न्यून दृष्टियुक्त व्यक्तिका लागि अवसरको खाँचो

४ बर्ष अगाडि

न्यून दृष्टियुक्त व्यक्तिसँग मनको आँखा हुन्छ । त्यो मनको चम्किलो आँखाले उनीहरुले पनि जगत हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् । नेपालगञ्जका न्यून दृष्टियुक्त व्यक्ति विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ ।

आफू न्यून दृष्टियुक्त व्यक्ति भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगत्लाई अहिले राम्ररी अनुभूति गरिरहेका छन् । ब्रेललिपी छामेर र पढाएको सुनेर आप्mनो अध्यापनलाई अघि बढाइरहेका विष्णुजस्तै ४० भन्दा बढी न्यून दृष्टियुक्त व्यक्ति बालबालिका र किशोरकिशोरी नेपालगञ्जस्थित मङ्गलप्रसाद माविमा अध्ययन गर्दै आइरहेका छन् ।

मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रकाशवान हुन्छ, अनि प्रभावकारी पनि हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर दिइयो भने र मनग्ये माया गरियो भने बाहिरी आँखाले देख्नेसरह उनीहरु पनि सबल र सक्षम हुन सक्छन् ।

यसको उदाहरण हुन् न्यून दृष्टियुक्त व्यक्ति भोला त्रिपाठी । त्यही मङ्गल विद्यालयमा अध्ययन गरेर आफूजस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई पढाउने जिम्मेवारी भोलाको काँधमा छ । उच्च तहसम्मको अध्ययन पूरा गरेका भोला मङ्गल माविमा शिक्षकको रुपमा छन् ।

मङ्गल माविमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यून दृष्टियुक्त व्यक्ति विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले पनि लिएको छ । न्यून दृष्टियुक्त व्यक्तिलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने र उनीहरुको अधिकारका लागि सङ्घर्ष गर्दै आएको सङ्घका सदस्यसमेत रहेका त्रिपाठी भन्नछन्, सङ्घले विभिन्न निकायसँगको सहकार्यमा न्यून दृष्टियुक्त व्यक्तिको जीवनलाई सहज र सरल बनाउने सबैखाले भूमिका निर्वाह गर्दै आएको छ ।

मङ्गलप्रसाद माविमा अध्ययनरत न्यून दृष्टियुक्त व्यक्तिको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाजो शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, बाँकेले मिलाएको छ । न्यून दृष्टियुक्त व्यक्तिका लागि राज्यका तर्पmबाट निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालीम, रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यून दृष्टियुक्त व्यक्तिलाई आफ्नो जीवन सहज ढङ्गबाट अगाडि बढाउन अवसर मिलेको छ ।

मङ्गल माविमा न्यून दृष्टियुक्त व्यक्तिका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेसँग राखेर पढाउने गरिएको छ । यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौ भन्ने भावनाको विकास गराउनु नै हो, शिक्षक त्रिपाठीको भनाइ छ । बाहिरी आँखाले नदेखे पनि न्यून दृष्टियुक्त व्यक्तिसँग भित्री क्षमता धेरै हुन्छ ।

उनीहरुले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाँका दृष्टिविहीन शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । उनीहरुलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ र अवसर पाए दृष्टिविहीनले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्, अर्का न्यून दृष्टियुक्त व्यक्ति शिक्षक भावुकजङ थापाको ठम्याइ छ ।

एकअर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाइ राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट र सङ्कल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रता यी सबै कारणले पनि समाजमा न्यून दृष्टियुक्त व्यक्तिको उचाइ बढ्दै गएको छभन्दा अतियुक्ति नहोला ।     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया