गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै

शनिबार, ३० चैत्र २०८१, १५ : ५७

काठमाडौं - हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी काहिरो जाँदैछ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुनेछ ।

अधिकारीले भने, “हामी आशा गर्छौं कि यो बैठकले युद्ध अन्त्य गर्न, आक्रमण रोक्न र गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न सहमति हासिल गर्ने दिशामा प्रगति ल्याउनेछ ।” उनी सार्वजनिक रूपमा बोल्न अधिकार प्राप्त नभएकाले नाम नखुलाउने सर्तमा जानकारी दिए।

प्रतिनिधिमण्डलको नेतृत्व हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गर्ने जानकारी दिइएको छ । उनका अनुसार हालसम्म हमासले कुनै नयाँ औपचारिक युद्धविराम प्रस्ताव प्राप्त गरेको छैन, यद्यपि इजरायली सञ्चारमाध्यमहरूले इजरायल र इजिप्टबीच प्रस्ताव आदानप्रदान भएको दाबी गरेका छन् ।

यद्यपि, अधिकारीले इजिप्टका मध्यस्थकर्तासँग नियमित सम्पर्क र छलफल जारी रहेको बताए । साथै, उहाँले इजरायलले गाजामा सैन्य आक्रमण अझै पनि जारी राखेको आरोप पनि लगाएका छन् ।
 

शनिबार, ३० चैत्र २०८१, १५ : ५७

प्रतिक्रिया