सैद्धान्तिक व्यवहार
आध्यात्मिक तथा सांस्कृतिक संरक्षणको सिद्धान्त अनुसार कडा कूटनीतिक सैनिक युद्धबाट वा अन्य तरिकाबाट प्राप्त गरेका भूभागहरुलाई समेटेर सार्वभौम राष्ट्र निर्माण गरिसकेपछि त्यो राष्ट्रको दिगो टिकाउ, बचाउ, विकास र व्यवस्थापन गर्नेक्रममा नरम कूटनीतिक कार्यको पनि उत्तिकै आवश्यकता पर्दछ । नरम कूटनीतिक कार्यको आवश्यकता अनुसार साझा स्थायी राष्ट्रिय चरित्रको आध्यात्मिक तथा सांस्कृतिक तत्वहरुको निर्माण गर्नुपर्ने हुन्छ ।
दिगो एशियाली एकता तथा सभ्यता संरक्षणको अवधारणा अनुसार नेपालको सन्दर्भमा त्यस्ता आध्यात्मिक तथा सांस्कृतिक तत्वहरुमध्ये तन्त्र, मन्त्र, यन्त्र जगाएर तान्त्रिक विधिद्धारा त्रिशक्ति पीठलाई प्रतिष्ठापन गर्नुपर्ने हुन्छ । त्रिशक्ति पीठप्रतिको आस्था र विश्वासले दर्शनार्थीय आम नागरिकहरुको मनोवलदेखि मनोकांक्षासम्म पूरा गर्ने सवल पक्ष निर्माण हुन्छ । यसले नेपालको राष्ट्रिय एकता निर्माणमा थप सहयोग पु¥याउँछ । यही आध्यात्मिक तथा सांस्कृतिक संरक्षणको सिद्धान्तलाई व्यवहारमा उतार्दै, नेपालका राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा र वहाँका छोराहरुद्धारा वर्तमान ठमेल तत्कालीन ऐतिहासिक ठवहेलमा निर्माण गरिएको त्रिशक्ति पीठको बारेमा देश, विदेशसम्म चर्चा चुलिदै गएको छ ।
आधुनिक नेपाल एकीकरणका वीर योद्धा बाघ भीमसिंह थापा र उमादेवीको गर्भबाट राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको जन्म वि.सं. १८०८ श्रावण शुक्ल ऋषीतर्पणीका दिन भएको थियो । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ, ‘बडाकाजी जन्मिनु भएको वर्षको जनै पूर्णिमा श्रावण १६ गतेको दिन रहेको पात्रोमा हेर्दा पत्ता लागेकोले सिरानचोक गाउँपालिकाले पनि हरेक वर्ष श्रावण १६ गते राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको स्मृति दिवस मनाउने निर्णय गरेको हो’ (थापा, वि.सं. २०७७, ‘एकीकरणका बडाकाजी भाग–२) ।
जीवित सिंह अमरसिंह थापा, ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’
आधुनिक राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भीमसिंह थापालाई ‘बाघ’ पदवी प्रदान गरेकाले भीमसिंहलाई ‘बाघ’ भन्ने गरिन्छ । ऊनै बाघका छोरा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाले अंग्रेज विरुद्ध प्रत्याक्रमण युद्ध लड्दा मोर्चामा “म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ” भन्दै फरक सभ्यताका पश्चिमा सैनिक योद्धा विरुद्ध बाघले झम्टे जस्तो जाई लाग्ने गर्नुहुन्थ्यो । स्वयम् बडाकाजीले डडेल्धुरामा निर्माण गराउनु भएको अमरगढी किल्लाको अगाडिको मोहोडामा काजी विक्रम थापाले बडाकाजी अमरसिंह थापाको स्मरणमा प्रतिमा स्थापना गराई बडाकाजीको सो उद्गारलाई लेख्न लगाउनु भएको तथ्य आज पनि जीवित छ ।
