टिप्पणी

नेतृत्वलाई ‘देवत्वकरण’ गर्ने प्रवृत्ति चाकडी कि सैद्धान्तिक त्रुटी ?

आइतबार, १८ साउन २०८२, १४ : २०

काठमाडौं - सबै कम्युनिष्ट पार्टीहरुमा पहिले पहिले पूँजीवादीहरु तानाशाही हुन्छन् र पूँजीवादी पार्टीमा नेतृत्वका बिरुद्ध कुनै पनि आलोचना गर्ने स्वतन्त्रता हुँदैन भन्ने प्रशिक्षण गरिन्थ्यो । नेपालको सन्दर्भमा भने यो भनाइ त्यति सान्दर्भिक देखिएको छैन । गैर कम्युनिष्ट पार्टीहरुमा बरु नेताहरुको बिरुद्ध आलोचना गर्ने प्रशस्त छुट देखिन्छ । शेर बहादुर देउवाको आलोचना गरेको कारण कोही कांग्रेसको नेता कार्यकर्ताले पार्टी छोड्नु परेको छैन । न त कसैले स्पष्टिकरण नै दिनुपरेको छ । उनीहरुको पार्टीमा चलेको दुई लाइन संघर्ष कम्युनिष्टहरुको भन्दा धेरै मैत्रीपूर्ण देखिन्छ । कांग्रेस कार्यकर्ता र नेताहरु देउवालाई देवता जस्तो पुजेको पनि देखिंदैन । बरु उनीहरु विवाद र अन्तर संघर्षलाई ‘प्रजातान्त्रिक पार्टीको सामान्य प्रक्रिया’ भनेर पन्छाउने गर्दछन् । 

तर कम्युनिष्ट पार्टीहरुमा यो भन्दा भिन्नै परिस्थिति छ । एमालेको उपाध्यक्षसम्म भएको भिम रावलको राजनीतिक जीवन नै समाप्त पारिएको छ । उनको सबैभन्दा ठूलो ‘अपराध’ पार्टी अध्यक्ष केपी ओलीको आलोचना गर्नु नै थियो । त्यो पनि पार्टी हीतकै लागि उनले भाटभटेनी काण्डमा आफ्नो मत राखेका थिए । त्यसबारे बोल्ने कैयौंलाई स्पष्टिकरण सोधियो भने कतिपयलाई भिम रावल बनाउने धम्कि दिइयो । अहिले पनि एमालेमा आलोचनाको कुनै स्थान छैन । ओलीलाई ’देवता’  मान्नेहरु मात्र त्यहाँ सुरक्षित छन् । ओलीबिनाको एमाले कल्पना पनि गर्न नसकिने भाष्य निर्माण गरिएको छ । एउटा राजनीतिक दल त्यो पनि कम्युनिष्ट नामधारी, मा यस्तो धारणा कतिसम्म जायज हो ? के ओली अमर छन् ? के उनीपछि एमाले पनि सकिन्छ ? मदन भण्डारीको अवसानपछि पनि त एमाले रहेको छ नि ? 

