नेप्सेमा यी तीन कम्पनीको शेयरमूल्य समायोजन

मंगलबार, १७ पुस २०८०, ०६ : २९

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरूले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

नेप्सेले यस दिन लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने गरिमा विकास बैंकको ९.५० प्रतिशत र छिमेकको ५ प्रतिशत बोनस समायोजन गरेको हो। समायोजन पश्चात् लुम्बिनीको शेयर मूल्य ३८६ रुपैयाँ ५४ पैसा, गरिमाको ३७४ रुपैयाँ ४३ पैसा र छिमेकको ८६५ रुपैयाँ ७१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा लुम्बिनीको शेयर प्रतिकित्ता ४०२ रुपैयाँ, गरिमाको ४१० रुपैयाँ र छिमेकको ९०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको गरिमा विकास बैंकले पुस २९ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

त्यस्तै, छिमेक लघुवित्तले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभा हल, मकवानपुर, हेटौँडामा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ। त्यसै गरी, लुम्बिनी विकास बैंकले पुस २६ गते, बिहीबार, अमृत भोग, कालिका स्थान, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसै गरी, सभाले बैंकको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

मंगलबार, १७ पुस २०८०, ०६ : २९

प्रतिक्रिया