काजी विक्रम थापा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित वर्तमान प्रतिनिधि सभाका माननीय सदस्य हुनुहुन्छ । अमरसिंह थापा तत्कालीन काजीहरुमध्ये बुढाकाजी अर्थात् बडाकाजीको रुपमा जनप्रिय हुनुहुन्थ्यो । उहाँलाई नेपालको ज्यूँदो बाघ (जीवित सिंह) बाट सम्मान गरिन्छ । बडाकाजीका विपक्षी इष्ट इण्डिया कम्पनीका जनरल डेभिड अक्टरलोनीले समेत बुद्धि–वीर राष्ट्रिय विभूति अमरसिंह थापाको वीरताको प्रशंसा गर्दै, उहाँलाई ‘नेपालको जीवित सिंह’ भन्ने गर्नु हुन्थ्यो । तत्कालीन गोरखाली (नेपाली) सेनाका सेनापति बडाकाजी अमरसिंह थापा महाकाली पारिका सेनापतिहरु मध्येका प्रधान सेनापतिको जिम्मेवारीमा रहेर पश्चिम नेपाल विस्तार एवम् आधुनिक नेपाल एकीकरण अभियानमा नेतृत्वदायी भूमिका खेल्नु भएको तथ्य विश्वको इतिहास र नेपाली सेनाको इतिहास साक्षी छ ।
श्रीनारायण तथा श्रीमहादेव मन्दिर
बडाकाजी नेपालको एक साहसी युद्धबाज गोरखा प्रधान सेनाधिपति हुनुहुन्थ्यो । उहाँ आफ्नो जीवनको उत्तराद्र्धमा तान्त्रिक सिद्ध पुरुषचर्यामा रहनु भएको थियो । उहाँ नेपाली आध्यात्मिक–सांस्कृतिक क्षेत्रका जगरुक सर्जक, संरक्षक पनि हुनुहुन्छ । वहाँले युद्धमा विजय गरिसकेपछि फुर्सदिलो समयमा विभिन्न ठाउँहरुमा धाम (भारतमा गंगोत्रीधाम), मन्दिर (जनकपुरमा सीता राम मन्दिर आदि), पोखरी, किल्ला तथा गढी, पाटी पौवा, चौतारा आदि निर्माण गर्ने गराउने कार्यमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने गर्नुहुन्थ्यो । यी निर्माण कार्यहरु मध्ये बडाकाजी अमरसिंह थापाको आदेश निर्देशमा जेठा छोरा काजी रणध्वज थापामार्फत तत्कालीन समयमा निर्माण गराउन लगाउनु भएको ‘श्रीनारायण तथा श्रीशिव महादेवका’ मन्दिरहरु हालको काठमाडौं महानगरपालिका, वडा नं. २६, ठमेल क्षेत्रको मुख्य आकर्षणको केन्द्र विन्दू रहँदै आएका छन् । रणध्वज थापा तत्कालीन मुख्तियार कमाण्डर–ईन–चीफ भीमसेन थापाका कारोबारी काजी हुनुहुन्थ्यो ।
बडाकाजी अमरसिंह थापाले वि.सं. १८६४ भदौमा काठमाडौंको ठमेल टोलमा श्रीनारायण तथा श्रीमहादेवको स्थापना गरी त्यहाँको विधिपूर्वक पूजाका लागि ६ मुरी सिङ्गो सरुवा चामलको खान्गी व्यवस्था मिलाई स्थायी पूजारीको समेत बन्दोबस्त गर्नुभएको थियो । सो पत्रमा लेखिएको व्यहोरा हेरौं–
