आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति

शुक्रबार, ०३ माघ २०७६, १५ : ४०

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको उनीहरुबीचको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट बाँकी काम टुङ्ग्याउने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले जानकारी दिए । 

“विधेयकका सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझाव आइसकेको छ”, उनले भने, “त्यही सुझावका आधारमा यही संसद्को अधिवेशनबाट आयोगसम्बन्धी कानून ल्याउने सहमति भएको छ ।” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल सकारात्मक भएकाले शनिबार पुनःआयोगका सम्बन्धमा छलफल हुने बताए । 

 छलफलमा नेकपाका नेता नेम्बाङ, खिमलाल देवकोटा, काँग्रेस नेता डा मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी रहेका थिए । गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ । उक्त समितिले अहिलेसम्म पनि नयाँ पदाधिकारी नाम सरकारलाई सिफारिस गर्न सकेको छैन । जसका कारणले सरकारले ती दुई आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको हो ।

शुक्रबार, ०३ माघ २०७६, १५ : ४०

प्रतिक्रिया