काठमाडौं– मुलुकमा हालै भएको ‘जेनजी’ प्रदर्शन र विभिन्न स्थानमा गएको बाढी–पहिरोका कारण व्यापार–व्यवसायमा उच्च गिरावट आएको छ । मुलुकमा सिर्जना भएको असहज परिस्थितिका कारण खसी–बोका र च्याङग्राको कारोबारमा ४० प्रतिशतले कमी आएको छ भने लत्ता–कपडामा ५० प्रतिशतले कमी आएको व्यवसायीहरुले बताएका हुन् ।
२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले ग्राहक र व्यापारीबीच हुने कारोबार प्रणालीको चक्र (समयतालिका) विगारिदिएको छ । अर्थात दशैंमा कारोबार गर्नका लागि गरिने व्यापारको तयारी र खरिद–विक्रीको समयमा भएको ‘जेनजी’ प्रदर्शनले कारोबार हुन दिएन । पछिल्लो समयमा अधिकांश ग्राहक उपत्यकाबाट बाहिरिएकाले चाडवबाड लक्षित कारोबारमा प्रभाव पारेसँगै व्यापारमा कमी आएको हो ।
प्रविधिको विकाससँगै सामाग्रीको खरिद–विक्री विद्युतीय माध्यम अर्थात अनलाइनबाट हुन थालेकाले भौतिक रुपमा गरिने व्यवसायमा कमी देखिन थालेको हो । यसले गर्दा बजार क्षेत्रमा गएको वर्षहरुभन्दा ग्राहकको घुइँचो क्रमश कमी हुँदै आइरहेको छ ।
त्यसैगरि दशैं लक्षित हुने खसी–बोका र च्याङग्राको व्यापारलाई मुलुकका विभिन्न स्थानमा गएको बाढी–पहिरोले असर पुर्याएको छ । बजारको माग हुँदाहुँदै पनि बाढी–पहिरोको कारणले समयमा उपलब्ध गराउन नसक्दा खसी–बोका र च्याङग्राको व्यापारमा कमी आइरहेको हो ।
दशैंमा खुद्रा व्यापारको अवस्था
नेपालीहरुको महान चाडपर्व दशैं र तिहारमा लत्ता–कपडादेखि गरगहना र गाडीसम्म खरिद गर्ने प्रचलन छ । यो परम्परा प्रत्येक वर्ष दोहोरिने गर्दछ । दशैं र तिहारमा खुद्रा व्यापारको अनुपात पनि अन्य समयभन्दा बढी हुने गर्दछ । तर २०८२ सालको दशैं अघि मुलुकले ‘जेनजी’ प्रदर्शनको समस्या खेप्नु पर्यो । दशैं अघि सुरु भएको ‘जेनजी’ प्रदर्शनले खुद्रा व्यापारको चक्र अथवा कारोबार प्रणालीलाई विगारिदिएको छ ।
२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनको समयमा लत्ताकपडा लगायत दशैंलाई चाहिने मालबस्तु ढुवानी गर्ने समय थियो । ढुवानीपश्चात उचित स्थानमा मालबस्तु कारोबार गर्नुपर्ने हुन्थ्यो । तर समयमा ढुवानी गर्न नसक्दा र ‘जेनजी’ प्रदर्शन समाधान गर्ने समय लम्बिँदा ग्राहकले कर्मथलो छाडेर थातथलो पुग्दा दशैं लक्षित व्यापारमा ठुलो धक्का लागेको हो । ‘जेनजी’ प्रदर्शनले सुरक्षा चुनौती पनि निम्त्याएकाले व्यापारमा समस्या पैदा गरेको छ ।
‘यो वर्ष हाम्रो व्यापार ८० प्रतिशतले घट्यो । ‘जेनजी’ आन्दोलनले ल्याएको सुरक्षा चुनौतिले पोहोर साल जस्तो व्यापार भएन । ग्राहक त्यति छैन । गएको वर्षभन्दा सामानको मूल्य पनि त्यति महङ्गो छैन ।’, सुन्धारास्थित चाईना टाउनका व्यापारी भुवनप्रसाद निरौलाले आजको अर्थलाई भने, ‘टिकटक, अनलाइन लगायत सामाजिक सञ्जालबाट हुने व्यापारमा उपभोक्ता आकर्षित भए । प्रविधिबाट हुने व्यापारमा ग्राहक रमाउँदा घुमेर सामान खरिद गर्न चाहँदैनन् । यसले हामीलाई असर गर्यो ।’
काठमाडौंको बजार क्षेत्रमा पहिले जस्तो ग्राहकको भीड देख्न मुश्किल छ । हाल मुख्य बजार क्षेत्रमा ग्राहकको बाक्लो उपस्थिति देखिएपनि पहिले जस्तो भिड नभएको व्यापारीको बुझाई छ । अन्य भित्री बजारमा ग्राहकको भिडमा कमी आएसँगै बजार प्राय सुनसान देखिन थालिसकेका छन् । किनमेलको अनुपात पनि पहिलेको तुलनामा गिरावट आइरहेको छ । बजारमा सामान प्रयाप्त छ भने महंगी त्यति नबढे पनि मुलुकको परिवर्तित आर्थिक र राजनीतिक कारणले व्यापारमा खासै सुधार नआएको धेरैको बुझाई छ ।
‘अहिले व्यापार ५० प्रतिशतले डाउन छ । महङ्गी नरमल (सामान्य) छ । तर व्यापार बढ्न सकेको छैन ।’, न्युरोड क्षेत्रका व्यापारी सुशिल श्रेष्ठले बताए, ‘नागरिकको क्रयशक्ति घट्यो । यसले पहिलाको वर्षभन्दा व्यापारमा कमी ल्यायो । गएका वर्षहरुभन्दा अहिले निरन्तर व्यापार घट्दै आएको छ । यस वर्ष पनि व्यापारको अनुपातमा सुधार आएन ।’
किन बढेन खसी–बोका र च्याङग्राको व्यापार ?
