चीन र उत्तर कोरिया सीमामा देखियो बाक्लो तारबार

१ महिना अगाडि

काठमाडौँ - अन्तरराष्ट्रिय सम्बन्धबाट धेरै हदसम्म अलग रहेको उत्तर कोरिया यो महामारीबाट लगभग बच्यो । केही सर्वेक्षण संस्थाहरूले पनि कोरोना महामारीबाट उत्तर कोरिया लगभग बचेको दाबी गरिएका प्रतिवेदन सार्वजनिक गरेका थिए । 

 

 

त्यतिखेर उत्तर कोरियाभित्र के भइरहेको थियो भन्ने चाहिँ बाँकी विश्वलाई कमै थाहा भयो। परिवार राजबाट स्वतः सत्ता हात पारेका तथाकथित कम्युनिष्ट तानाशाह किम जोङ उनले चीनतर्फको सीमा बन्द गर्न तारबार लगाएको चाहिँ धेरैलाई थाहा भयो। उत्तर कोरियाका मामिलामा चीनको सत्तारुढ कम्युनिष्ट पार्टी धेरै हदसम्म उदार र प्रगतिशील छ। उसले आफ्नो दक्षिणतर्फको सीमामा उत्तर कोरियाले तारबार गराएको समाचार दिन हिच्किचाएन। चीनको माध्यमबाटै थाहा भयो कि उत्तर कोरियाले कोभिड–१९ को समय चीनसँग जोडिएको आफ्नो उत्तरी सीमा सील गर्न खर्चियो।चीनतर्फको सीमामा ठप्प पारेर तानाशाह किमले उत्तर कोरियामा के गर्दैछन् त रु किनकी त्यहाँको कम्युनिष्ट तानाशाही अत्याचार झेल्न नसकेर वर्षेनी कयौं उत्तर कोरियालीहरू दक्षिण कोरिया या चीनतर्फ भाग्ने गरिरहेका थिए। सीमामा खटिएका उत्तर कोरियाली सेनाले त्यसरी भागेका नागरिकलाई सीमारेखामै गोली हानेर हत्या गरेका भिडियो सार्वजनिक हुने गरेको छ। चीनसँगको सीमा पूरापूर बन्द गरेको पुष्टि भएपछि ह्यूमन राइट्स वाचले उत्तर कोरियामा नागरिकहरूमाथि दमन बढिरहेको जनाएको छ। चीन र उत्तर कोरियाका मानिसहरूबीच आवतजावत निकै कम भएको छ। चीनसँग उत्तर कोरियाको व्यापार पनि घटेको छ। ह्युमन राइट्स वाचले संयुक्त राष्ट्र संघका सदस्य देशहरूसँग उत्तर कोरियामा बढिरहेको मानवीय संकट अन्त्यमा सघाउन अपील गरेको छ।

 

 

पछिल्ला दिनमा उत्तर कोरियाली तानाशाह किम जोङ उनले सीमा सुरक्षामा निकै कडाइ गरेका छन्। सीमामा मानिसहरूको आवतजावत बन्द गर्न उनले कोभिड–१९ को बन्दाबन्दीकै बेला कदम चालेका थिए। त्यसो गर्दा उत्तर कोरियाले सीमा बन्द गरेर नागरिकमाथि शोषण र अत्याचार बढाएको खबर विश्वले तत्काल पाउने थिएन। केही महिनाअघि चीनसँग व्यापार बढाउन सीमा खोलेको त भनिएको छ, तर कोरोना महामारीका बेलादेखि अहिलेसम्म चीनसँगको सीमा बन्द गरेर उत्तर कोरियाले आम नागरिक र अधिकार चाहने नागरिकलाई कुन हदको व्यवहार गर्‍यो भन्नेबारे केही खुलेको छैन।स्याटेलाइट तस्वीरहरू हेर्दा उत्तर कोरियाका अधिकारीहरू चीनसँग जोडिएको ४८२ किलोमिटर लामो सीमामा तारबार लगाउन खटिइरहेको देखिन्छ। पहिले नै लगाइएको २६० किलोमटिर तारबारलाई थप मजबुत बनाइएको छ।त्यहाँको कम्युनिष्ट तानाशाही संयन्त्रले सीमामा तारबार गर्ने कामसँगै नागरिकहरूमाथि निगरानी राख्न नयाँ नियम घोषणा गरेको छ। सीमाबाट भाग्न खोज्ने नागरिकलाई तत्काल गोली हान्न त्यहाँको बोर्डर गार्डसलाई निर्देश गरिएको खबर बाहिरिएको छ।ह्यूमन राइट्स वाचका अनुसार उत्तर कोरियाले सीमा सुरक्षा व्यवस्थापन २० गुणाले बढाएको छ। बोर्डर गार्डसको चौकी संख्या २८ बाट बढाएर ६५० पुर्‍याएको छ। वरिष्ठ अनुसन्धानकर्ता लीना युनले अहिले उत्तर कोरिया त्यहीँका नागरिकका लागि विशाल जेल बनेको दाबी गरेकी छिन्। सीमाबाट ज्यान बचाएर भागेकी एक महिलालाई उत्तर कोरियामा रहेका उनका आफन्तले पछिल्लो समय देशभित्र चामल र गहुँ समेत ल्याउन नदिइएको बताएका छन्। एक दाना खाद्यान्न पनि चीनको सीमाबाट उत्तर कोरिया लैजाने अवस्था नरहेको खबर उनले पाएकी छिन्।भागेर बाहिर निस्कन सकेका मानिसहरूले पनि यस्तो कडाइका कारण उत्तर कोरियामा रकम पठाउन सकेका छैनन्। विदेशमा रहेका आफन्तले रकमसमेत पठाउन नसकेपछि उत्तर कोरियालीहरूले निकै सकस भोगिरहेका छन्। दक्षिण कोरियाबाट समेत रकम पठाउन थप गाह्रो भइरहेको छ।उत्तर कोरियाले सन् २०१७ मा परमाणु कार्यक्रम अघि बढाएको थियो। त्यसको प्रतिवादमा संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाइदिएको थियो। यो प्रतिबन्धका कारण पनि उत्तर कोरियामा अन्य मुलुकबाट रकम पठाउन सकिएको छैन।