त्यस्तै, एमालेपछिको अर्को ठुलो पार्टी माओवादीमा पनि ओली प्रवृत्ति मौलाएको छ । त्यहाँ नेतृत्व परिवर्तनको आवाज भुसको आगो जसरी फैलिएको छ । तर उक्त आवाजलाई दबाउन त्यहाँ पनि अध्यक्ष प्रचण्डलाई ‘देवता’ का रुपमा प्रस्तुत गर्न थालिएको छ । प्रचण्डपछि माओवादी पार्टी पनि सती नै जान्छ जस्तो गरेर उनका नन्दी भिरङ्गीहरु प्रचण्डबिनाको माओवादी संभव छैन भनिरहेका छन् । यो सरासर दासप्रथाको पुनरागमन हो । दास बन्न स्विकार्ने लोभीपापीहरुको क्रन्दनले आज पेरिसडाँडा र खुमलटारमा बसिनसक्नु छ । यस्तो प्रवृत्ति अन्य साना कम्युनिष्ट पार्टीहरुमा पनि विद्यमान छ । कम्युनिष्ट पार्टीहरुमा देखिएको यो प्रवृत्ति चाकडी मात्र हो कि कम्युनिष्ट सिद्धान्तकै त्रुटी हो भन्ने बारेमा पनि सोच्न जरुरी भैसकेको छ । संसारका सबै कम्युनिष्टहरुले माक्र्सवादले व्याख्या गरेको द्वन्द्वात्मक भौतिकवादलाई स्विकार्ने गर्दछन् । यद्यपी माक्र्सवादका अन्य प्रस्थापनाहरु पनि उनीहरुका मार्गदर्शक सिद्धान्त हुन । तर द्वन्द्वात्मक भौतिकवाद सबैभन्दा महत्वपूर्ण सिद्धान्त हो । जसले जीवन र जगतको व्याख्या नै नयाँ ढंगले गर्दछ । चेतनाभन्दा पदार्थ प्रधान हो भन्ने भौतिकवादी मान्यता हो । यसको सामान्य अर्थ भौतिक वस्तुको अवसान अवश्यमभावि छ । पुरानोलाई नयाँले विस्थापित गर्दछ भन्ने द्वन्द्ववादको प्रमुख नियम हो । साथै विपरित तत्वहरुको बीचमा एकता र संघर्ष पनि भैरहन्छ । उक्त प्रक्रियामा एकता स्थायी र संघर्ष अस्थायी हुने गर्दछ । राजनीतिक दल, सामाजिक संस्था र समग्र समाज नै यो प्रक्रियाभन्दा बाहिर छैन भन्ने कम्युनिष्टहरुको बुझाइ हो । त्यसैले समाज परिवर्तनशील छ भनिएको हो । विचार, दर्शन र सिद्धान्तमा द्वन्द्ववादलाई स्विकार्ने तर पार्टीमा स्विकार नगर्ने प्रवृत्ति आजका नेताहरुमा देखिएको छ । जसको कारण पार्टीका मुख्य नेताहरु नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । उनीहरु आफ्ना दास प्रवृत्तिका कार्यकर्ताहरुको जयजयकारबाट मख्ख पर्दै आफूलाई साँच्चै देवता नै ठान्न थालेका छन् । यो प्रवृत्ति विश्व कम्युनिष्ट आन्दोलनमा पनि देखिएकै हो । जुन प्रवृत्ति कम्युनिष्ट आन्दोलनकै लागि आत्मघाती बन्यो । सोभियतसंघमा पनि यो प्रवृत्ति देखियो र यसैले पार्टीलाई पनि समाप्त पारिदियो । चीनमा पनि नेतृत्व हस्तान्तरणको विषय सहज रहेन । जसले गर्दा पार्टी जीवनमा ठूला ठूला दुघर्टनाहरु देखापरे । 

पछिल्लो समय माओवादी केन्द्रमा देखिएको विवाद पनि यसबाट अछुतो छैन । एउटा व्यक्ति झण्डै चार दशकसम्म नेतृत्वमा रहनु र केही झुण्डले ‘वादशाहको नयाँ लुगा’ कथामा झैं नेतृत्वको गुणगाण गाइरहनु आजको सभ्य दुनियाँमा सुहाउने कुुरा होइन । के राजनीतिक दलहरु कुनै नेता विशेषका निजी कम्पनि हुन र ? दलहरु त हजारौं कार्यकर्ताको त्याग समर्पण र बलिदानले बनेका सामाजिक संस्था हैनन र ? मृत्यशैयासम्मै पदमा रहिरहने लालचले भावि पुस्तालाई कस्तो सन्देश देला ? जेन जी पुस्ताले पनि समाजमा आफ्नो स्थान र जिम्मेवारी खोजिरहेको अवस्थामा यस खालका स्तुतिवादी नेता कार्यकर्ताहरुको उपादेयताको बारेमा प्रशस्त प्रश्नहरु उठिसकेका छन् ।    

 
आइतबार, १८ साउन २०८२, १४ : २०

प्रतिक्रिया