अन्तराष्ट्रिय बजारमा सोमबार तेलको भाउ १ प्रतिशतभन्दा धेरैले घटेको छ । अमेरिका र चीनबीच व्यापार सम्झैता हुने सम्भावनाबारे अनिश्चत छाएपछि तेलको भाउ दबाबमा आएको हो । अत्याधिक आपूर्तिको चिन्ताले पनि तेल बजारमा दबाब बढेको विश्लेषकहरु बताउँछन् । सोमबार लन्डनस्थित आईसीआई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ७ः३० जीएमटीमा ब्रेन्ट क्रुडको भाउ ६९ सेन्ट अर्थात १.१ प्रतिशतले घटेर प्रतिब्यारेल ६१ डलर ८२ सेन्टमा आएको थियो ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेन्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि ६३ सेन्टले घटेर प्रतिब्यारेल ५६ डलर ६१ सेन्टरमा आएको थियो । नेपाली समयअनुसार दिउँसो २ः१० बजे डब्ल्यूटीआई १ दशमलव ३८ प्रतिशतले घटेर ५६ डलर ५४ मा आएको थियो । ब्रेन्ट क्रुडको भाउ पनि १ दशमलव ३९ प्रतिशतले घटेर ६२ डलर शून्य ६ सेन्टरमा आएको थियो । गत हप्ता भने यी दुवै बेञ्चमार्कको भाउ बढेको थियो ।
चीनसँगको व्यापारवार्ता निकै राम्रोसँग अघि बढिरहेको भएपनि अमेरिकालाई उपर्युक्त हुने सम्झैता मात्रै गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार बताएका थिए । पहिलो चरणको सम्झैता अन्तर्गत अमेरिकाले चीनबाट आयातित वस्तुमा लगाएको अतिरिक्त महशुल हटाउन खोजेको भन्नेबारे गलत समाचार छापिएको पनि उनले बताए । अमेरिका–चीनको व्यापार युद्ध अन्त्य हुने आशामा शुक्रवार उकालो लागेका एशियाली अभिव्यक्ति ओरालो लागेका छन् । यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।
प्रतिक्रिया