म एउटा सामान्य नेपाली युवक। यही माटोमा जन्मिएको, यही आकाश हेरेर सपना बुनेको, यही पानी पिउँदै हुर्केको। सधैं देशलाई माया गरें, गरिरहेछु। देशको भुईं चुमेर उठेको छु। तर, आजभोलि आत्मामा चिसो सुस्केरा चल्न थालेको छ "अब यही देशमा बस्न मन छैन!" किन? किनकि यहाँ त सपना देख्न पाइँदैन। पाइन्छ भने झूटको भरोसा, भाषणको आशा, र विकल्पहीनताको पीडा।
बिहानै उठेर अखबार पढ्छु कतै युवाले आत्महत्या गरेछन्, कतै ठगीमा परेछन्, कतै अरुबेला देश विकासका गफ मात्र चलेका छन्। मेरो जस्तो सपना देख्ने थुप्रै साथीहरू खाडीका मरुभूमिमा हराइरहेका छन्। कतिले त लास बनेर फर्किएका छन्। अनि मन भन्छ "यस्तै त हो हाम्रो देशको नियति!" मेरो दिल भने अझै देशमै केही गर्ने आशामा थियो। पढाइ सकेर प्लान बनाएँ, केही सुरु गरूँला भनेर। तर कहाँबाट सुरु गर्ने? बैंकलाइ धायोभने गारंटी मागे जग्गा छैन, जमिन छैन, 'कनेक्सन' छैन, सरकार भन्नेले युवालाई बोलाउने भाषण त गर्छ, तर हातमा काम होइन, 'पोलिटिक्स' थमाउँछ। कहिलेकाहीँ साथीभाइ भेट्दा कुरा आउँछ “कता जाने त अब?” कसैले अस्ट्रेलिया भन्छ, कसैले कोरिया, कसैले जर्मनी। अनि म आफैं सोच्न थाल्छु "के यही देशको माटोमा बाँधिएर म अलपत्र परिरहेको त होइन?"
मलाई बिदेश जान इच्छा छैन। मलाई त यहाँ बाँच्न मन छ। आमा-बुबासँग, आफ्नो समाजसँग, आफ्नो भाषा र संस्कृतिसँग। म त्यही खेत जोत्न तयार छु, तर उसले मलाई बाँझो पेट र भोलिको डर दिइरहेछ। यही गाउँमा पसिना बगाउन चाहन्छु, तर उसले त मलाई सस्तो कामदार बनाइरहेको छ, त्यो पनि सम्मान बिना। देशप्रेमले मन रुवाउँछ। तर त्यो देशप्रेम अब पेटभित्रको भोकलाई ढाक्न सक्दैन। आज देश प्रेम गर्न खोज्दा, देश नै चुप छ बोल्दैन, देख्दैन, केही दिन सक्दैन। अनि प्रश्न उब्जन्छ "देशले मलाई छाडेको हो कि म उसलाई?"
जसलाई देशप्रेम छ, उसले अझै छोड्न सक्दैन। त्यसैले जानका लागि मन नभएर होइन, बाटो नभएर रोकिएको छु। खाडी देशमा काम गर्न 2/3 लाख तिर्नुपर्छ, अस्ट्रेलिया जान १५/१८ लाख। कसैको पसिना बेचेर पनि पुग्दैन त्यो मूल्य। अनि त मनले चिच्याउँछ ‘यो देशमा बस्न मन छैन, जानलाइ ठाउँ छैन !’ यो वाक्य मेरो मात्रै होइन, लाखौं युवाको चित्कार हो। भोलिका कर्णधार आजको भुक्तभोगी बनेका छन्। तैपनि, देशप्रेम मरेको छैन। देशप्रेम अझै बाँचेको छ जब हामी मतदान गर्छौं, आन्दोलन गर्छौं, परिवर्तनको आशा राख्छौं। तर आशा मात्रैले जिन्दगी चल्दैन। भोलिको भरोसाले आजको पेट भरिँदैन।
तसर्थ, अन्त्यमा फेरि भनिन्छ:
देश त माया लाग्दो छ, तर उसले अँगाल्न सक्दैन।
देशमा रहन मन लाग्छ, तर बाँच्न सकिन्न।
बिदेश जान बाध्यता छ, तर बाटो छैन।
अनि फेरि मन भन्छ "यो देशमा बस्न मन छैन, जानलाइ ठाउँ छैन!"
अन्ततः मेरो सल्लाह यो छ की देश प्रेम उजागर गरौ फेरिपनि सोचौं बुझौ सम्झौं गम्भीर बनौ हल्लैहल्लाको पछि नलागौ ऐ युवा हो, यो देश हाम्रो आमा हो । यसको माटो, पानी, हावा र संस्कारले हामीलाई जन्माएर हुर्काएको छ । यहाँको दुःख र सम्भावनालाई छोडेर विदेश भाग्नु भन्दा आफ्नै भूमिमा पसिना बगाउँ । मिहिनेत र सिर्जनशीलताले यहाँ नै सफलता र सम्मान पाउन सकिन्छ । आफ्नो सपना यही देशमा पूरा गरौं किनकि देश बलियो भए मात्र हाम्रो भविष्य उज्यालो हुन्छ । (लेखक देशभक्त समाजवादी युवा मासका केन्द्रीय सदस्य हुन् )
प्रतिक्रिया