काठमाडौं- नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका १२ जनामध्ये संक्षिप्त छनोट सूचीमा परेका पाँच जनाको अन्तवार्ता लिएर व्यावसायिक कार्ययोजना समेत प्रस्तुत गर्न लगाएर तीन जनालाई सरकार समक्ष सिफारिस गरिएको थियो ।
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अन्तवार्तासहित पाँचै जनाले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण समेत दिएका थिए । बीमा प्राधिकरणको संक्षिप्त छनोट सूचीमा परेका कमल प्रसाद रेग्मी, चिरञ्जिवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको अन्तर्वार्ता सहित प्राधिकरणको नेतृत्वमा पुगेपछि गर्ने व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण समेत सिफारिस समितिले लिइएको थियो ।
उनीहरु पाँचै जनामध्ये बीमा प्राधिकरणकै कार्यकारी निर्देशक रहेका कमल प्रसाद रेग्मीबाहेक अन्य चार जनाको बीमा ऐन २०७९, ले तोकेको योग्यताको मापदण्ड विपरीत अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीमा सामेल गराइएको थियो भने नियुक्ति पनि सो विपरीत शरद ओझालाई गरिएको छ ।
यो पनि
बीमा ऐन, २०७९को दफा(८)को उपदफा(१)को(क)का अनुसार नेपाल बीमा प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि ‘बीमा, मौद्रिक, बंैिकङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जन प्रशासन, तथ्यांक शास्त्र, गणित अर्थशास्त्र वा कानून विषयममा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हाँसिल गरी सम्वन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष को उच्च व्यवस्थापकिय कार्यमा अनुभव हासिल गरेको हुनुपर्ने’ उल्लेख छ ।
यी मध्ये चिरञ्जीवी चापागाईं उल्लेखित कुनै पनि दायराभित्र पर्दैनन् । अध्यक्षका लागि तय गरिएको योग्यताको मादण्ड अनुसार उनको पाँच वर्षे कार्यानुभव कहीँकतै देखिँदैन । उनी यसअघि साविकको बीमा समिति(हालको बीमा प्राधिकरण)को अध्यक्ष हुन् । त्यसअघि नेपाल राष्ट्र बैंकको उपनिर्देशक पदमा कार्यरत थिए । त्यहीबाट चार वर्षको लागि बीमा समितिको अध्यक्षमा नियुक्त भएका उनी त्यहाँ चार वर्ष बिताएर बाहिरिएका थिए । प्राधिकरणको अध्यक्ष पदमा पाँच वर्षे कार्यानुभव भनेर प्रष्टताका साथ उल्लेख गरिएको छ । तर चापागाईं भने चार वर्षमै बाहिरिएका थिए ।
साथै, उनले धितोपत्र बोर्डको अध्यक्षमा दरखास्त दिएर पाँच जनाको सूचीमा छनोट भएका थिए । तर, अन्तर्वार्तामा नगई सरकारविरुद्ध असन्तुष्टि पोखेर मुद्दामामिलाको प्रक्रियामा गएका थिए । उनै चापागाईंलाई अध्यक्षको नियुक्तिका लागि गठित सिफारिस समितिले कसरी योग्य ठानेर अन्तर्वार्तामा सहभागी गरायो भन्ने विषय अहिले सर्वत्र चर्चा भइरहेको छ ।
यो पनि
बीमा प्राधिकरणको अध्यक्षमा मापदण्ड विपरीतका आवेदन स्वीकृत, योग्यता नपुगेकालाई नियुक्त गर्ने चलखेल
अर्का अन्तर्वार्ता दिएर कार्ययोजना प्रस्तुत गरी सिफारिसमा परेका दामोदर बसौला पनि निर्धारित योग्यताको मापदण्डभित्र परेका थिएनन् । उनी स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा ४ वर्षका लागि नियुक्त भए पनि बीचैमा नेपाल सरकारले अवकाश दिएको थियो ।
