आफ्नो रक्षाकवच रहेका जनार्दनसँग प्रचण्डको किन बढ्यो टकराव ?

विहीबार, १५ साउन २०८२, १२ : १९

काठमाडौं– अहिले प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) भित्रको अन्तरसंघर्ष सतहमा आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सार्वजनिक मञ्चबाटै एकापसमा आरोप प्रत्यारोपमा उत्रिएपछि माओवादीका नेता कार्यकर्ता तहसम्म यो रोग बल्झिन थालेको छ । 

अहिले कार्यकर्ता तहदेखि माथि सम्म कित्ताबन्दी सुरु भएको छ भने कहीँकतै त एकअर्काविरुद्ध आक्रमण समेत हुन थालेको छ । यसले ईमान्दार कार्यकर्ताहरु फेरि पार्टी विभाजन हुन्छ कि भनेर चिन्तित देखिएका छन । यो अन्तरविरोधमा हिजो पार्टी विभाजन गरि प्रचण्डलाई क्रान्ति विरोधी भन्दै बैद्य, बाबुरामतिर लागेका केही नेताहरु र विभिन्न समयमा प्रचण्डको सचिवालय वरिपरि रहेर लाभको पदमा रहेकाहरु जनार्दनविरुद्ध बढी देखिन्छन् । 

त्यस्तै विगतमा जनार्दनको बैशाखी टेकेर नेता बनेकाहरु नै अहिले जनार्दनको विरुद्धमा देखिएका छन् । जनार्दनको पक्षमा उनैले सुरक्षा र अवसर दिएका युवा बिद्यार्थीका नेताहरु देखिएका छन् । यता,अधिकांश ईमान्दार नेता कार्यकर्ता भने मौन छन् । कम्युनिष्ट पार्टीभित्र अन्तरविरोध बढेपछि विभाजित हुँदै आएको दृष्टान्त छ । यो बुझेका आम मानिसहरु समेत माओवादी फेरि विभाजित हुने अड्कल काटिरहेका छन्।

०५१ सालमा पुनर्गठन भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) अहिलेसम्म सानाठूला गरि ८ टुक्रामा विभाजित छ । तीमध्ये मोहन बैद्य, बाबुराम भट्टराई र राम बहादुर थापा बादलको बहिर्गमनलाई मुख्य मानिन्छ । विभाजनक्रमले देशको शक्तिशाली रहेको माओवादी अहिले गठबन्धन बाट ३२ सिटमा खुम्चिएको छ। फेरि अहिले जारी अन्तरविरोधलाई नजिकबाट नियालेका ईमान्दार नेता कार्यकर्ताले सम्भावित दुर्घटनाको नजरले हेरेर चिन्तित देखिन्छन्। आखिर के हो त अहिले माओवादी भित्रको अन्तरविरोध ? माओवादी आन्दोलनमा सुरुदेखि अहिलेसम्म निरन्तर प्रचण्डको रक्षाकवच बनेका उपमहासचिव जनर्दन शर्मासँग एकाएक प्रचण्डको टकराव किन भयो ? 

पार्टी विभाजन हुँदै गएर साँघुरिँदै जाँदा पनि रुकुम र रोल्पा को जनमत सापेक्षित जोगाएका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले आफूलाई प्रचण्ड पछिको नेतृत्व दाबी गरिरहेका थिए । ७८ पुसमा सम्पन्न पार्टीको आठौं महाधिवेशनमा अध्यक्षमा सर्वसम्मत भएका प्रचण्ड पछिको प्रमुख कार्यकारी पद महासचिवमा जनार्दन र वर्षमान दुबैको दाबी रहनु स्वाभाविक थियो । उनीहरु सके सम्म प्रचण्डको सहमतिमै नभए निर्वाचनबाटै भए पनि माहासचिव बन्ने अपेक्षा गरिरहेका थिए । 

तर, राजनीतिका चतुर खेलाडी प्रचण्डले संगठनात्मक पकड भएका, निरन्तर आफूलाई साथ दिएका र योगदानका हिसावले अब्बल रहेका यी दुई पात्र भिडाएर अन्ततः आफ्नो एसम्यान देव गुरुङलाई महासचिव बनाएपछि दुबै प्रचण्डसँग टाढिएका थिए । फलतः वर्षमान र जनार्दनको मोर्चा बन्न पुग्यो । त्यसैको विकसित रुप अहिले जनार्दनले पार्टीमा विधिको बिषय उठाएर अन्तरविरोध सुरु भएको हो । तथापि, वर्षमान भने आफ्नो पद जोगाएर सुरक्षित हुन प्रचण्डकै कित्तामा पुगेका छन् । 