‘६४ साल भाद्र गते ३० रोज १ मा काजी अम्बरसिं थापाले राषेको ठमेलमा स्थापना गेको श्री नारायण र श्रीमहादेव मन्दिरको पूजाहारि षान्गी सरुवा चावल मुरि ६÷छ का दरले षन्गी गरी दर्सन् गराउने मुद्धाको यस अड्डाबाट जाहेर गरेको रिपोटमा ६४ साल भाद्र १२ रोज ४ मा हुकुम मर्जीबाट सदर गरिबक्से मुताबीक् पूजाहारि काम ब्रह्मेन्द्रनारां पाध्या देउभाजुलाई दर्सन् गराउन ल्यायाको छ जो मर्जि भनी...तत्कालीन नेपाल सरकारतर्फ गुठी बन्दोबस्त अडाका सुब्बा हिरालालले हाम्रा हजुरमा बीन्ति चढायाको हुनाले सो श्रीनारायण र श्रीमहादेव मन्दिरको पूजा गर्ने पूजाहारि षन्गी सरुवा चामल मुरि ६÷षानेमा दर्सन् गराइबक्सेको छ. सोहि सदर भयाका रिपोट मुताबिक गर्ने काम गर भन्या... श्री कम्याण्डर–ईन–चीफ जनरल साहेबबाट मर्जी भयाको छ’ भनी प्रमान्गी कप्तान रणमर्दन थापा क्षेत्रीले सहिछाप गरेको तथ्यलाई अनुसन्धानकर्ता इन्दिरा जोशीले तत्कालीन नेपाल सरकार, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय ‘K224/82’ लाई उद्धृत गर्दै उल्लेख गर्नुभएको छ (जोशी, वि.सं. २०५७) ।



माथि उल्लिखित लालमोहर अनुसार बडाकाजी अमरसिंह थापाको आध्यात्मिक–सांस्कृतिक अधिष्ठानलाई पुरा गर्ने उद्देश्यसाथ बुवाकै आदेश, निर्देशमा छोरा काजी रणध्वज थापाले यस स्थानमा वि.सं. १८६४ भदौमा श्रीमहादेव (शिवलिङ्ग) र श्रीनारायणको मन्दिर स्थापना गर्नुभएको हो । काजी रणध्वज थापाले वि.सं. १८७६ मा ती पुरानो मन्दिरहरुको जीर्णोद्धार तथा पुनर्निर्माण गराउनु भयो ।
कामरु कामक्षे, ज्वालामाई र कालिकामाई त्रिशक्ति पीठको स्थापना
काजी रणध्वज थापाले वि.सं. १८७६ मा थप जग्गाहरु किनेर ‘कामरु कामाक्षे, ज्वाला माई र कालिका माई’ का अलग अलग मन्दिरहरु विस्तार गरी निर्माण सम्पन्न गराउनु भयो । मन्दिर नेपाली प्यागोडा शैलीमा बनेको छ । काठका टुँडाल, कलात्मक नक्काशी र परम्परागत शैली मन्दिरका विशेषता हुन् । यसरी श्रीनारायण र श्रीमहादेव (शिवलिङ्ग) मन्दिरहरुको पश्चिमपट्टि एकै आकारको लहरै रहेका ३ वटा राताम्य रङ्गका मन्दिरहरुमध्ये क्रमशः उत्तरपट्टि कामाक्षे देवीको मूर्ति राखिएको मन्दिर छ । कामाक्षे देवीलाई बडाकाजीले नेपालको दक्षिणी सँधियार राष्ट्र भारतको आसाम ग्वाँटीबाट तान्त्रिक विधिद्धारा यहाँ ल्याई छोरा रणध्वज थापामार्फत प्रतिष्ठापित गराई मन्दिर निर्माण गर्न लगाउनु भएको थियो ।
कामरु कामाक्षे मन्दिरको ठीक दक्षिणपट्टि अर्थात् मन्दिर प्राङ्गणको बीचमा ज्वाला माईको मूर्ति राखिएको मन्दिर छ । ज्वाला माईलाई बडाकाजीले नेपालको मुक्तिनाथ क्षेत्रबाट ल्याएर यहाँ प्रतिष्ठापित गराउन लगाउनु भएको थियो ।
