अस्पतालमा मास्क र ज्वराे नाप्ने उपकरण त छैन, कोरोना सङ्क्रमितको उपचार कसरी गर्ने ?

सोमबार, १० चैत्र २०७६, १७ : १९

कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका भक्तपुरका अस्पत्तालहरुमा स्वास्थ्यकर्मीहरुका लागि आवस्यक मास्क समेत नभएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । 

उपचारका लागि खट्नुपर्ने स्थास्थ्यकर्मीले लगाउने मास्क, कोरोना सङ्क्रमितको उपचार गर्दा लगाइने पोसाक ‘पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट’ (पीपीआई) र ज्वरोनाप्ने थर्मल गन समेत नभएको गुनासो गरेका हुन्। 

काठमाडौंमा कोरोनाको संक्रमण देखिइसकेको अबस्थामा अस्पत्तालमा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसारको सुरक्षाको व्यवस्था सुरक्षाको प्रत्याभूति हुनुपर्ने स्वास्थ्यकर्मीहरुको माग छ । 

अस्पतालमा कोरोना सङ्क्रमितको आशङ्काका बिरामी आएमा मेडिकल टोली नै भाग्नुपर्ने अवस्था सृजना हुन नहुने मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पतालकी प्रसूति रोग विशेषज्ञ एवं चिकित्सक डा रबिना प्रधानाङ्गले बताएन् ।      
“उपचारमा खटिने स्वास्थ्यकर्मीको टिम पहिला सुरक्षित महसुस हुनु प¥यो, आफ्नै ज्यान जोखिममा छ भन्ने जान्दाजान्दै बिरामीको नजीक जाने आँट कसैले गर्दैन,’ उनले भनिन् ‘अस्पतालमा आइसोलेशन वार्ड मात्रै भएर के गर्नु, डाक्टर छिरेर काम गर्ने अवस्था आएन भने के मोबाइल र अनलाइनबाट उपचार गर्ने ?’     
     
आफ्नो अस्पतालमा सामान्य मास्क र पञ्जा (ग्लोभ्स) समेत सकिएर किन्न खोज्दा बजारमा कहीँ नपाएको बताउँदै उनले अस्पतालका सबै स्वास्थ्यकर्मीले कपडाको मास्क लगाएर सेवामा खटिनु परेको गुनासो गरिन् । 

‘कोरोनाको बिरामी आए उपचार गर्ने सरकारको पूर्ण तयारी खै ?, साधारण मास्क त छैन सङ्क्रमितको उपचार गर्दा लगाउने एन नाइन्टी मास्क खै ?, पिपिई सेट खै ? मेडिकल टोलीको सुरक्षाका लागि खै व्यवस्था खै?, मेडिकल टोलीको सुरक्षाको जिम्मा कसले लिन्छ ?’, डा. प्रधानाङ्गले प्रश्न गरिन् । 
     
 कोरोना सङ्क्रमितको उपचार गर्दा लगाइने पोसाक ‘पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट’ (पीपीई) बजारमा कतै नभएको र सरकारले समेत उपलब्ध गराउन नसकेको अवस्थामा सुरक्षित भएर काम गर्न नसकिने चिकित्सकको भनाइ छ । कोरोना सङ्क्रमितको उपचार अरू बिरामीको उपचार नहुने निश्चित तोकिएको अस्पतालमा मात्रै गर्नुपर्ने र मेडिकल टोलीको पूर्णसुरक्षाको अनुभूति गराउँदै निश्चित समयका लागि उपचार केन्द्रमै बस्ने गरी व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ ।      
     
नागरिक अस्पतालकी नर्सिङ इन्चार्ज सुन्दरी जोशीले अस्पतालमा ज्वरो नाप्ने थर्मल गनदेखि मास्कसमेत नभएको बताइन् । रु चार हजार पर्ने एउटा थर्मल गनको बजारमा नौ हजार भनेको बताउँदै पीपीई समेत नभई आइसोलेशनमा बिरामी उपचार गर्न नसकिने बताइन् । 

सङ्क्रमित बिरामीको उपचारमा खटिएका व्यक्तिलाई घर जान दिइने हो भने घरपरिवार र अन्य व्यक्तिलाई पनि सङ्क्रमण हुने जोखिम उच्च रहने भएकाले यसबारेमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको माग छ ।     
     
धुलिखेल अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल बनाउने सरकारले तयार गरेपनि अस्पतालमै सिलाएको कपडाको मास्क र कपडाकै गाउन लाएर स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता भएको अस्पत्तालका आशिश थापाले बताए ।  

आज कोरोना आशङ्काका एक बङ्गलादेशी आएको र उसलाई ज्वरो देखिएपछि टेकु अस्पताल पठाइएको अस्पतालको आकस्मिक शाखाले जानकारी दिएको छ । 

ज्वरो नाप्न ढोकादेखि नै कर्मचारी खटाए पनि अस्पताल प्रशासन र शाखाप्रमुखले सम्भावित जोखिमलाई गम्भीर रुपमा नलिँदा कर्मचारीमै जटिल समस्या आउन सक्ने र ढुक्क भएर साँझ घर जान सक्ने अवस्था नभएको उनको गुनासो छ ।     
     
कोरोना सङ्क्रमितको उपचार गर्ने भए निश्चित टोली बनाएर २४ घण्टा त्यही बस्ने र उपचार गर्ने गरी चीनले गरेको व्यवस्थाअनुसार गर्नुपर्ने यहाँका कर्मचारी र स्वास्थ्यकर्मीको भनाइ छ । अस्पताल प्रशासनले कर्मचारीको बेवास्ता गरेको गुनासो गरेका छन् ।     
 

सोमबार, १० चैत्र २०७६, १७ : १९

प्रतिक्रिया