यस बाहेक शान्तिप्रक्रियामा आएयता निरन्तर विवादको बिचबाट गुज्रिएको माओबादीको अन्तरविरोधको चुरो कुरा भने पार्टीभित्रको निषेधकारी प्रवृत्तिकै उपज हो । आफू अगाडिको नेतृत्वलाई पन्छाउन उचाल्ने र मिल्नै नसक्ने बनाएर छोड्दिएर आफ्नो पद सुरक्षित गर्ने प्रवृत्ति माओवादी नेताहरुमा व्याप्त छ । 

भक्तपुरको खरिपाटिमा भएको बिस्तारित बैठकमा पहिलो पटक  तत्कालीन बरिष्ठ नेता मोहन बैद्यले अलग दस्ताबेज प्रस्तुत गरेपछि प्रचण्ड झस्किएका थिए । उनले पार्टीको ईमान्दार पंक्तिको ठूलो हिस्सा बैद्यको पक्षमा देखिए पछि तुरुन्तै नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्रसँग एकता गरेर आफूलाई बहुमत त देखाए तर यसले पार्टी भित्रको अन्तरविरोध हल गरेन बरु झनै चर्कियो। 

त्यसको उत्कर्ष माओबादिको चर्चित बैठक जसलाई पालुङटारमा बैठक भनेर चिनिन्छ । गोरखाको पालुङटारमा बसेको बैठकपछि लाइन संघर्ष तीन लाइनमा परिणत भयो । उक्त बैठकमा प्रचण्ड, बैद्य र बाबुरामका तीनवटा दस्ताबेज प्रस्तुत भए । त्यसले माथिदेखि तल सम्म तीनधारमा पार्टी विभक्त भयो। त्यतिबेलासम्म माओवादीमा मुख्य टकराव प्रचण्ड, बैद्य र बाबुरामबिच थियो र ती बैचारिक समूह पनि थिए । पालुङटार बैठक पछि भने माओवादीभित्र अराजनीतिक  दाउपेचको खेल सुरु भएको देखिन्छ । त्यहीबाट आफू अगाडिको नेता लखेटेर अघि बढ्ने खेल सुरु हुन पुग्यो । त्यस पछि राजनीतिक रुपमा विपरित ध्रुवमा रहेका बैद्य, बाबुराम, नारायणकाजी, रामबहादुर थापा बादलहरुको चर्चित धोबीघाट बैठक भयो ।

यो बैठकले करिव करिव प्रचण्ड लाई अल्पमतमा पुर्याएको थियो । ठिक त्यही समयमा वर्षमान पुन को पहलमा उनीसहित जनार्दन, नन्दकिशोर पुन ‘पासाङ’ र चन्द्र खनाल ‘बलदेब’सहितका चारजना डेपुटी कमान्डरहरुले प्रचण्डलाई साथ दिन कस्सिएर लागे भने प्रचण्ड बाबुरामलाई प्रधानमन्त्री बनाउन सहमत भए । चारै जना डेपुटी कमाण्डरहरु र अन्तिममा बाबुरामको समेत साथ पाए पछि प्रचण्डको नेतृत्व जोगियो भने बैद्यहरुले पार्टी विभाजन गरे । यसले माओवादी आन्दोलनमा ठूलो क्षति पुर्यायो । तर, पार्टी  नेतृत्वको दौडमा निकै तल रहेका चारजना डेपुटी कमाण्डरहरु भने पार्टीको वरियतामा माथि पुगे । 

यसरी माओवादी भित्रको शक्ति सन्तुलनमा व्यापक हेरफेर आयो । राजनीतिका चतुर खेलाडी वर्षमान पुन एकाएक बाबुरामको नजिक पुगेर बाबुराम प्रधानमन्त्री हुँदा उनकै प्रस्तावमा अर्थ मन्त्री समेत बने ।  त्यस ताका बाबुरामले आफ्ना निकटस्थसँग वर्षमान पुन आफ्नो विश्वासपात्र भएको र आफू पछिको नेता उनै भएको बताउने गर्दथे । तथापि, बाबुरामसँग अति नजिक देखिएका वर्षमान बाबुरामले पार्टी छाड्दा भने साथ दिएनन् । बरु बाबुराम बाहिरिएपछि पार्टीमा स्वतः एक तह माथि पुगे । बाबुरामले पार्टी छाडेपछि पनि उनी बाबुरामलाई भेट्दा ‘डा साब तपाईंको ठिक छ, म हिम्मत गर्न सकिनँ’ भन्ने गरेको जानकारहरु बताउँछन् । 