ज्वाला माई मन्दिरको ठीक दक्षिणपट्टि अर्थात् यी ३ वटै मन्दिरहरुमध्ये सबैभन्दा दक्षिण दिशापट्टि काली माईको मूर्ति राखिएको मन्दिर छ । काली माईलाई बडाकाजीले पश्चिम कालीकोटबाट तान्त्रिक विधिद्धारा ल्याई प्रतिष्ठापन गराई मन्दिर निर्माण गराउन लगाउनु भएको थियो । मन्दिर निर्माणकालीन समयदेखि नै मन्दिरको नाम ‘कामाक्षे मन्दिर’ हो ।
राजा महेन्द्रले ठमेल सडक निर्माणक्रममा कामरु कामाक्षे मन्दिरलाई यथास्थानमै राखी सडक सुधार गर्नु भनि हुकुम प्रमाङ्गी हुँदा वि.सं. २०१९ सालदेखि औपचारिक रुपमा ठमेल सडक मार्ग कामरु कामाक्षेको मन्दिरसँग जोडिन पुगेको थियो । यसरी वि.सं. २०१९ सालदेखि मन्दिर आसपास रहेका सडकहरु त्रिदेवी मन्दिरको नाम रही वि.सं. २०२० देखि त्रिदेवी मार्ग नामाकरण हुन पुग्यो (थापा वसन्त, ‘आत्रेय गोत्री बगाले थापा क्षेत्री वंशको ऐतिहासिक परिचय’, वि.सं. २०६७, प्रमोद थापा र प्रविन थापा, पृ. ९९) ।
तर, वि.सं. २०२० भन्दा अगाडि नै वि.सं. १८६४ देखि वि.सं. २०१८ सालसम्मको पुरातात्विक अवधिको कामाक्षे मन्दिरको नाममा रहेको ०–१२–० (बाह्र) आना जग्गा समेत कालिका, कामाक्षे, ज्वाला गुठीको बिना मुअब्जाको बाँकी जग्गा सोही मन्दिरको उत्तरपट्टिको ठमेल जाने सार्वजनिक सडक मार्गमा पर्न गयो । वि.सं. २०१८ सालसम्म त्यो मार्गले ऐतिहासिक नाम ‘कामाक्षे मार्ग’ को रुपमा पहिचान बोकेको थियो । अमरसिंह थापाले आफ्ना छोराहरु मार्फत बनाउन लगाउनु भएको मन्दिर भएकाले अमरसिंहको नामबाट यो मार्गलाई ‘अमरमार्ग’ पनि भन्ने गरिन्छ ।
यसरी राजा महेन्द्रले ऐतिहासिक एवं पुरातात्विक मन्दिरको सुरक्षा र संरक्षणको लागि उदारतापूर्वक सकारात्मक काम गर्नु भयो । तर ऐतिहासिक कामाक्षे मार्गको हकमा सो प्राचीन मार्गको सट्टा हचुवाको भरमा ठाडो आदेशले नयाँ त्रिदेवी मार्ग राखेकोमा विवाद हुँदै आएको छ । किनकि लक्ष्मी, सरस्वती, दुर्गाको समूहलाई त्रिदेवी भनिन्छ तर ‘कामरु कामाक्षे, ज्वालामाई, कालिका देवीको’ समूहलाई त्रिदेवी भनिदैन, ‘त्रिशक्ति पीठ’ भनिन्छ । त्यसमा पनि ठमेल जाने मार्ग कामाक्षे मन्दिरकै १२ आना जग्गा पछि सुधार गरिएको सो सडक मार्गभित्र परेसँगै कामाक्षे मन्दिरमा जोडिएको त्यो मार्गको नाम पनि ‘कामाक्षे मार्ग’ नै हुनुपर्ने ऐतिहासिक एवम् पुरातात्विक संरक्षणको सिद्धान्त व्यवहारिक देखिन्छ ।
बडाकाजी अमरसिंह थापा र छोरा काजी रणध्वज थापाले वि.सं. १८६४ मा श्रीमहादेव र श्रीनारायण मन्दिरहरुको स्थापना गरी वि.सं. १८७६ देखि त्रिशक्ति पीठको स्थापना, विस्तार र निर्माण गराउनुको मुख्य उद्देश्य शक्ति (देवी) को उपासना र धार्मिक आस्था प्रबद्र्धन गरी जनकल्याणका लागि शक्तिस्वरुप देवीहरुलाई एउटै प्राङ्गणभित्र सुरक्षित राख्नु नै हो । यसक्रममा काजी रणध्वज थापाद्धारा खरिद गरिएको जग्गाका कित्ता नं. ८०, ८१, ८२, १०६ रहेका छन् । यस सम्बन्धी लालमोहरको व्यहोरा हेरौं ः–
