उपनिर्वाचनमा नेकपा सन्तुष्ट छ: पूर्वमन्त्री पोखरेल

४ बर्ष अगाडि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परीणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाए । उनले भने,‘यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता  पोखरेलले भने,‘हामी यो उपनिर्वाचनको मतपरीणामबाट खुशी छौं । 

हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं । हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं । तर, म यो निर्वाचन परीणामबाट खुशी छु ।’ उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दापनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भने,‘यो सरकारले भारतले मिचेको कालापनी, लिपुलेक र लिम्पियाधुराको सिमाको विषयमा पनि कडा निन्दा गरेको छ । सरकारले वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट नेपालको भूमी फिर्ता गर्ने अडान लिएको छ । 

प्रधानमन्त्रीज्यूले एक ईन्चपनि नेपालको भूमि मिच्न दिईँदैन् भन्नुभएको छ ।’
पोखरेलले वर्तमान सरकारले मुलुकमा सुशासन कायम गरेको सुनाउँदै सरकारले ठूलादेखि साना सबै अपराधीलाई कारबाहीको दायरामा ल्याएको बताए । उनले भने,‘सरकारले अपराधीलाई र बलात्कारीलाई कारबाहीको दायरामा ल्याउने काम गरेको छ । १२ वर्षअघि जिउँदै मान्छेलाई ईट्टाभट्टामा जलाउने आलम थुनामा हुनु, बलात्कारीहरु थुनामा हुनु यसको उदाहरण हो ।’ त्यतिमात्रै नभएर न्यायिक र प्रशासनिक क्षेत्रमा पनि सरकार अत्यन्तै सफल भएको उनको दाबी छ । 


सरकारले राष्ट्रियतालाई सुदृढ र मुलुकलाई समृद्ध बनाउने काम गरेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न लागिरहेको छ । सन् २०३० सम्म नेपाललाई दिगो विकासको लक्ष्यमा पुर्याउँछौं ।’
उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेद्धवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको स्पष्ट पारे । उनले भने,‘हामीले पूर्व, पश्चिम नभनीकन एकताबद्ध भएर मतदान गरेका हौं । म स्वयम निर्वाचनको कमाण्डर थिएँ । सिँगो नेकपा एकतावद्ध थियो । त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए । त्यही भएर जित निकाल्न सकिएन् ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमा पनि गर्न सकिने बताए । उनले भने,‘नेपालको स्वास्थ्योपचार र चिकित्सक विश्वको कुनैपनि देशभन्दा कम छैनन् ।’

४ बर्ष अगाडि

प्रतिक्रिया