नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताएका छन ।
नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताए ।
उनले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे ।
“नेपाली काँग्रेस अब सच्चिन जरुरी छ”, उनले भने “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।”
कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले बोल्नुभएको थियो ।
प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव
साना निर्माणकर्मी व्यवसायीले भूकम्पबाट बच्न भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव दिएका छन् ।
२२औंँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज विर्तामोडमा आयोजित कार्यक्रममा साना निर्माणकर्मी सङ्घ झापाका अध्यक्ष राजु राजवंशीले भूकम्प आउँदा घर भत्कने जोखिम उच्च हुने हुँदा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आग्रह गरे ।
उनले भारतीय निर्माण व्यवसायीका कारण निर्माण क्षेत्रमा काम गर्ने व्यवसायी र मजदूर दुवै मारमा परेको भन्दै भूकम्प प्रतिरोधात्मक तालीम प्राप्त निर्माण व्यवसायी र निर्माण क्षेत्रमा काम गर्ने मजदूरलाई मात्र घर निर्माण गर्न लगाउनुपर्ने बताए ।
झापामा वार्षिक दुई हजार भन्दा बढी घर निर्माण हुने गरेको र अधिकांश निर्माण व्यवसायी भारतीय हुने तथा काम गर्ने मजदूरसमेत भारतबाट आउने हुँदा नेपाली मजदूर र व्यवसायी मारमा परेको उनले बताए ।
“नेपाली व्यवसायी र मजदूरले भूकम्प प्रतिरोधात्मक तालीम लिएका छन् तर उनीहरुले भारतीय निर्माणकर्मी र मजदूरसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन”, अध्यक्ष राजवंशीले भने, “सस्तोका नाममा भारतीय मजदूरबाट घर निर्माण गर्दा पछिल्लो समय निर्माण गरिएका अधिकांश घर भूकम्पीय जोखिममा छन् ।”
झापामा झण्डै पाँच हजार निर्माण व्यवसायी र २० हजारभन्दा बढी मजदूर रहेको अध्यक्ष राजवंशीको भनाइ छ ।
त्यस्तै सङ्घका सचिव श्याम बस्नेतले भूकम्प प्रतिरोधात्मक घर निर्माणका विषयमा सचेतना जगाउन सङ्घले भूकम्प सुरक्षा दिवसको अवसरमा विर्तामोडमा ¥यालीसहितको कार्यक्रम आयोजना गरेको बताए । साना निर्माणकर्मी सङ्घले भूकम्पको विषयमा निकालेको चेतनामूलक ¥यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।
प्रतिक्रिया