‘काठमाडौं ठवहेलमा वडाकाजी अमरसिंह थापाका साईली मुखिनी धर्मदेवी थापाका जेठा छोरा रणध्वज थापाले वि.सं. १८७६ साल मिति जेष्ठ सुदी १० रोज ५ शुभम्मा अघिवक्स्याको विर्ता पर्षाल लुहकिल पश्चिम नया पर्षाल मूल बाटो उत्तर नयाँ पर्षाल सहरबाट ठवहेल जान्या मूल वाटो पूर्व ठवहेलबाट पूर्व जान्या मूल वाटो दक्षिण यती ४ किल्लाभित्र प¥याको रैकर र प्रजासँग सुक्री बिक्री गरि किन्याको सुना वर्ता षेत रोपनी २०।। को पोता रुपैया ७।। माफ गरि विर्ता वितलप गरिवक्स्यौं । आफ्ना षातिरज्मासँग विर्ता वितलप जानी सन्तान दरसन्तानसम्म भोग चलन गरी खानु...’ भनी लेखिएका लालमोहरका जग्गा जमिनहरुको अभिलेख प्रमाण तत्कालीन मालपोत विभागमा सुरक्षित राखिएको छ । लालमोहरमा लेखिएको ‘ठवहेल’ शब्द र त्यसबाट अपभ्रंश भई बनेको ‘ठमेल’ शब्दको अर्थले अलग अलग स्थान नभई एउटै स्थान वर्तमान ठमेललाई जनाउँछ ।
बडाकाजी ६५ वर्षको उमेरमा वि.सं. १८७३ श्रावण १६ गते शुक्ल पञ्चमी आइतबार ११ बजेर ४५ मिनेट जाँदा निरन्तर १६ दिनसम्म तान्त्रिक विधिद्धारा जलयोग (जलपरिनिर्वाण) प्राप्त गर्नुभयो । अर्थात् उहाँले अन्यत्र कहीँ नगएर केवल ‘गोको’ अर्थ ‘पृथ्वी’, ‘साइँको’ अर्थ ‘मालिक’ अर्थात् ‘पृथ्वीको मालिक’ गोसाइँकुण्डलाई नै रोजेर कुण्डमा जलसमाधि लिनु भएको हो । यसरी गोसाइँकुण्ड क्षेत्रादिमा समाधि लिएपछि वैकुण्ठलोक प्राप्त हुने विश्वव्यापि आध्यात्मिक मान्यता रहिआएको छ ।


बडाकाजीका अर्का छोरा काजी रणजोर थापाले पूर्वपट्टि रहेको श्रीनारायण मन्दिरको ठीक आम्ने–साम्ने पारेर पश्चिम दिशापट्टि एउटा ठूलो घण्ट निर्माण गरी आफ्नो नामबाट अक्षरहरु लेख्न लगाई मन्दिरमा चढाउनु भएको छ । त्यो घण्टमा लेखिएको वाक्य हेरौं ः– ‘स्वस्ति श्री सम्वत् १८९९ साल मिति भाद्र शुदि ३ रोज ४ मा श्री कालिका...गरि श्री काजी रणजोर थापावाट चढायाको घनटा शुभम् ।।’
गणेश, भैरव, हनुमान, सरस्वतीका मूर्तिहरु
दर्शनार्थीको हितलाई प्रबद्र्धन गर्दै एउटै स्थानभित्र पूजा पाठ गरी मनोकांक्षा सिद्धि होस् भन्ने हेतुले मन्दिर प्राङ्गणभित्र सबैभन्दा पहिला पूजा र कार्यको शुभारम्भ गर्नको लागि विघ्न बाधा हटाउने प्रतीक गणेशको मन्दिरका साथै वाणी, बुद्धिको प्रतीक; ज्ञान र शिक्षाकी देवी; कला र संगीतकी संरक्षिका सरस्वतीको मूर्ति पनि रहेको छ । प्राङ्गणभित्र शिवको उग्र तथा रक्षक स्वरुपका प्रतीक; न्याय, निर्भयता र आध्यात्मिक रुपान्तरणका प्रतीक भैरवको मूर्ति पनि रहेको छ । शक्ति, साहस, भक्ति र सुरक्षा दिने देवताका प्रतीक हनुमानको मन्दिर पनि रहेका छन् । यसरी एकै ठाउँमा विभिन्न देवी देवताका मूर्ति र मन्दिरहरुको पूजा पाठ र श्रद्धा गर्न पाइने संगम स्थलको रुपमा ठमेलको त्रिशक्ति पीठ रहेको छ ।
