टिप्पणी

पासाङलाई प्रश्नः जनार्दन र विप्लव कसरी भए अतिवादी ?

सोमबार, १९ साउन २०८२, १५ : १९

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादीमा पासाङ भनेर चिनिन्छ । उनी युद्धकालमा युद्ध कमाण्डर थिए । तुलनात्मक रुपमा उनी अन्य माओवादी कमाण्डरभन्दा सालीन र भद्र मानिन्थे । रोल्पामा जन्मेर नेपालको उपराष्ट्रपति जस्तो पदमा पुग्नुमा उनको आफ्नै पनि क्षमता र योगदान रहेको कुरामा शंका छैन ।  तर पासाङले आफ्नो गौरवपूर्ण इतिहास जोगाउन सक्छन कि सक्तैनन् भन्ने उनको सहयोद्धा र रोल्पाली जनतालाई जनतालाई लागेकै थियो होला । उनको जीवनमा पनि धेरै उतार चढावहरु आए । राष्ट्रको साझा अभिभावक भैसकेको व्यक्ति अन्ततः एउटा पार्टीको कार्यकर्ता बन्न तयार भए । यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा होला । तर उनीभित्र रहेको प्रवृत्ति भने यसबाट काफी उजागर भएको छ । 

कमाण्डर रहँदा होस् या उपराष्ट्रपति, उनी कहिल्यै विवादमा आएनन् । उनीप्रति आम नागरिकको बेग्लै प्रकारको सम्मान थियो । कालान्तरमा उनले आफूभित्र रहेको लोभ, लालच र सत्तामोह देखाइछाडे । हुन त उनी पनि सामान्य मानिस नै हुन । मानवीय प्रवृत्तिबाट बच्न सक्ने कुरा त भएन । आम मानिस जस्तै सम्पत्ति मोह, पदलोलुपता र महत्वाकांक्षा  पनि पासाङमा पनि देखिए । उनी व्यक्तिगत रुपमा कति संलग्न भए त्यो त समयक्रममा देखिएला तर उनका छोराहरु र सिंगो सचिवालय नै सुन तस्करी लगायतका धन्दामा लागेको समाचार अझै सेलाएको छैन । तथ्यहरुले यी समाचारहरुलाई सत्य बताइरहेका छन् ।

उनी जुन समाज र पृष्ठभूमिबाट आए त्यो यति छिटै भुल्लान् भन्ने बिरलै मानिसहरुलाई लागेको थियो होला । दहचोकमा बनेको उनको दसौं करोडको दरबारले रोल्पाली जनतालाई गिज्याइरहेको होला । भोली तिनै जनताले त्यत्रो दरवार बनाउने स्रोत के हो भनेर खोज्ने दिन पनि नआउला भन्न सकिन्न । पासाङ जसहले पनि चर्चामा आइरहने नेता पनि हुन । अहिले उनको चर्चाको कारण अलि फरक छ । स्थायी समितिको बैठकमा उनले विप्लव र पार्टी उपमहासचिव जनार्दन शर्मा अतिवादी भएको भनेर गरेको  टिप्पणीले फेरि उनलाई विवादमा तानेको छ ।  

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा पुनले अतिवादी प्रवृत्तिले पार्टीलाई समस्यामा पारेको बताएका हुन्। पासाङको उक्त टिप्पणीको खण्डण गर्दै नेकपाका नेता सुदर्शनले भनेका छन्, ‘हामी नन्द किशोर पुन ‘पासाङ’ को यो भनाईलाई खारेज गर्दछौं । पासाङजी तपाईले विप्लव र जनार्दन शर्मा प्रभाकरलाई एउटै डालोमा हेर्ने तपाईको आँखामा नै ठूलो भुल छ । तपाई सधैं प्रचण्डको गुलामी गरेर उपराष्ट्रपति पाउनुभयो । अहिले तपाईको प्रचण्डप्रतिको गुलामी अब अर्कोपटक राष्ट्रपति भइला भन्ने होला बढीमा ।’