दशैंलाई लक्षित गरि खसी–बोका र च्याङग्राको खरिद–विक्री घटस्थापनादेखि सुरु हुन्छ । काठमाडौं उपत्यकाबासीले यही समयमा आफुले खपत गर्ने खसी–बोका र च्याङग्रा खरिद गर्न सुरु गर्दछन् भने व्यापारीले पनि मुलुकका विभिन्न स्थानबाट ग्राहकलाई चाहिएको खसी–बोका र च्याङग्रा उपलब्ध गराउँदछन् । व्यापारीले आफुसँग स्टक (मौज्दात) मा भएको र मुलुकका विभिन्न स्थानबाट आइरहेका खसी–बोका र च्याङग्रा घटस्थापनाको दिनदेखि उपलब्ध गराउने गर्दछन् ।
दशैं लक्षित खरिद–विक्री यो समयमा उच्च हुने गर्दछ । तर यो वर्ष मुलुकका विभिन्न स्थानमा गएको बाढी–पहिरोका कारण खसी–बोका र च्याङग्राको व्यापारमा कमी आएको छ । बजारको माग भएपनि व्यवसायीले समयमा उपलब्ध गराउन नसक्दा खसी–बोका र च्याङग्राको व्यापारमा कमी आएको हो ।
‘३ दिनदेखि माल रोकिएको छ । बाटो बन्द हुँदा माल आएको छैन । बाढी–पहिरोले गर्दा सामान अड्कियो । कति माल बाटोमा मर्यो ।’, नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) का प्रबन्ध निर्देशक जीवन खतिवडाले भने, ‘व्यापार घटेको होइन । बजारको माग उत्तिकै छ । तर बाढी–पहिरोले गर्दा माल समयमा यहाँ नआउँदा अभाव भएको हो । हामीले ग्राहकलाई माल दिन नसक्दा व्यापारमा कमी आएको हो ।’
पृथ्वी राजमार्गअन्तर्गतको चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध छ । बाटो अवरुद्ध हुँदा काठमाडौं ल्याउन लागेको एक सय वटा खसी–बोका र च्याङग्रा अहिलेसम्म बाटोमा नै मरिसकेका छन् । काठमाडौं ल्याउन लागेका खसी–बोका र च्याङग्रा ल्याउने विषय अहिले चुनौती बनिरहेको छ । लामो समयसम्म उक्त बाटो नखुले २०८२ सालको दशैंमा खसी–बोका र च्याङग्रा अभाव हुन सक्ने व्यवसायीको भनाई छ । बजारले मागे जति खसी–बोका र च्याङग्रा वितरण गर्न नसकिने उनीहरुको बुझाई छ ।
‘पहिरोले गर्दा रोकिएको माल आएको छैन । घटस्थापनाबाट हुने व्यापार भएको छैन । ‘जेनजी’ आन्दोलनले देश शोकमा छ । ‘जेनजी’ आन्दोलन र पहिरोले हाम्रो व्यापार ४० प्रतिशतले घट्यो ।’, नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) का व्यापारी भिमसेन थापाले बताए, ‘माग २०–२५ हजार खसी–बोका र च्याङग्राको छ । तर वितरणमा समस्या छ । बाढी–पहिरोले हाम्रो व्यापारमा नेक्सानी पुर्यायो।’
दशैंका लागि बजारबाट माग आएपनि व्यवसायीले ग्राहकलाई मागअनुसारको खसी–बोका र च्याङग्रा उपलब्ध गराउन सकेका छैनन् । लामो समयदेखि बाटो अवरुद्ध हुँदा बजारलाई चाहिने खसी–बोका र च्याङग्रा बाटोमा नै अड्किएर बसेको छ । कति मरिसकेका छन् भने कति मर्ने तयारीमा छन् । तिनीहरुलाई काठमाडौंमा ल्याउनका लागि नै ठुलो चुनौति भइरहेको छ । बाटो अझै लामो समय नखुले दशैंका लागि खसी–बोका र च्याङग्रा अभाव हुने निश्चित छ । यस वर्षका लागि खसी–बोका र च्याङग्राको मूल्यमा खासै बृद्धि आएको छैन भने विगतको तुलनामा यस पटक मूल्यबृद्धिको समस्या छैन ।
