निकै बढ्न थालेको छ । स्थानीय उत्पादन, कला संस्कृति तथा पर्यटकीय महत्वका स्थानहरुको प्रचार प्रसारमा यस्था मेला महोत्सवहरु निकै प्रभावकारी मानिन थालेका छन् ।
साथै यस्ता मेला–महोत्सवले स्थानीय वस्तुको बजारीकरण र व्यापार प्रवद्र्धन गर्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुर्याउने तथा स्थानीय संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सहयोगी बनिरहेका हुन्छन् । मेला, महोत्सव र प्रदर्शनीहरूले मनोरञ्जन मात्रै दिँदैनन्, केही जान्ने, बुझ्ने र सिक्ने अवसरदेखि मुलुकको आर्थिक तथा सांस्कृतिक पक्षमा पनि विशेष महत्व राखेको पाइन्छ ।
नेपाल आफैमा गाउँ नै गाउँले भरिएको मुलुक हो । ग्रामीण अर्थतन्त्र नेपालीको एउटा जीवन पद्धति नै बनिसकेको छ । । ग्रामीण अर्थतन्त्रले विशिष्ट सामाजिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध विकास गरेको हुन्छ । त्यसैले यसको सामाजिक मूल्य निकै धेरै छ । ग्रामीण अर्थतन्त्रलाई विकसित र व्यवस्थित गर्न सकियो भने स्थानीय स्तरमै धेरै रोजगारीका अवसर सिर्जना हुन सक्छन् । मेला–महोत्सव, हाटबजार ग्रामीण अर्थतन्त्र चलायमान बनाउने बलिया माध्यम हुन् । त्यसैले त अहिले यस्ता कार्यक्रममा किसान, घरेलु उद्यमी, कलाकारदेखि मन्त्रीसमेतको व्यस्तता बढाइदिएको छ, जसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
पछिल्लो समय उद्योग व्यापार संगठनहरुले मात्र यस्ता मेला महोत्सवको आयोजना गरिरहेका छैनन् । विभिन्न सामुदायिक संस्थाहरु तथा पालिकाहरुले पनि स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र परम्परागत सीप तथा कलालाई प्रचार प्रसार गर्न पनि यस्ता महोत्सवहरु गर्न थालेका छन् । काठमाडौं महानगरले हाँडीगाउँमा हरेका शनिवार गर्ने खाना महोत्सवले लोकप्रियता हालि गर्दै गएको छ । जहाँ परम्परागत नेवारी परिकारहरुको प्रदर्शन तथा विक्री हुन्छ । त्यसैले यस प्रकारका महोत्सवहरु मौलिक परम्परा, मौलिक परिकार, स्थानीय जाति र समुदायविशेषमा लोकप्रिय खानाका विविध परिकारको स्वाद चाख्ने अवसर मात्रै होइन, तिनको संरक्षण र संवद्र्धनका लागि हौसला बढाउने काम पनि सहज माध्यम बनिरहेका हुन्छन् । स्थानीय उत्पादन, स्थानीय रोजगारी र स्थानीय अर्थतन्त्रको सुदृढतामा यस्ता मेला तथा महोत्सवले निकै महत्वपूर्ण टेवा पुर्याएको हुन्छ ।
प्रतिक्रिया