यी दुई कम्पनीको शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम मौका

आइतबार, १४ माघ २०८०, ०८ : ०६

काठमाडौँ। अरुण भ्याली हाइड्रोपावरको १०० हकप्रद सेयर सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम मौका रहेको छ। कम्पनीले हकप्रद सेयरको लागि भोली माघ १५ गते बुक क्लोज गर्ने भएको छ।

आजसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। अरुण भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हाल अरुणको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

त्यसै गरी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले समेत बुक बिल्डिङ प्रक्रिया मार्फत निष्काशन खुला गरेको शेयरमा बोलपत्र पेश गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूका लागि शेयर निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

 

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत शेयर बिक्री गरेको हो। बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितो पत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्काशित धितो पत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितो पत्र कटअफ मूल्यमा बाँडफाँड गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितो पत्र नगरिने कम्पनी जनाएको छ।

आइतबार, १४ माघ २०८०, ०८ : ०६

प्रतिक्रिया