त्यो भन्दा अघि उनी बीमा कम्पनीको एजेन्ट रहेका थिए । बीमा ऐनले तोकेको योग्यता अनुसार बीमा क्षेत्रमा पाँच वर्ष काम गरेको हुनुपर्छ । तर बसौलालाई ऐनले तोकेको योग्यता विपरीत अन्तर्वार्तामा सामेल गराएर सिफारिस गरिएको थियो ।
यस्तै अर्का संक्षिप्त छनोट सूचीमा परेर अन्तर्वातामा सामेल भएर कार्ययोजना प्रस्तुत गरी सिफारिस गरिएका रामशरण पुडासैनीसहित स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौला र पत्रकार शरद ओझालाई नेपाल सरकार समक्ष सिफारिस गरेको थियो ।
यी मध्ये पुडासैनी नेपाल सरकरको सचिव पदमा काम गरेका व्यक्ति हुन् । उनी पनि बीमा क्षेत्रमा पाँच वर्ष काम गरेको बीमा ऐनले निर्धारण गरेको योग्यताको मापदण्ड भित्र पर्दैनन् ।
उनी अर्थमन्त्रालयको सचिवबाट अवकाश भए लगत्तै सोही मन्त्रालय अन्तर्गतकै सार्वजनिक संस्थान राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका थिए । अहिले उनी कृषि विकास बैंकको अध्यक्षमा पदासिन छन् । अवकाश भएको पाँच वर्ष नपुग्दै नेपाल सरकारले कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका उनीे हाल त्यही कार्यरत छन्।
बहालवाला व्यक्तिले अन्यत्र आवेदन दिँदा नियुक्ति दिने निकायसँग स्वीकृत लिनुपर्ने कानुनी प्रावधान छ । तर, उनले विद्यमान कानुनी प्रावधानलाई चुनौती दिँदै सरकारी स्वामित्वको एक संस्थानको पदमा बहाल रहेर अन्यत्र नियुक्तिका लागि छनोट सूचीमा परेका छन् । पुडासैनीलाई कुन आधारमा उच्च नैतिक चरित्र भएको मानेर कसरी अन्तवार्ताका लागि छनोट गरियो रु अहिले चौतर्फी यिनै प्रश्न उठेको छ ।
बीमा प्राधिकरणले सञ्चालक समितिको अध्यक्षका लागि तय गरेको योग्यताको मापदण्ड विपरित सरकारकै एक सार्वजनिक संस्थानमा नियुक्ति लिएका उनले अर्कोमा आवेदन दिएका हुन् । यसरी अर्थमन्त्रालय अन्तर्गतकै सार्वजनिक संस्थान बीमा प्राधिकरणको अध्यक्ष पदका लागि संक्षिप्त सूचीमा छनोट गरिँदा तोकिएको योग्यताको मापदण्ड विपरीत भएको प्रष्टै हुन्छ ।
अर्का कार्ययोजना प्रस्तुत गर्दै अन्तर्वार्तामा सामेल भएर बीमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका शरद ओझा पत्रकार हुन् । उनले क्लिकमाण्डु नामक अनलाईन सञ्चालन गरेका छन् । उनी पनि निर्धारित योग्यताभित्र नपरे पनि बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उनलाई सिफारिस गरी नियुक्ति समेत गरिसकेको छ ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवाको निकटस्थ देखाएर बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति पाउन सफल भएका छन् । ओझाका बुबा देउवाका गुरु हुन् । सोही सम्बन्ध मार्फत देउवा रिझाएर बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा नियुक्ति लिएका छन् । यसबाहेक उनको अन्य कुनै पनि तोकिएको योग्यता पुग्दैन ।
अन्तर्वाता दिएका यी पाँच जनामध्ये तीन जनालाई सिफारिस समितिले नेपाल सरकार समक्ष सिफारिस गरेपछि सोमबार मन्त्रिपरिषद् बैठकले पत्रकार ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
प्रतिक्रिया