‘प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने’

मंगलबार, ०३ मंसिर २०७६, १७ : १६

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पुर्याउन आफूले सक्दो प्रयास गर्ने बताए ।

उनले आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका छन् । उनले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने बताए । प्रधानमन्त्रीसँग सम्बन्धित कुरा बाहिर ल्याउन कुनै कमि हुन दिइने छैन, उनले भन्ने, प्रधानमन्त्री र सरकारका कामलाई जनतासमक्ष पुर्याउन सञ्चारकर्मीमार्फत अधिकतम कोशिस गर्नेछु ।

सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउनेसमेत बताए । पारदर्शीतालाई जोड दिने भन्दै उनले प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने समेत बताए । उनले अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

सरकारले राम्रो काम गर्दा स्यावासी र गलत काम गर्दा खबरदारी समेत गर्न उनले आग्रह गरे । सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढङ्गले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने जानकारी गराए ।

भेटघाट कार्यक्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीका गतिविधिलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापालाई प्रधानमन्त्री ओलीको प्रेस सल्लाहाकारमा नियुक्त भएका हुन् ।

उनलाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ । यसअघि उनी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखसमेत रहनुभएको थापा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य, नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुन् ।     
  
 

मंगलबार, ०३ मंसिर २०७६, १७ : १६

प्रतिक्रिया