यसरी बैद्य समूह र बाबुराम को बहिर्गमन अनि पोष्ट बहादुर बोगटीको निधन पछि युद्धको लिगेसीका हिसावले वर्षमान र जनार्दनहरुको अगाडि प्रचण्ड पछि कृष्णबहादुर महरा मात्र रहेका थिए । आकस्मिक र अकल्पनिय रुपमा महरा विभिन्न काण्डमा मुछिएपछि सांगठनिकरुपमा भावी उत्तराधिकारी वर्षमान र जनार्दन नै देखिए ।  एकताबाट आएका अरु सिनियर भए पनि सबै कोणबाट बर्चस्वका हिसावले यी दुई मात्र सक्षम थिए । आठौं महाधिवेशनमा यी दुबैले महासचिवमा दाबी गरे, जो स्वभाबिक पनि थियो । तर प्रचण्डले दुबैलाई छाडेर एसम्यान देव गुरुङलाई माहासचिव बनाए पछि यी दुबै नेतृत्वसँग टाढिए । 

वर्षमानकै पहलमा उनीसहित जनार्दन एकताबद्ध हुने भन्दै पटक पटक बैठक बसे भने वर्षमान पत्नी ओनसरीले त सार्वजनिक रुपमै पार्टी नेतृत्वलाई  मर्ने बेला घाट सम्म पद लिएर जाने प्रवृत्ति बढेको भन्दै प्रचण्डलाई कटाक्ष गर्ने गर्थिन् । पार्टीको तल्लै तह सम्म वर्षमान र जनार्दनको मोर्चाबन्दी समेत भएको थियो । त्यस समय माओवादीमा अर्को धोबीघाट बैठक दाहोरिने चर्चा निकै चुलिएको थियो । खुला स्वभावका जनार्दनले आफूलाई लागेको प्रष्ट ढंगले बोल्ने गर्छन् तर वर्षमान भने निकै कुटिल र चातुर्य छन् । उनको कूटनीतिक चाल कसैले थाहा पाउँदैन । 

यी दुबैलाई नजिकबाट बुझेका प्रचण्डले विप्लवसँग एकता गरेर साईजमा राख्ने प्रयास मात्र गरेनन्, यिनैले एकता रोकेको हल्ला कार्यकर्ता तहसम्मै पुर्याए । यो बुझेपछि आफू एकताको पक्षपाती भएको बताउँदै जनार्दनले विप्लवसँग छलफल अगाडि बढाएर पार्टीमा पनि बिधि स्थापित गर्ने सबै तहमा प्रत्यक्ष निर्वाचनको बिधान बनाउन लिखित प्रस्ताव समेत राखे । जब जनार्दनले वर्षमानसँगको सहकार्य अनुसार बिषय अगाडि बढाए क्रमशः वर्षमान र जनार्दनबाट टाढा हुँदै गए र अहिले जनार्दनको सबै भन्दा आलोचक उनै वर्षमान बनेका छन् । 

माओवादीभित्रका एकथरि मान्छे जसले बैद्य र बाबुरामलाई पार्टीबाट निकाल्न मरिहत्ते गरे, उनीहरुले नै महराको राजनीतिक भविष्य समाप्त पारे । त्यसैगरी जनार्दनलाई लखेट्न अहिले त्यही टिम उद्यत छ, जो पार्टीमा सबै ब्यवधान पन्छाएर आफू निर्विकल्प बन्न चाहान्छ । यस्तो षड्यन्त्र जनार्दन  र प्रचण्ड दुबैले बुझ्न जरुरी रहेको माओवादी पार्टीका जानकारहरु बताउँछन् ।

अन्यथा, माओवादी आन्दोलनले अर्को ठूलो धक्का खाने निश्चित छ । त्यसकारण अहिले आम पार्टी पंक्तिको चाहना अनुसार पार्टीलाई विभाजन होइन, ध्रुबीकरण गर्दै बृहत् आन्दोलन निर्माण गर्न जनार्दन लाग्नुपर्दछ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार विशेष महाधिवेशनको मिती तय गरी पार्टीभित्र उठेका सबै विषय आन्तरिक छलफल गर्दै विधि निर्माण र पार्टी रुपान्तरणमा जानुको विकल्प नरहेको तल्लो तहका माओवादी नेता कार्यकर्ताहरुको धारणा छ । - उदयपुर (हालः मलेसिया)

 
 
 
 
 
 
 
 
विहीबार, १५ साउन २०८२, १२ : १९

प्रतिक्रिया