माओवादी नेताहरुलाई प्रश्न : जनयुद्ध हिंसा नभएको भए प्रचण्डले किन ५ हजारको जिम्मा लिए ?

आइतबार, २७ माघ २०८१, १४ : ४४

काठमाडौं- नेपालको राजनीतिमा लामो संघर्षबाट उदाएको दल नेकपा(माओवादी केन्द्र) छोटो समयमै निकै कमजोर अवस्थामा पुगेको छ । अनेकौं विभाजन र अस्थिर राजनीतिक चरित्रले विगतको ओज गुमाएको यस पार्टीमा तत्कालीन शीर्ष नेताहरु समेत छिन्नभिन्न भएका छन् । 

दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएर देशकै ठूलो दल बनेको माओवादी क्रमशः कमजोर भएर अहिले ३२ सिटमा खुम्चिएको छ । यसका शीर्ष नेताहरु कतिपयले कम्युनिष्ट विचारधारा नै परित्याग गर्दै लोकतान्त्रिक पार्टी निर्माणको प्रयत्न गरिरहेका छन् भने केहीले अन्य पार्टीमा राजनीतिक सक्रियता बढाएका छन् ।

ती मध्ये एमाले उपाध्यक्ष रहेका पूर्व माओवादी नेता रामबहादुर थापा बादलले केही दिन अघि जनयुद्ध बारे दिएको अभिव्यक्तिलाई लिएर अहिले माओवादी नेताहरु उनीविरुद्ध निकै आक्रामक ढंगले प्रस्तुत हुँदै आएका छन् । बादलले आफ्नै सहभागितामा सञ्चालित जनयुद्धलाई हिंसाको संज्ञा दिएका भन्दै उनीविरुद्ध माओवादी नेताहरु खनिएका छन् । उनीहरु बादल आफैंले सञ्चालन गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिएकाले गिरफ्तार गर्न समेत सरकारलाई गुहारेका छन् ।

माओवादी नेता रामप्रसाद सापकोटा दिपशीखाले बादललाई गिरफ्तार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूहरुले संगठित विद्रोह गरेको तर बादलले त्यसलाई हिंसा भनेकाले उनलाई पक्राउ गर्नुपर्ने दिपशीखाको जिकिर छ ।

दिपशीखाले लेखेका छन्, ‘पुर्व माओवादी नेता राम बहादुर थापा बादलले जनयुद्ध लाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ –तुरुन्त गिरफ्तार गरी आजिवन कारावास हालियोस् । किनभने उनले भनेको हिंसा उनी आफै पत्यक्ष संलग्न भएर गरेका हुन् । हामीले त जनयुद्ध गरेका हौं, त्यो न्याय र परिवर्तनका लागि वर्गसंघर्ष थियो ।’

बादलको अभिव्यक्तिलाई आफू अनुकुलतामा व्याख्या गर्दै माओवादी नेताहरुले आपत्ति जनाउनु उनले पार्टी छाडेको तुषका रुपमा समेत कतिपयले औंल्याएका छन् । बादलले युद्धको स्वरुप हिंसात्मक हुने आशयको अभिव्यक्ति दिएको र अनाहकमा माओवादी नेताहरु उनीविरुद्ध खनिनु कुनै तुक नरहेको घटनाक्रमले देखिन्छ । माओवादीका शीर्ष नेताहरु मध्ये बादल तत्कालीन जनयुद्धका एक योजनाकार हुन् । एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट ब्युँतिएपछि उनी एमालेमै रहेका थिए ।

जनयुद्ध हुँदै शान्तिप्रक्रियासम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयात्री बनेका उनी एमालेमै रहेपछि उनको आलोचना माओवादीहरुले गर्दै आएका छन् । उसो त २०६९सालमै प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा(माओवादी)बाट विभाजित भएर बनेको मोहन वैद्यको नेकपा माओवादीमा लागेका थिए । करिब चार वर्ष पछि फर्किएर प्रचण्डकै दलमा समाहित भएका उनी महासचिव समेत बनेका थिए । उनी अहिले एमालेको उपाध्यक्ष छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बारम्बार जनयुद्धलाई हिंसाको संज्ञा दिँदै आएका छन् । उनको सोही अभिव्यक्तिबारे आफ्नो धारणा प्रष्ट्याउँदै गर्दा बादलले जनयुद्धप्रति ओलीको धारणामा आफू सहमत रहेको बताएपछि उनको आलोचना सुरु भएको हो । माओवादी नेताहरुले उनलाई अनेकौ आरोप लगाउँदै चौतर्फी आक्रमण गर्न थालेका छन् । तर, आफ्नो पार्टीका अध्यक्षले दश वर्षे जनयुद्धको क्रममा हत्या भएका पाँच हजारको जिम्मा लिन्छु भन्ने सार्वजनिक उद्घोषप्रति उनीहरु बेखबर देखिएका छन् ।

प्रचण्डले केही वर्ष अघि सार्वजनिक कार्यक्रममै टुँडिखेलबाटै आफ्नो नेतृत्वमा सञ्चालित जनयुद्धका क्रममा मारिएका पाँच हजारको आफूले जिम्मा लिने बताएका थिए । 
मान्छे मारेको व्यक्तिगत रुपमै जिम्मा लिने अभिव्यक्ति सामान्य होइन् । एक जिम्मेवार पार्टीको नेताले सार्वजनिक स्थलमै यस्तो अभिव्यक्ति दिएपछि उनको पनि निकै आलोचना भएको थियो ।

अहिले सो घटना बिर्सेर माओवादी नेताहरुले जनयुद्धप्रति बादलको टिप्पणीलाई लिएर प्रश्न उठाएका छन् । जनयुद्धमा हिंसा भएर नै १७ हजारको निधन भएको हो । र, त्यही मध्ये पाँच हजारको जिम्मा प्रचण्डले लिने सार्वजनिक अभिव्यक्ति दिएकै हुन् । तर यस विषयलाई पूर्णतया नजरअन्दाज गर्दै माओवादी नेताहरु बादलको अभिव्यक्ति विरुद्ध  एकतर्फी रुपमा लागेका छन् । बादलले युद्धको चरित्र हिंसात्मक हुन्छ भन्ने आशयको अभिव्यक्ति दिनुभन्दा धेरै वर्ष अघि नै प्रचण्डले पाँच हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए । 

युद्ध कहिल्यै निशस्त्र हुँदैन, यसको चरित्र नै हिंसात्मक हुन्छ । तर हिंसा नियोजित हो या प्रतिरोध सोही आधारमा नै त्यसको को मापन गरि आवश्यकता र औचित्य पुष्टि गर्ने प्रयत्न गरिन्छ । यही सामान्य विषयमा समेत जानकारी नराखेर बादल विरुद्ध कुर्लिने माओवादी नेताहरुमाथि युद्ध सम्बन्धी सामान्य चेत नभएको भन्दै गम्भीर प्रश्न उठेको छ । यदि जनयुद्ध हिंसा नभएको भए त्यस क्रममा कसरी १७ हजार मान्छे मरे र त्यसमध्ये पाँच हजारको जिम्मा लिने प्रचण्डले किन उद्घोष गरे ?

पाँच हजारको जिम्मा लिने प्रचण्डको अभिव्यक्तिले द्वन्द्वपीडित परिवार थप आक्रान्त भएको थियो ।  उनले ती परिवारको भरणपोषणको जिम्मा लिने आशयले अभिव्यक्ति दिएका हुन् भने तीन पटक प्रधानमन्त्री हुँदा के गरे ? कसैको जिम्मा लिनु भनेको अभिभावकीय भूमिका निर्वाह गर्ने र उसलाई संरक्षकत्व प्रदान गर्ने भन्ने बुझिन्छ । तथापि त्यसतर्फ प्रचण्डले कहिल्यै अग्रसरता देखाएनन् । तर, सार्वजनिक मञ्चबाटै आवेगमा पाँच हजारको मात्रै जिम्मा लिने अभिव्यक्ति दिएर प्रचण्डले जनयुद्धका क्रममा मारिएका अन्यमाथि अवमूल्यन गरेका हुन् ।

यो वास्तविकतालाई नबुझेरै माओवादी नेताहरुले युद्धको चरित्र चित्रण गरेकै आधारमा बादलमाथि विषवमन गर्दै अनेकौं आक्षेप लगाइरहेका छन् । ती माओवादी नेताहरुले जनयुद्धकै उपज मारिएका पाँच हजारको जिम्मा लिने आफ्नै अध्यक्ष प्रचण्डको अभिव्यक्तिले युद्धको स्वरुप दर्शाइरहेको विषयमा किन अनभिज्ञता प्रकट गरिरहेका होलान ? यसले सबैलाई अचम्मित तुल्याएको छ ।

476176649_1165087008527399_7307089660146971467_n

आइतबार, २७ माघ २०८१, १४ : ४४

प्रतिक्रिया