‘यो वर्ष जिउँदो खसी–बोकाको विक्री मूल्य प्रतिकिलो ६५०–७०० रुपैयाँ पर्न आउँदछ ।’, नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) का व्यापारी रुद्रबहादुर थापाले बताए, ‘जिउँदो च्याङग्राको विक्री मूल्य प्रतिकिलो १२००–१३०० रुपैयाँ पर्दछ । पहिलेको वर्षभन्दा यो वर्ष विक्री मूल्यमा खासै बृद्धि आएको छैन ।’
दशैंमा कति खसी–बोका र च्याङग्रा खपत हुन्छ ?
प्रत्येक वर्षको दशैंमा काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला) मा नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले औसतमा ३० देखि ३५ हजार खसी, बोका र च्याङग्रा वितरण गर्ने गरेको छ । प्रत्येक वर्षको दशैंमा नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले एक्लैले २२ देखि २५ हजार खसी र बोका वितरण गर्ने गरेको छ भने ३ देखि ४ हजार च्याङग्रा दशैंका लागि काठमाडौं उपत्यकामा वितरण गर्ने गर्दछ ।
दशैंका लागि चाहिने एक तिहाई (१/३) खसी, बोका र च्याङग्राको मागलाई नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले धान्ने गरेको हो । अर्थात काठमाडौं उपत्यकाको ६० प्रतिशत मागलाई कंलकी खसीबजारले पुरा गर्ने गरेको छ । दशैंका लागि खसी, बोका र च्याङग्राको बाँकी ४० प्रतिशत माग अर्थात दुई तिहाई (२/३) भागको माग काठमाडौं उपत्यकाको विभिन्न स्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुरा गर्ने गरेको छ ।
व्यक्तिगत रुपमा खसी, बोका र च्याङग्रा विक्री गर्ने व्यापारीले पनि काठमाडौं उपत्यकाको माग धानिरहेका छन् । बालाजूको बजार, तिनकुने, कोटेश्वर, टुकुचा बजार, सातदोबाटो र चोकपिच्छे लाग्ने बजारले काठमाडौं उपत्यकालाई चाहिने खसी, बोका र च्याङग्रा उपत्यकाबासीलाई उपलब्ध गराउँदै आइरहेका छन् । दशैंका लागि काठमाडौं उपत्यकालाई चाहिने खसी, बोका र च्याङग्रा नेपालका विभिन्न जिल्लाबाट ल्याइने गरिन्छ । नेपाली उत्पादनले नै काठमाडौं उपत्यकाको ९५ प्रतिशत माग धान्ने गरेको छ ।
दशैंका लागि पूर्वका जिल्ला उदयपुर, सिन्धुली, खोटाङ, गाईघाट, झापा, इलाम, धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बुबाट खसी र बोका काठमाडौंमा ल्याउने गरिन्छ । पश्चिमको मनाङ र मुस्ताङ जिल्लाबाट काठमाडौं उपत्यकालाई चाहिने च्याङग्रा ल्याउने गरिन्छ । काठमाडौं उपत्यकालाई चाहिने बाँकी ५ प्रतिशत खसी र बोका भारतबाट ल्याइने गरिन्छ । खसी, बोका र च्याङग्राको माग काठमाडौं उपत्यकामा १६–१७ वर्ष पहिलेको तुलानामा अहिले कमी आइरहेको छ । कंलकी खसी बजारमा मात्रै १६–१७ वर्ष पहिलेको तुलानामा अहिले खसी, बोका र च्याङग्राको विक्रीमा १० हजार हाराहारीले कमी आएको छ ।
प्रतिक्रिया