दिल निशानी मगरको कटाक्ष– कोही दिल्लीमा लुक्दा जनार्दन शर्मा जंगलमा लड्दै थिए

बुधबार, १९ कार्तिक २०८२, १२ : २१

काठमाडौं– लेखक एवं राजनीतिक विश्लेषक दिल निशानी मगरले माओवादीबाट अलग भएका जनार्दन शर्माले पार्टी छाडेको भन्दै अनेकौं टिप्पणी गर्नेहरुप्रति कडा प्रतिवाद गरेका छन् । उनले जनयुद्धकालमा केही नेताहरु दिल्लीमा बस्दा जनार्दन शर्माले जंगलमा लडाइँ गरेको बताउँदै प्रचण्डकै कारणले नेताहरु बाहिरिनु परेको बताएका हुन् ।

माओवादी केन्द्रबाट शर्मा अलग भएपछि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले उत्पीडित वर्गको न्यायका निम्ति फिल्डमा संघर्ष गरिरहेको बताउँदै शान्ति प्रक्रियाको महत्वपूर्ण काम समेत शर्माले नै टुंगो लगाएको बताएका हुन् । लोडसेडिङको अन्त्य पनि शर्माकै देन भएको उनको भनाइ छ ।

उनले माओवादी पार्टी कहिल्यै पुनर्गठन नगरिएको र प्रचण्डले एकताको नाममा घर न घाट भएका मानिसहरूलाई काँधमा बोकेर हिँड्दा झनै क्षति निम्त्याएको बताएका छन् ।

साथै, दिल निशानीले पछिल्लो समय शर्मा लगायतका नेताहरुको बहिर्गमनले माओवादीलाई थप क्षति हुने चेतावनी समेत दिएका छन् । 

उनले भनेका छन्– 

आफूलाई मन नपरेका मानिसलाई बाँदर, कुकुर, दुम्सी, गधा, भ्यागुता, गोरु, मुसा जे भने पनि हुन्छ। तर केही मानिसहरू दिल्लीमा लुकेर बसिरहेको बेला जनार्दन शर्माले नेपालको जंगलमा लडाइँ लडिरहेका थिए।पचासको दशकमा एउटा बाहुनको छोरो उत्पीडित वर्गको न्यायका निम्ति फिल्डमा संघर्ष गरिरहेको थियो। कतिपयले उनलाई धेरैपटक मन्त्री भएको आरोप लगाउँछन्, तर संसदीय चुनावमा लगातार चारपटक एउटै निर्वाचन क्षेत्रबाट जित्ने पनि उनी नै हुन्। शान्ति प्रक्रियाको महत्वपूर्ण काम जनार्दन शर्मा शान्ति तथा पुननिर्माण मन्त्री भएको बेला टुंगिएको हो। कुलमानले उज्यालो ल्याएको पनि उनी उर्जामन्त्री भएको बेला नै हो। सुरुमा विप्लव निस्किएर गए। विप्लव गएर केही फरक पर्दैन भन्नेहरु थिए। जसको फाइदा अन्ततः कांग्रेस र एमालेलाई भयो। संविधानसभाको दोस्रो चुनावपछि कांग्रेस र एमालेको “कमब्याक” हुनुको कारण नै विप्लव हुन्।

संविधानसभाको निती माओवादीको थियो, तर जीत अर्कैको भयो। त्यसपछिको बदलिँदो परिस्थितिमा बाबुरामले अध्यक्ष मागे, तर दिइएन। बाबुराम निस्किए। एमाले संगको असफल एकताको कारण राम बहादुर, लेखराज, टोपबहादुर उतै बसे। अहिले जनार्दन शर्मा र सुदन किराँतीहरू निस्किएका छन्। त्यस कारण यहाँ एकता नभई फूट भइरहेको छ। चुनाव जित्नका लागि अरूसँग एकता गरेर हुँदैन, पहिले आफ्नैबीच एकता हुनुपर्छ। चुनावी एकता त नेपाली कांग्रेससँग पनि भएको थियो, तर मत खसेन। पार्टी पुनर्गठन र पार्टी एकतामा फरक छ। प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन कहिल्यै भएन, पार्टी एकतामात्र भयो। पूर्वमा हर्क साम्पाङले दबाब बढाइरहेको बेला भूगोलसँग जोडिएका सुदन किराँतीलाई निकाल्नु घातक देखिन्छ। साथै मध्यपश्चिम र सुदूरपश्चिममा ग्यानेन्द्र शाही र रास्वपाको प्रभाव बढ्दै गएको बेला जनार्दन शर्मालाई दुत्कार्नुको परिणाम छिट्टै देखिनेछ।

माधव नेपाल संग एकता गर्दा माधव नेपाल भन्दा हजार गुणा सक्षम मान्छे निस्किएका छन्। धेरैलाई पार्टिको नाम, माओवादी विचारधारा र चुनाव चिन्ह आम मतदाताको लागी समस्याको कारण लागेको थियो भने, त्यो त अधिवेशन मार्फत परिवर्तन गर्न सकिने कुरा हो। गत निर्वाचनमा माधवकुमार नेपालको पार्टीको थ्रेसहोल्ड नै कटेको थिएन। अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन छ। उनीसँग जोडिएका ९० प्रतिशत नेता–कार्यकर्ता एमालेमै फर्किँदै छन्। बाँकी जो छन्, ती चन्दा उठाएर ज्यान पाल्ने मान्छेहरू हुन्। तिनलाई आफ्नै गाउँलेले पनि चिन्दैनन्, चुनाव जित्ने त कुरा नै भएन। पटक–पटक प्रधानमन्त्री भइसकेका प्रचण्डको पछाडि केही हजार मानिसको भिड हुनु सामान्य कुरा हो, तर आजको नेपाली राजनीतिमा उनले नेतृत्व गरेको पार्टिको हैसियत तेस्रो हो। यही नै सत्य हो। यसो हुनुको प्रमुख कारण पूर्व माओवादीहरूको आन्तरिक फूट नै हो। फेरि एकपटक सम्पूर्ण माओवादीहरू एकजुट भई पुनर्गठित हुनु जरुरी छ। एकताको नाममा घर न घाट भएका मानिसहरूलाई काँधमा बोकेर हिँड्दा केही महिनाभित्रै ‘भ्यागुताको धार्नी’ फुट्ने निश्चित देखिन्छ।

 
 
 
 
 
बुधबार, १९ कार्तिक २०८२, १२ : २१

प्रतिक्रिया