बजेट विनियोजनमा भेदभावको आरोप लगाउँदै आन्दोलनको चेतावनी

४ बर्ष अगाडि

बजेट विनियोजनमा भेदभाव गरेको भन्दै सिरहाजिल्लास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाको बिभिन्न वडाका वडाध्यक्ष तथा स्थानीयवासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष तथा स्थानीयवासीले आज गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र सबै वडामा सम्मान ढङ्गले बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

राजनीतिक आस्थाको आधारमा आफूहरुको वडामा न्यून बजेट विनियोजन गरी अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाका अधिकांश योजनामा बढी बजेट छुट्टयाएको आरोप लगाउँदै वडा नम्बर ६ का वडाध्यक्ष राजेश्वर साह सुडीले गाउँपालिका अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षहरुको वडामा बढी बजेट छुट्टयाएर आफूहरुको वडामा एकदमै न्यून बजेट मात्र छुट्टयाएको बताए

गाउँपालिकाका अध्यक्ष समाजवादी पार्टीको तर्फबाट निर्वाचित भएको र वडा नम्बर ४, ५ र ६ का वडाध्यक्षहरु नेकपा र काङ्ग्रेसबाट निर्वाचित भएका हुन् । फरक पार्टीबाट निर्वाचित भएकै कारण अध्यक्ष साहले आफूहरुको वडाबाट छनोट भएका योजना काटेर गुप्तरुपमा अर्को योजना तयार पारेर बहुमतको आडमा आफूहरुमाथि अपमानजनक व्यवहार गरेको वडा नं ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीको गुनासो थियो ।

उनले भन्ने, जनसङ्ख्या र भौगोलिक बनोटको आधारमा बजेट विनियोजन नगरी गाउँपालिकाको अध्यक्षको घर रहेको वडा नम्बर ३ मा विभिन्न योजनामा बढी बजेट विनियोजन गरिएको तर आफूहरुले छनोट गरेका अधिकांश योजनामा बजेट नै विनियोजन गरिएको छैन ।

गाउँपालिकाबाट पारित भएका आर्थिक वर्ष ०७४–०७५ र आव ०७५–०७५ का योजनामा आफ्ना नातागोता र पार्टीका कार्यकर्तालाई सहभागी गराएकोे वडा नम्बर ५ का वडाध्यक्ष देवकुमार यादवले आरोप लगाए। उनले ती आवमा गाउँपालिकाबाट भएका कतिपय आयोजना समयमै सम्पन्न नगरिएको र कतिपय योजना सम्पन्न नहुँदै भत्किएकाले त्यसमा छानबिन गर्नसमेत माग गरे ।

यता अध्यक्ष साहले आफूले कुनै पनि वडाध्यक्ष वा वडाका जनतासँग विभेद नगरेको जिकिर गर्दै केही वडाध्यक्षले पुरानै योजनालाई पुनः निरन्तरता दिएकाले त्यसलाई मात्र हटाइएको बताए । उनले भन्ने, कुनै पनि वडालाई विभेद नगरी समानरुपमा बजेट विनियोजना गरिएको तर केही वडाध्यक्षहरुले मन्दिर, सडकलगायत एउटै योजनालाई वर्षेनी पेश गर्दै आएकाले त्यसलाई यस वर्ष हटाइएको मात्र हो ।

वडाध्यक्षहरुका असन्तुष्टि समेट्न केही दिनभित्रै विशेष गाउँसभा बोलाएर पुनः योजना चयन गरिने अध्यक्ष साहको भनाइ  थयो ।  

४ बर्ष अगाडि

प्रतिक्रिया