 

 

आधारभूत आवश्यकता अर्थात् खाद्यान्न किन्ने रकमसमेत प्राप्त हुन नसक्दा भोकमरीकै कारण उत्तर कोरियामा लाखौं मानिसको मृत्यु भएको अनुमान छ। त्यहाँका मानिसहरूलाई आधारभूत अधिकारबाटै वञ्चित गर्दा भयावह मानवीय संकट निम्तिएको ह्यूमन राइट्सले दाबी गरेको छ। तानशाह किमको आदेशमा उत्तर कोरियालीलाई खानेकुरा र स्वास्थ्य सुविधाबाटै बञ्चित गराइएको दाबी छ। रिपोर्टमा लेखिएको छ, ‘यसको असर महिलाहरूमा बढी परेको छ। कयौं महिलाहरूले आफ्नो परिवारका सदस्यहरूलाई रोजीरोटी जुटाउन काम गरिरहेका थिए। तर प्रतिबन्धक कारण उत्तर कोरियाली बजारमा उनीहरूको गतिविधि घटेको छ। उत्तर कोरियाबाटै भागेक एक पूर्व व्यापारीले यतिखेर आफ्ना आफन्तले गँगटो र अन्य समुद्री जीव खाएर जीवन धानिरहेको खबर पाएको बताएका छन्। चीनसँग अनौपचारिक कारोबारका माध्यमबाट गुजारा गर्ने अन्तिम विकल्प पनि अब नरहेको ती व्यापारीले बताएका छन् ।चीनमा पनि उत्तर कोरियालीहरूले सास्ती खेपिरहेका छन्। दुवैतिरका कम्युनिष्ट तानाशाहका फौजको चर्को निगरानीमा चीनतर्फ पुगी काम गर्ने उत्तर कोरियालीहरूले तलब नै नपाउँदा गत महिना झडप भएको थियो। चीनले उत्तर कोरियालीलाई काम गर्न लैजाने, तर कामबापतको रकम श्रमिकले नभई उत्त कोरियाका सरकारी अधिकारीहरूलाई दिने गरेको दाबी छ। सो रकम उत्तर कोरियाली सरकारले हतियार निर्माणमा खर्च गर्ने गर्छ। उत्तर कोरियाली नागरिकले आफूमाथि अत्याचार र शोषण हुँदा विरोध समेत गर्न सक्दैनन्। किनकी त्यहाँका नागरिकमाथि सरकारको कडा नियन्त्रण छ। सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गर्नुको नतिजा फाँसीको सजाय पाउनु हो। गत महिना भएको झडपपछि विदेशम रहेका हजारौं उत्तर कोरियाली नागरिकको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ। किनकी प्योङयाङले गरिरहेको अत्याचारबारे कुनै न कुनै माध्यमबाट बाहिर रहेका उत्तर कोरियालीसम्म खबर पुग्ने गरेको छ।उनीहरूका माध्यमबाट विश्वले उत्तर कोरियाली तानाशाहको आलोच्य शासनशैली थाहा पाउँछन्। त्यसैले बाहिर रहेका उत्तर कोरियालीलाई जतिसुकै बेला जे पनि हुनसक्ने जोखिम छ।

१ महिना अगाडि

प्रतिक्रिया