उपराष्ट्रपति भएर पासाङले आफ्नो गाउँमा एउटा सुविधाजनक बाटोसमेत बनाउन नसकेको भनेर रोल्पा राङ्सीका जनताहरुले भनिराखेको पनि उनले स्मरण गराएका छन् । तर, पासाङले काठमाडौंको दहचोकमा दशौं करोड पर्ने विशाल कम्पाउण्डसहितको भव्य महल बनाएको पनि उनको दाबी छ ।

सुदर्शन यतिमै रोकिंदैनन् । पासाङले एउटा छोरालाई तस्करी गर्न लगाएर काठमाडौंमा तीन–चारवटा घर जोड्न लगाएको र अर्को छोरालाई अवैध सुन बेच्न लगाएर पैसाका लागि जे गर्न पनि छुट दिएको उनको आरोप छ । जनार्दन शर्माको बारेमा आफूहरुलाई भन्नु केही पनि नरहेको बताउँदै उनले विप्लवमाथिको विश्लेषण असाध्यै घटियाखालको रहेको उल्लेख गरेका छन् । विप्लवले पासाङले झैं प्रचण्डको गुलामी गरेको भए दर्जन पटक मन्त्री बन्न सक्ने र काठमाडौंमा दर्जनभन्दा बढी आलिसान महल बनाउन सक्ने पनि बताएका छन् ।

‘विप्लव कमरेडले तपाईलेजस्तो प्रचण्डको गुलामी गरेको भए दर्जन पटक मन्त्री बन्न सक्थे । काठमाडौंमा दर्जनको हारहारीमा आलिसान महल बनाउन सक्थे । तर विप्लवले त प्रचण्डकोजस्तो जसरी पनि संसदीय फोहरी राजनीतिमा छिरेर आफ्ना जनयुद्धका आदर्श भुल्ने काम गर्नुभएन,’– उनले भनेका छन् ।

पासाङले के कुरालाई अतिवाद भनेका हुन भन्ने पनि स्पष्ट छैन । के जनार्दन शर्माले उठाएको पार्टी निर्माण र बिधिको कुरा अतिवाद हो ? कसैको गुलामी नगर्ने हक्की जनार्दन अतिवादी हुन ? पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर  खिइंदै गएको पार्टीलाई लोकप्रिय बनाउन खोज्नु अतिवाद हो ? चाकडी र चाप्लुसी गरेर नव धनाड्य बन्ने सोचका बिरुद्ध धावा बोल्नु अतिवाद हो ? अर्को कुरा विप्लव जस्तो नेता जो आत्मनिर्भर अर्थतन्त्र र पार्टी बनाउन सबै चाहनाहरुलाई त्यागेर लागेको छ उनी कसरी अतिवादी हुन सक्छन् ? दसकौंदेखिको सामन्ती शैलीको नेतृत्वका बिरुद्ध बिद्रोह गरेका विप्लव कसरी अतिवादी हुन ? दुईपटक उपराष्ट्रपति भएर पनि अरुलाई मौका दिनुपर्छ भन्ने सोच नआउने पासाङहरु कैयौं गुणा अतिवादी हुन ।

आन्दोलनका मुद्धाहरु सबै छोडेर जसरी पनि सत्ताको नजिक हुन चाहने प्रवृत्ति हानिकारक छ । जुन प्रवृत्तिले त्यत्रो बिरासत बोकेको माओवादी आन्दोलन नै समाप्त पार्न खोजीरहेको छ । जनार्दनहरु त खराब प्रवृत्तिको बिरुद्ध प्रश्न गरिरहेका छन् । सत्य आखिर सत्य नै हुन्छ । अल्पमत र बहुमतले सत्यको फैसला गर्दैन । सबैले हेक्का राख्नुपर्ने विषय हो, ढिलोचाँडो इतिहास प्रश्न गर्नेहरुकै लेखिन्छ । दासहरुको इतिहास लेखिनेवाला छैन । 

 
 
सोमबार, १९ साउन २०८२, १५ : १९

प्रतिक्रिया