टिप्पणी

थिएन्चिन सम्मेलनको ऐतिहासिक महत्व : नयाँ शक्तिकेन्द्र एसियामै बन्ने संकेत

सोमबार, १६ भदौ २०८२, १३ : १४

काठमाडौं- विश्वको शक्ति सन्तुलनमा भारत र चीनको भूमिका एक अत्यन्त महत्वपूर्ण र जटिल विषय हो। हालको विश्व व्यवस्था बहुध्रुवीय ( multi-polar) बन्दै गइरहेको सन्दर्भमा भारत र चीन दुवै शक्ति केन्द्रको रूपमा उदाउँदै गएका छन्। दुवै राष्ट्रको भूराजनीतिक, आर्थिक, सैन्य, र कूटनीतिक प्रभाव विश्वस्तरमा गहिरिंदै गएको छ। सोभियतसंघको पतनपछि एक ध्रुवीय बनेको विश्व र त्यसको नेतृत्व गरेको अमेरिकाको संकट गहिरिएको छ । दक्षिण एशियाका यी दुई ठूला अर्थतन्त्रहरु उदीयमान शक्तिको रुपमा छन् । रुस-यूक्रेन युद्धमा यी दुवै देशले रुसलाई साथ दिएपछि विश्वको शक्ति सन्तुलनमै फेरबदल आउने संकेत देखिएको छ । 

चीनको आक्रामक वृद्धि र भारतको लोकतान्त्रिक र शान्तिपूर्ण उदयले विश्वलाई नयाँ प्रकारको द्वन्द्व-सम्बन्ध (competitive cooperation) देखाइरहेको छ। भविष्यमा विश्व शक्ति सन्तुलनमा यी दुई देशको भूमिका अझ निर्णायक बन्ने सम्भावना छ।चीनको थिएन्चिन शहरमा जारी सांघाई सहयोग संगठन (एससिओ) को २५औं शिखर सम्मेलन विश्व राजनीतिका लागि सामान्य कूटनीतिक जमघट मात्र नभएर विश्व शक्ति समीकरण पुनः रेखाङ्कन गर्ने संकेतपूर्ण क्षण बन्दै गएको छ । २० भन्दा बढी मुलुकका कार्यकारी प्रमुखहरू सहभागी सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चिनफिङ,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म,नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीदेखि इरान, कजाखस्तान,उज्बेकिस्तान, बेलारुसलगायतका नेतासम्मको उपस्थितिले गहिरो सन्देश दिएको छ ।

 यस सम्मेलनको विशेष आकर्षण भने चीन-रुस-भारतका शीर्ष नेताहरूको एकै ठाउँमा भएको ऐतिहासिक भेट हो । यस्तो दृश्य इतिहासमा बिरलै देख्न पाइन्छ, र यसले विश्व राजनीतिमा उत्पन्न पछिल्ला उतारचढावमा उल्लेखनीय असर पार्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

संयोगले नेपाल पनि ठूला शक्तिकेन्द्रहरूबीचको यस्तो जमघटमा  ‘पर्यवेक्षक’ भन्दा बढी ‘सहभागी’का रूपमा उपस्थित हुन पाएको छ । यसलाई सामान्य घटनाको रुपमा लिनु हुँर्दैन । यसबाट एससिओसँग सम्बन्ध विस्तार र चीनसँग रणनीतिक सहकार्यको निरन्तरता मान्न सकिन्छ ।

अमेरिकामा ट्रम्प आएपछि विश्वमा जुन खालको हलचल देखियो त्यसको उचित जवाफ दिने अवसरको रुपमा पनि यस सम्मेलनलाई लिएको पाइन्छ । विश्वका उदीयमान राष्ट्रहरुले अमेरिकाविरुद्ध समीकरण बनाउने अवसर पनि बन्दैछ यो सम्मेलन । विशेषगरी अमेरिकाले रुसमाथि लगाएको दीर्घकालीन नाकाबन्दी, चीनमाथि तोकिएको उच्च भन्सार दर, भारतमाथि निरन्तर भन्सारका नाममा पर्दै आएको राजनीतिक दबाब,र समग्र एसियामाथि बढ्दो अमेरिकी रणनीतिक चासोका बीच यो भेटले पनि रणनीतिक महत्व राखेको छ । अमेरिकी र पश्चिमी शक्ति केन्द्रहरूले अलग–अलग रूपमा नियन्त्रण गर्न खोजेका यी मुलुकहरू चिनियाँ भूमिमा एकैछिनको सहमिलनमा देखिनु आफैंमा ठूलो उपलब्धि हो ।

सम्मेलनमा मोदी र सीले पुटीनप्रति देखाएको आत्मियता र सौहार्दता साँच्चिकै अर्थपूर्ण छ । यी तीनवटै देशहरु अमेरिकी दादागिरीप्रति आक्रामक छन् र विश्वमा उसको शक्तिलाइृ कमजोर बनाउन रणनीतिक रुपमा कदम चाल्न तयार छन भन्ने सन्देश पनि दिएका छन् । यसबाट अमेरिकी ध्रुवविरुद्ध अर्को नयाँ शक्तिको उदय हुने संभावना बढेको छ । त्यसैलाई संकेत गर्दै कतिपय विश्लेषकहरुले ‘नयाँ शक्ति–त्रिकोणको संकेत’ नाम दिएका छन् । यद्यपी भारत र चीनबीच सीमा विवाद र विश्वासघातका ऐतिहासिक घाउहरू अझै बाँकी छन् । रुस र चीनबीच पनि रणनीतिक व्यावहारिकता हावी देखिन्छ । तर अन्तराष्छ्रिय शक्ति सन्तुलन अमेरिकाविरुद्ध धकेलिँदै जाँदा, साझा असन्तुष्टि र सामूहिक हितले यी मुलुकलाई एउटै मोर्चामा ल्याएको भने सत्य हो ।

त्यसैले थिएन्चिनमा देखिएको यो बिरलैको संयोगलाई फोटो फ्रेमले मात्र समेटेको ठान्नु उचित हुँदैन । यसले अमेरिकी साम्राज्यवादका विरुद्ध नयाँ शक्ति सन्तुलन निर्माण गर्ने माध्यमका रुपमा बुझ्नु उचित हुनेछ । अब विश्व मामिलामा पश्चिमा शक्तिलाई चुनौति दिने शक्ति एसियामै निर्माण हुने सहजै अनुमान गर्न सकिन्छ ।  

सोमबार, १६ भदौ २०८२, १३ : १४

प्रतिक्रिया