पोखरेलद्धारा गुरु नानक जन्मजयन्तीको  शुभकामना सन्देश

मंगलबार, २६ कार्तिक २०७६, १५ : २१

प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानकको ५५१ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका शिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज जारी गरेको शुभकामना सन्देशमा भन्नेका छन्, नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक हो । धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसर दिएको छ । कुनै पनि धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाउँछ ।     
     
काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडौँका मठमन्दिरमा रहनु हाम्रो लागि गौरवको विषय हो,उनले सन्देशमा भनेका छन् । मुख्यमन्त्री पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै हो भन्दै सन्देशमा भौतिक पूर्वाधारको विकास गरी धार्मिक पर्यटनसँग जोड्न सके यसबाट समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गरे  ।     
     
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसङ्ख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको छ, उनले सन्देशमा भनेका छन्, यतिखेर मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको व्यावहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जानेछन् ।    
     
मुख्यमन्त्री पोखरेलले संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरकार योजनाबद्ध विकासमा अघि बढेको उल्लेख गर्दै सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न प्रदेश सरकार योजनाबद्ध विकासमा दृढ सङ्कल्पित छ र यसका लागि हामीले समृद्ध प्रदेश खुशी जनताको अभियानअनुसार काम गरिरहेका छौँ भन्नेका छन् । समृद्ध प्रदेशका माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आम नागरिकमा हार्दिक आग्रह गर्दछु, उनले सन्देशमा भन्नेका छन् ।     
  
 

मंगलबार, २६ कार्तिक २०७६, १५ : २१

प्रतिक्रिया