काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित धितोपत्र कारोबार पुनः सञ्चालन हुने भएको छ।
नेप्सेका ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि असोज ६ गतेदेखि पूर्ववत् रूपमा कारोबार सञ्चालन गर्न लागिएको हो। नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको समस्या समाधान भएको जानकारी प्राप्त भएपछि कारोबार सञ्चालन गर्ने निर्णय गरिएको हो।
डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो। समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो।
यसैबीच, नेपाल धितोपत्र बोर्डले कारोबार स्थगनको विषयमा अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डले यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिँदै उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ।
डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएपछि कारोबार पुनः सञ्चालन हुने भए पनि उक्त घटनाको प्राविधिक कारण र त्यसबाट उत्पन्न हुन सक्ने प्रणालीगत जोखिम भने अझै पहिचान हुन सकेको छैन।
प्रतिक्रिया