श्रीमद्भागवत् गीता भन्छः “यद्यदाचरति श्रेष्ठस्ततदेवेतरो जनः । स यत्प्रमाणम् कुरुते लोक स्तदनुवर्तते।”
यसको अर्थ स्पष्ट छ समाजका अगुवा व्यक्तिहरूको आचरण नै जनताको मार्गदर्शन बन्ने गर्दछ। नेतृत्वले रोजेको बाटो नै राष्ट्रको भविष्य निर्धारण गर्छ। त्यसैले नेतृत्व सचेत, जिम्मेवार र उदाहरणीय हुन अनिवार्य छ।
नेतृत्व केवल पद, शक्ति वा अधिकार प्राप्त गर्नु मात्र होइन; यसमा नैतिक दायित्व हुनु आवश्यक छ। राष्ट्र नेता त्यही हो, जसले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितलाई प्राथमिकता दिन्छ। तर वर्तमान सन्दर्भमा नेतृत्वको मूल चरित्र कमजोर हुँदै गएको देखिन्छ। बाटो देखाउने जिम्मेवारी लिएका व्यक्तिहरूले कहिलेकाहीँ बाटो बिराए भने त्यसको प्रत्यक्ष प्रभाव राष्ट्रको समग्र भविष्यमा पर्छ।
राजनीतिक नेतृत्वमा अस्थिरता, स्वार्थकेन्द्रित सोच र आपसी द्वन्द्वले मुलुकलाई अन्योलतर्फ धकेल्छ। जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी र विकास त्यागेर सत्ता र शक्ति केन्द्रित राजनीति हावी हुँदा जनविश्वास कमजोर बन्दै जान्छ। जब नेतृत्व नै स्पष्ट मार्गमा हिँड्न सकेन भने जनताले सही बाटो कसरी पत्ता लगाउने?
असल नेतृत्वले कठिन परिस्थितिमा पनि राष्ट्रलाई सही दिशामा डो¥याउन सक्छ। नेपालका प्रजातन्त्रका योद्धा बिपी कोइरालाको लोकतान्त्रिक सोच र दूरदृष्टिले नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव पारेको छ। त्यस्तै, मनमोहन अधिकारीको छोटो कार्यकालमै देखिएको जनमुखी कामले प्रमाणित गर्छ कि इच्छाशक्ति र प्रतिबद्धता भएमा सीमित समयमै पनि उदाहरणीय उपलब्धि हासिल गर्न सकिन्छ।
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका दिब्य उपदेश, राजा महेन्द्रले राज्य संरचनामा गरेको योगदान, र राजा बिरेन्द्रले अगालेको शान्तिक्षेत्रको प्रस्ताव यी सबै उदाहरणीय शिक्षाहरू नेतृत्वले अवलम्बन गर्नु आवश्यक छ।
यदि नेतृत्व तहमा अहंकार, प्रतिस्पर्धा र “म नै ठूला” भन्ने मानसिकता हावी हुँदा सहकार्य र सहमतिको वातावरण बिग्रन्छ। राष्ट्रिय मुद्दाहरू समाधान गर्न आवश्यक साझा दृष्टिकोणको अभावले निर्णय नहुन सक्छ । यस्तो अवस्थामा “बाटो नबिराउनु” भन्ने सन्देश अझ सान्दर्भिक हुन्छ।
भाषणमा आदर्शका कुरा गर्ने तर व्यवहारमा त्यसको विपरीत कार्य गर्ने प्रवृत्तिले जनतामा गहिरो निराशा ल्याउँछ। विश्वास गुमेको नेतृत्वले दीर्घकालीन परिवर्तन गर्न सक्दैन। नेतृत्वले पहिले आफ्नो आचरण सुधार्नुपर्छ नैतिकता, पारदर्शिता र उत्तरदायित्व व्यवहारमा उतार्नुपर्छ। नेतृत्वले सही बाटो रोजोस्, साना स्वार्थ त्यागोस् र राष्ट्रहितलाई सर्वोपरि ठान्नु पर्दछ ।
आजभोली स्वयंले शीर्ष नेता घोषणा गर्ने प्रवृत्ति बढ्दो छ, तर व्यवहार र कार्यशैलीले त्यो प्रमाणित गर्न सकेको छैन। जनताको जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दाहरू ओझेलमा छन्। असम्भव नारा र अव्यावहारिक प्रतिबद्धताले जनतालाई भ्रममा पार्ने काम नहोस्। यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर मात्र होइन, जनविश्वासलाई पनि खस्काउँछ।
राजनीतिक अस्थिरता समाजको समग्र चरित्रलाई पनि प्रभावित पार्छ। द्वेष, असहिष्णुता र विखण्डनकारी सोच बढ्छ। भ्रष्टाचार र कालोबजारीजस्ता विकृतिहरू मौलाउँछन्। जबसम्म नेतृत्व स्पष्ट र इमानदार हुँदैन, तबसम्म समाज पनि दिशाहीन हुन्छ। समस्या नीतिको अभाव मात्र होइन; नेतृत्वको नियत र कार्यान्वयनको कमजोरी नै मुलुकको विकासको मुख्य बाधक हो।
विगतका आदर्श नेतृत्व र नीतिहरूबाट सिक्नु आवश्यक छ। बिपी कोइरालाको नीति, लोकतान्त्रिक मूल्य र राष्ट्रिय दृष्टिकोण आज पनि सान्दर्भिक छन्। मनमोहन अधिकारीको छोटो समयमै गरिएका जनमुखी कार्यहरू उदाहरणीय छन्। तर यस्ता अभ्यासलाई निरन्तरता दिने संस्कार विकास हुन सकेको छैन।
नेतृत्व तहमा व्यक्तिगत स्वार्थ र अहंकार हावी हुनु अर्को गम्भीर समस्या हो। “म ठूलो” भन्ने मानसिकताले सहकार्य र सहमतिको सम्भावना कमजोर बनाउँछ। परिणामतः राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्छन् र व्यक्तिगत स्वार्थ हावी हुन्छ।
जनताले नेताहरूमा विश्वास गर्न छोडे भने लोकतन्त्रको आधार नै कमजोर हुन्छ। नेतृत्वको पहिलो कर्तव्य विश्वास निर्माण गर्नु हो, र त्यो केवल शब्दले होइन, कर्मले सम्भव हुन्छ।
यदि साँचो अर्थमा शीर्ष नेता बन्ने हो भने श्रीमद्भागवत् गीता को उक्त श्लोकलाई व्यवहारमा उतार्नुपर्छ। साना स्वार्थ, अहंकार र विवाद त्यागेर राष्ट्रहितलाई सर्वोपरि मान्ने साहस देखाउनुपर्छ। त्याग, बलिदान र नैतिकताको मार्ग रोज्न सके मात्र नेतृत्वले सही दिशा दिन सक्छ।
नत्र, बाटो बिराएको नेतृत्वले केवल आफू मात्र होइन, सम्पूर्ण राष्ट्रलाई पनि गलत दिशातर्फ डो¥याउने जोखिम रहन्छ। तसर्थ नेतृत्वले बाटो नबिराओस् र समाजलाई सही मार्गमा डो¥याओस्।
प्रतिक्रिया