मष्टा देवता स्थापना

मष्टो, मंगोल, मुस्लिम (ममंमु) त्रिशक्ति एकताको भण्डार एशियाली सभ्यता हो । एशियाली सभ्यता निर्माण, संरक्षण र एकताका लागि मष्टादेवता पूजक महाराज कालु थापा र उहाँका सन्ततिहरु बडाकाजी अमरसिंह थापा, मुख्तियार कमाण्डर–ईन–चीफ भीमसेन थापा लगायतका आत्रेयगोत्री वगाले थापा काजीहरुले महत्वपूर्ण राजकीय भूमिका निर्बाह गर्दैआएको तथ्य इतिहास सार्वजनिक छ । नेपालमा मष्टादेवता पूजक नेपालीहरु विशाल संख्यामा पूर्व, पश्चिम उत्तर, दक्षिण चारै दिशामा छरिएर रहनु भएको छ । बडाकाजी अमरसिंह थापा पनि मष्टा देवताका भक्त हुनुहुन्थ्यो । त्यसकारण वहाँको स्मरणमा कालिका, कामाक्षे, ज्वाला गुठी व्यवस्थापन समितिका अध्यक्ष काजी प्रदिप विक्रम थापाले यस त्रिशक्ति पीठ प्राङ्गण भित्रको पूर्व दिशामा रहनु भएको श्रीनारायण मन्दिरको ठीक दक्षिणपट्टि अर्थात् पश्चिमतर्फको कालिका माई मन्दिरको ठीक आम्ने–साम्ने पूर्वपट्टि बझाङबाट ल्याउनु भएको मष्टा देवतालाई तान्त्रिक विधिद्धारा वि.सं. २०८२ माघ ०९ गते प्रतिष्ठापन गर्नुभएको छ । यो कार्यले देश, विदेशमा छरिएर रहनु भएका सम्पूर्ण मष्टा देवता पूजकहरुको आस्थालाई उँचो उठाएको छ ।
निष्कर्ष
ठमेलको त्रिशक्ति पीठ प्राङ्गणभित्र पूर्व दिशापट्टि लहरै विराजमान पश्चिम दिशाका देवीहरुतर्फ फर्किएर उत्तरबाट दक्षिणतर्फको एक पंक्तिमा क्रमशः ‘श्रीमहादेव, श्रीनारायण र श्रीमष्टा देवता’ रहनु भएको छ । त्यसैगरी पश्चिम दिशापट्टि लहरै विराजमान पूर्व दिशाका देवताहरुतर्फ फर्किएर उत्तरबाट दक्षिणतर्फको एक पंक्तिमा क्रमशः ‘श्रीकामरु कामाक्षे, श्रीज्वालामाई र श्रीकालिका माई’ रहनु भएको छ । स्वदेशका नेपाली तथा ठमेल घुम्न आउने विश्वको विभिन्न देशहरुका कतिपय आप्रवासी नेपाली तथा विदेशी पर्यटकहरु यी मन्दिरहरुमा आएर दर्शन गर्ने र पूजा पाठ गर्ने गरेको देख्न सकिन्छ । वहाँहरुमध्ये कतिपय दर्शनार्थीहरुले यी शक्ति पीठहरुमा आएर माता देवीहरुको पूजा गर्नाले आफूले गरेको भाकल पूरा भई मनोकांक्षा सिद्धि भएको सुनाउने गर्नुहुन्छ । काठमाडौंको मुटूमा अवस्थित यी ऐतिहासिक एवम् राष्ट्रिय पुरातात्विक सम्पदाहरुले नेपालको राष्ट्रिय एकता, पहिचान र छविलाई अन्तराष्ट्रिय स्तरमा उँचो उठाएका छन् । (लेखक बडाकाजी अमरसिंह थापाको लहरोपट्टिका लप्टन रणेद्दिमसिंह थापाचार्यको पाँचौ पुस्ताका सन्तति हुनुहुन्छ ।)
प्रतिक्रिया