काठमाडौँ - रिलायन्स स्पिनिङ्ग मिल्सले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ । माघ १० गतेदेखि १४ गतेसम्म संस्थागत लगानीकर्ताले मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिएका थिए ।यो सेयरमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताबाट आवेदन परेको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आइएमई क्यापिटलका अनु्सार १८ वटा संस्थागत लगानीकर्ताले उच्च मूल्य प्रतिकित्ता ९१२ रुपैंयामा बोलपत्र आवेदन दिएको पाइएको छ ।
कम्पनीको सेयरको कट अफ मूल्य उच्च मूल्य अर्थात ९१२ निर्धारण गरिएको छ । यो मूल्यमा सेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताले आवेदनको अनुपातमा सेयर प्राप्त गर्नेछन् । यसको अर्थ प्रतिकित्ता ९१२ रुपैयाँ मूल्यमा बोलपत्र पेश गर्नेले माग गरेको कुल सेयरको ६५.७२ प्रतिशत मात्रै प्राप्त गर्नेछन् । कम्पनीले योग्य संस्थागत लगााीकर्ताका लागि बुक बिल्डिङ प्रक्रियामार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्य मूल्य सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।
अब दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर आईपीओ जारी गरिनेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैंयामा आईपीओ जारी गर्नेछ ।कम्पनीले बुक बिल्डिङमार्फत हाल कायम चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि जारी गरिएको हो ।
प्रतिक्रिया